अस्मिता सिंह

उमेरले बाईस कट्न नपाउँदैं बिहे कहिले गर्ने जस्ता प्रश्नहरु तेर्साउन थालेका छन् । अचेल सानी आमाको मोबाइलमा आफ्ना कुर्था सुरुवाल लगाएर चिटिक्क परेर बसेको फोटो देख्न थालेकी छु । त्यती मात्र हो र आफ्नो जन्मदिनमा नि छिट्टै बिहे खान पाइयोस् जस्ता आशीर्वाद पाउन थालेकी छु ! म भने स्वतन्त्र चरी झैं उड्न चाहन्छु । पढ्न चाहान्छु भविस्यमा केही बन्न चाहन्छु । केही बन्न चाहान्छु भन्दैमा अर्काको श्रीमती, अर्काको बुहारी त कदापी होइन ।
कहिले काहीँ भन्न मन लाग्छ, मनमा लागेका कुराहरु खोल्न मन लाग्छ । को खुसी छ र बिहे गरेर? हजुर खुसी हुनुहुन्छ ? तर भन्न सक्दिनँ, ओठको बोली ओठमै रोक्दिन्छु ।
प्रेम बिवाह गर्नेहरु त खुशी छैनन्, झन् माघी बिवाह को त कुरै नगरौं । बिहे गर्नै छैन पनि त भनेकी छैन । तर आफ्नो खुट्टामा उभिन चाहान्छु, भोलीको दिनमा कसैका सामु हात थाप्नु नपरोस् त्यस्तो बन्न चाहन्छु । प्रेम बिवाह गर्नेहरुले नि त एक–अर्काको मन बुझेर नै बिवाह गरेका हुन्छन् तर अन्तिममा छुटिन्छन् नछुटिए पनि बिवाह मात्र बाँकी हुन्छ प्रेम त कतै हराइ सकेको हुन्छ । डर लाग्छ मलाई आज मलाई बुझ्नेले भोलिको दिनमा मलाई नै नबुझ्ला । त्यही भएर आफ्नो भविष्य अन्धकारले होइन उज्यालोले भरी भराउ पार्नु छ ।
निकै प्रेम गर्ने मेरा काकाले नि त सबैका सामु काकीको अपमान गरेको नदेखेको पनि त होइन । निकै सफल छिन् मेरी काकी आफ्नो क्षेत्रमा । पेसाले उनी स्वास्थ्यकर्मी हुन् । अरुलाई स्वस्थ्य बनाउने काकीले आफ्नो सम्बन्ध भने स्वस्थ्य बनाउन सकिनन् । के बिवाह यस्तोे हुन्छ? यस्तो हुन्छ भने गर्नु छैन मलाई बिहे ।
मलाई अगाडि बढ्न कसैको साथ चाहिएको होइन केवल हिम्मत नहार है छोरी भन्ने आवाज पो चाहिएको हो । किन बुझ्दैनन अरुले? मेरो बिहे खान म भन्दा निकै हतार अरुहरु लाई छ । मैले भोलिको दिनमा दुःख पाए भने आज मेरो बिहे खान हतार भएका हरु भोलि मेरो आँसु पुछ्न आउँछन र? आउछन् भने म तयार छु ।
मेरो श्रीमान् यस्तो हुनुपर्छ उस्तो हुनुपर्छ भन्दै लिस्ट लिएर बसेकी छैन । बस उसको काबिल हुन चाहान्छु म । उसको काध सँगै मेरो काध जोडेर हिँड्न सकूँ म । उसको खुशीमा संगै रमाउन सकूँ म, उसको दुःखमा साथ दिन सकूँ ।
आफ्नालाई मेरो योग्यताको प्रमाणपत्र होइन बिवाह दर्ताको प्रमाणपत्र पो चाहिएको रहेछ । कोठाका भित्ताहरु प्रमाणपत्रहरुले भरिभराउ हुँदा नि मेरो पाइला रोक्न खोज्छन् । मेडलका आवाजसँगै मेरो आवाज दबाउन खोज्छन्।
होलान् धेरै सफल बिवाहहरु तर म आफैमा सफल हुन चाहान्छु । अचेल आफन्तको डरले फोटोहरु फेसबुकका भित्तामा पोष्टाउन छोडेकी छु । फलानो की छोरीको त बिहे गर्ने बेला भएछ भन्ने सवालहरुबाट भाग्दै छु ।
छोरा मान्छेलाई बुझेको जस्तै किन बुझ्न सक्दैनन छोरी मान्छेलाई? यो भनिराख्दा छोरा मान्छेको जीवन सजिलो छ भन्न खोजेको त कदापी होइन ,आफ्नो हजारौं चाहानाहरु मारेर परिवारको लाखौं चाहना पूरा गर्छन ।
समाज भन्ने गर्छ, छोरा मान्छेले आफ्नो खुट्टामा उभिनु पर्छ भोलि परिवारलाई हेर्नू पर्छ उसले । छोरीलाई किन आफ्नो खुट्टा मा उभिन दिदंैन समाजले? उभिनु पर्ने त दुबैले हो नि । आफ्नो खुट्टामा आफ्ना लागि उभिने हैन र? कति सहज हुन्छ होला श्रीमान् श्रीमती दुबै मिलि घर सम्हाल्दा ।
मेरा बा आमाले पढाइका लागि खर्चिएको लाखौं लाख फिर्ता गर्नु पनि त छ । न कि मेरो बिहेको क्रृणमा अझ डुबाउनु । कुर्था सुरुवाल, सारीजस्ता पहिरन लगाउँदा कति सुहाएको भन्न छोडेका छन्, अचेल त आहा बिहे गर्ने उमेर भएछ भन्न थालेका छन् ।
छोरी मान्छेले आफ्नो नाम बनाउन बिहे गर्नै पर्छ र? फलानो कि श्रीमती, फलानो की बुहारी भन्दै चिनाउनै पर्छ र !
प्रकाशित मितिः २०८० श्रावण ३ गते, दिउँसो १ः२१ बजे


Very Touchy
Heartly touched lines 🥲