सुवास ढुंगेल
ऊ निहत्था र निर्दोष थियो ।
ऊसँग केही समयलाई मात्र जिन्दगी थियो ।
भयावह मृत्यु थियो जुन विकल्परहित थियो ।
आँखाबाट कोसी गण्डकी बग्न सक्थ्यो,
तर उसले रोकेको थियो ।
डाको छोडेर रुनुपर्ने,रुवाउन सक्ने
ऊसँग प्राकृतिक,शक्तिशाली रोदन थियो ।
तर ऊ न रोएको देखिन्थ्यो न हाँसेको ।
ऊ फगत बाँच्न चाहन्थ्यो,
जुन क्षणभंगूर थियो ।
ऊ अदम्य साहस बटुलेर,
केही एकोहोरो सुनाइरहेको थियो ।
सायद उसको जीवनको भोगाइ र चाहनालाई
ऊ सारमा कहँदै थियो ।
प्रविधि पूर्ण असफल थियो ।
परिस्थिति अप्रत्याशित र पूर्ण प्रतिकूल थियो ।
प्रार्थना निस्फल हुने प्रायः निश्चित थियो ।
ईश्वरको अस्तित्व माथि नै प्रश्न चिन्ह उठेको थियो ।
ऊ अझै बाँच्न चाहन्थ्यो ।
तर ऊ बाँच्दा बाँच्दै मरिरहेको थियो ।
उ मरेर पनि बाँच्न चाहन्थ्यो ।
अर्काको लाछी देशमा गुमनाम खरानी हुनुभन्दा
आफैंलाई परिचित लास बनाएर
आफ्नै प्यारो मुलुकमा पठाउन चाहन्थ्यो ।
उसको त्यो भगिरथ अन्तिम प्रयास
अन्ततः सफल भयो ।
परिस्थिति, प्रविधि र परमात्मालाई दुत्कार्द
ऊ बाँच्न होईन,
मर्न सफल भयो !
प्रकाशित मितिः २०७९ पुस १७, बिहान ८ः२३ बजे ।

