शिशिर पन्थी

गत असोज २ गते करिब विहान १० बजे म गुल्मी अस्पताल आउँदा मदाने सामुदायिक स्वास्थ्य केन्द्र, बसुन्धारा गुल्मीबाट ३४ वर्षकी लक्ष्मी सेन नाम गरेकी महिला Ruptured ectopic भएर गुल्मी अस्पताल, तम्घास रिफर गरिएको जानकारी आयो । उक्त स्वास्थ्य केन्द्रबाट तम्घास आइपुग्न कम्तिमा ३ घण्टा लाग्दो रहेछ । हामीले त्यो स्वास्थ्य केन्द्रमा समय समयमा फोन गरि बिरामीको अवस्थाको बारेमा जानकारी लिइरहेका थियौ । बिरामीको रक्तचाप(BP) घट्दै ८०/६० सम्म गएको जानकारी पाएका थियौ। ल्याउदै गर्दा रक्तचाप ७०/५० तिर झर्दै थियो। हामीले फोन गरि Anti Shock Garment लगाउन व्यवस्था गर्नुपर्ने जानकारी गराएपछि स्टाफ नर्स समिक्षा भण्डारीले सो Anti Shock Garment लगाउने व्यवस्थापन गर्ने समयसम्म एम्बुलेन्स आ उँ दै गरिरहेको थियो । सो एम्बुलेन्स र Anti Shock Garment लिएर आएको स्वास्थ्यकर्मी समिक्षाको भेट भए पश्चात सिमलटारि भन्ने ठाउँबाट नै Anti Shock Garment लगाए पछि बिरामीसंगै स्वास्थ्यकर्मी समिक्षा भण्डारी आउनु भएको हुदाँ बिरामीलाई प्राथमिक उपचार साथै fluid Resuscitation गर्दै आउँदा केही सहजिकरण भयो।

रक्तचाप कम भएको अवस्थामा हामीले यस अस्पतालको स्रोतसाधन अनुसार उक्त बिरामीलाई अवस्था अनुसारको उपयुक्त उपचार गर्न सम्भव थिएन। हेलिकप्टरबाट बिरामीलाइ ठुलो अस्पतालमा लाने एयर एम्बुलेन्सको व्यवस्थाको बारेमा सम्बन्धित निकायमा कुरा राख्दा उक्त सेवा कार्यक्रम नरहेको बुझियो। अस्पतालको विशेषज्ञ चिकित्सक डा. अर्जुन केसी, डा .अभिषेक मिश्र, नर्सिङ्ग प्रमुख कल्पना बोहरासंगको छलफलपछि हामीले कि त बिरामीलाई Resuscitation गरेर निजिकै पाल्पासम्म पुर्याउन प्रयास गर्ने वा पाल्पासम्म पुर्याउन नसक्ने अवस्था भएमा यसै अस्पतालमा अपरेशन गर्ने निस्कर्षमा पुगेका थियौ। यसै अस्पतालमा हामीले इमरजेन्सी कक्ष र अपरेशन कक्षमा Emergency Drugs, Equipment, Surgical Instruments तयार गरि साथै ५ पोका रगतको तयारी गरेका थियौ। करिब ३ घण्टापछि बिरामी इमरजेन्सी कक्षमा आउनु भयो । हामीले Resuscitation गर्यौ। Hemorrhagic Shock मा रहेको बिरामीलाई पाल्पा पठाउन नसक्ने अवस्था रहेको हुँदा अपरेशन गर्ने निर्णय गर्यौ। बिरामीको श्रीमान रक्सीको नशामा रहेकाले पुलिसको निगरानीमा High Risk Consent र Death on Table मञ्जुरीनामा लियौँ। बिरामीको आफन्त र हामीहरु अपरेशनको बेला वा अपरेशन पश्चात बिरामीको ज्यान जान सक्ने अधिकतम सम्भावनाप्रति सचेत थियौँ।

Hemorrhagic Shock मा रहेको उक्त बिरामीलाई Nor Adrenaline भन्ने इमरजेन्सी औषधी आइभी इन्फ्युजन नशाबाट लगातार दिदै जनरल एनेस्थेसिया पुरै बेहोस बनाएर अपरेशन गरियो । करिब २ घण्टाको जोखिमयुक्त अपरेशन सफल गरायौँ। बिरामीको होस लगत्तै नआएको खण्डमा हामीले Ventilator सपोटका लागि आइसियू भएको स्थानमा पठाउने तयारी पनि गरेकै थियौ। भगवानको कृपा, हामी सबैको अर्थक मिहेनेतका साथ गरिएको अपरेशन सफल भयो। हामी सबै खुसीले गदगद भयौँ। अस्पताल प्रमुख डा. विभव वस्याल समय समयमा अपरेशन कक्ष मै आएर हाम्रो अपरेशन टिमलाई हौँसला दिनुभयो र हामी संगै खुसीमा समावेश हुनुभयो। यस कार्य सफल बनाउन महत्वपूर्ण भूमिकामा रहनुभएका नर्सिङ्ग प्रमुख कल्पना बोहोरा, नर्सिङ्ग अधिकृत मुना थापा पुन, डा. अर्जुन केसी, डा. अभिषेक मिश्र, डा. अनोज तुम्बाहाङ्फे, डा. सुप्रिम बन्जाडे स्र्कब नर्स रेखा बस्नेत सर्कुलेटिङ नर्स सरशान्ति टण्डन, कार्यालय सहयोगी अञ्जना रासकोटी तथा यस कार्य सफल बनाउन हामीलाई अभिभावकीय भूमिका निर्वाह तथा हौसला प्रदान गर्ने यस अस्पताल प्रमुख डा. विभव बस्याल लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धेरै धेरै धन्यबाद। बिरामीको अब देखिको अवस्था सकुशल रहोस् भनि कामना गर्दछु। सबैको जय होस् ।

लेखक पन्थी एनेस्थेटिक निरीक्षकको रुपमा गुल्मी अस्पतालमा कार्यरत छन् ।
प्रकाशित मितिः २०८१ असोज ४, राती ११ः१३ बजे

