चितवन, पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको घाँटीको क्यान्सरका कारण निधन भएको थियो । नेपालमा अस्पताल नहुँदा विदेशमा उपचार गर्नुपर्ने बाध्यता थियो । बीपीका कान्छा भाइ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनले चीन भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री ली फङ्गसँगको भेटमा नेपालमा क्यान्सर अस्पताल स्थापनाका लागि आग्रह गरेका थिए ।
तत्कालीन समयमा नेपाली कांग्रेस चितवनका सभापति रहेका टेकप्रसाद गुरुङका अनुसार कोइरालाको आग्रहलाई चिनियाँ प्रधानमन्त्रीले स्वीकार गरे र नेपालमा चीनको सहयोगमा एसियाकै नमुना अस्पताल बनाउने अभियान सुरु भयो । विगतलाई सम्झँदै गुरुङले भने, ‘गिरिजाबाबुलाई गणेशमानजीहरूले धुलिखेलमा क्यान्सर अस्पताल स्थापना गर्न सुझाव दिनुभएको रहेछ ।’ नेपालमा क्यान्सर अस्पताल स्थापना गर्ने भन्ने सुनेपछि दलबलसहित प्रधानमन्त्री कोइरालालाई भेट्न गुरुङको टोली पुगेको थियो ।
सुरुमा धुलिखेलको कुरा कोइरालाले गरेपछि गुरुङको समूहले चितवनमा गर्नुपर्ने र जग्गा व्यवस्थापन गर्न सकिने भनेपछि कोइराला सकारात्मक भएका थिए । गुरुङले भने, ‘गिरिजाबाबुलाई टेकप्रसादले पेल्यो अब सकिन्न भन्नुभयो र यहाँ क्यान्सर अस्पताल आयो ।’ भरतपुरमा बागवानी फार्मको ७५ बिगाहा १० कट्ठा जग्गा रामपुर कृषि क्याम्पसलाई दिइएको थियो । त्यही जग्गा मन्त्रिपरिषद्ले निर्णय उल्ट्याएर क्यान्सर अस्पताललाई दिएको गुरुङ बताउँछन् ।
यसरी स्थापना भएको क्यान्सर अस्पतालले चितवनका मात्रै होइन, देशभरि र भारत, भूटान, म्यान्मासम्मका बिरामीलाई उपचार सेवा दिँदै आएको छ । गुरुङले भने, ‘यसले चितवनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनाउन मद्दत गरेको छ ।’ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजयराज न्यौपाने नेपालमै क्यान्सरको उत्कृष्ट उपचारको केन्द्र यो अस्पताल रहेको बताउँछन् । अस्पतालले उपचार त गरेको छ नै यसले यहाँको आर्थिक क्षेत्रलाई समेत चलायमान बनाएको उनी बताउँछन् ।
उनले भने, ‘यहाँबाट दैनिक ३०–४० वटा बस देशका विभिन्न सहरमा पुग्ने गर्दछन् ।’ अस्पताल वरपर १५० हाराहारी होटल रेष्टुरेन्ट चलेका छन् भने ६० हाराहारी औषधि पसल छन् । समग्रमा आर्थिक क्षेत्रलाई चलायमान बनाउने काम पनि अस्पतालले गरेको छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष विजय सुवेदी यहाँ क्यान्सर अस्पताल स्थापना हुँदा न्यून बिरामी भरतपुर अस्पताल र मेडिकल कलेजले उपचार दिने गरेको बताउँछन् ।
उनको भनाइमा त्यतिबेला बिरामीको खासै चाप हुँदैनथ्यो । क्यान्सर अस्पताल स्थापना भएसँगै निजी अस्पताल खुलेका, देश र विदेशबाट यहाँ बिरामी उपचार गर्न आउने गरेको उनी बताउँछन् । यो क्यान्सर अस्पतालले स्वदेश र विदेशससम्म चितवनलाई चिनाएको उनको भनाइ छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल भरतपुरलाई मेडिकल सिटीका रूपमा विकास गर्न क्यान्सर अस्पतालको महत्त्वपूर्ण भूमिका रहेको बताउँछिन् ।
अस्पतालको सञ्चालक समितिमा रहेर सात वर्ष काम गरेको भन्दै उनले नेपाल र छिमेकी देशबाट बिरामी आउने गरेको बताइन् । यहाँका अन्य अस्पतालमा आएका बिरामीलाई समेत क्यान्सर आशंका भएमा उपचार गर्न पाएको उनको भनाइ छ । अस्पतालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा भरतपुरलाई चिनाएको उनी बताउँछिन् । संघीय अस्पताल भए पनि महानगरपालिकाले समेत सहयोग गर्दै आएको भन्दै उनले आगामी दिनमा अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न सके अझै यसको गरिमा बढ्ने बताइन् ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । अस्पतालमा आर्थिक वर्ष २०८-८१ मा एक लाख ८८ हजार ५१४ बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका छन् । यो संख्या आर्थिक वर्ष २०७९-८० मा एक लाख ६६ हजार २०० रहेको थियो । यस्तै, आर्थिक वर्ष २०७८-७९ मा एक लाख ७४ हजार ९३५ रहेको थियो भने आर्थिक वर्ष २०७७-७८ मा एक लाख ३१ हजार ३०५ रहेको थियो ।
उनका अनुसार सोही अवधिमा अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये नयाँ क्यान्सरका बिरामीको समेत संख्या बढ्दो रहेको छ । आर्थिक वर्ष २०८०-८१ मा छ हजार ७९५ नयाँ क्यान्सरका बिरामी पहिचान भएको उनले जानकारी दिए । आर्थिक वर्ष २०७९-८० मा यो संख्या छ हजार ४८० रहेको थियो । यस्तै आर्थिक वर्ष २०७८-७९ मा यो संख्या छ हजार ५३५ रहेको थियो भने आर्थिक वर्ष २०७७-७८ मा यो संख्या दुई हजार ९७९ रहेको थियो ।
अस्पतालको २०५७ सालमा आजकै दिनबाट सेवा सुरु भएको हो । सुरुमा एक सय शय्याबाट सुरु भएको अस्पतालमा अहिले पाँच सय शय्या छन् । आठ सय ५० जना चिकित्सक तथा कर्मचारी कार्यरत छन् । अस्पतालमा बोनम्यारो प्रत्यारोपण बाहेकका सबै खालका क्यान्सरको उपचार हुँदै आएको छ । बोनम्यारो प्रत्यारोपण युनिट पनि चिनियाँ सरकारको सहयोगमा बन्ने क्रममा रहेको छ । साइक्लोटोनसहितको पेट स्क्यान ल्याउने तयारी गरिएको छ ।-राससबाट
प्रकाशित मितिः २०८१ असोज १ गते, दिउँसो ४ः११ बजे

