स्वास्थ्यमन्त्रीलाई खुला पत्र

विचार/ब्लग हेडलाइन्स

द्रोण विक्रम पंन्थी
माननीय स्वास्थ्यमन्त्रीज्यू, नमस्कार

तपाईले स्वास्थ्य मन्त्रालय सम्हालेको थोरै समयमा पनि स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न स्रहानिय काम गरिराख्नुभएको कुरा हामि सबैलाई अवगत नै छ।तपाइको कार्यकालमा उल्लेखनीय प्रगति हुनेमा हामि सबै आशाबादी रहेका छौं।

यहि अबधीमा तपाइले अगाडी बढाएका  विभिन्न कामहरु मध्येको एउटा महत्वपूर्ण काम बायोमेडिकल औजार उपकरण मर्मतसंग सम्बन्धित काम हो जसमा  वीर अस्पताल लगायत अन्य संघीय अस्पतालमा रहेका मेडिकल औजार उपकरण मर्मत सम्भारका लागि रास्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने। साथै जिम्मा दिएको केहि समयभित्र उक्त केन्द्रका बायोमेडिकल प्राविधिकले केहि  उपकरण मर्मत गरी संचालनमा ल्याएको कुरा पनि पत्रपत्रिकामा पढ्न पाउँदा धेरैलाई खुसि पनि लाग्यो । यसले अल्पकालीन समस्याको समाधान हुने त भयो तर यसको दिर्घकालिन समाधानको लागि स्थायी रुपमा नीति योजना तर्जुमा गर्नुपर्ने नै देखिन्छ।

माननीय मन्त्रिज्यू तपाइको यस कार्यकालमा यो  स्वास्थ्य सेवाको ओझेलमा परेको अभिन्न अति महत्वपूर्ण अंग बायोमेडिकल क्षेत्रको पनि केहि नीतिगत सुधारको अपेक्षा गरेका छौं। राज्यले वर्षेनी करोडौ करोडका मेडिकल औजार उपकरण आयात गरिरहेको छ तर न त यसको कुनै गुणस्तर मापन भएको छ न त यसको उचित ब्यवस्थापन गर्नेतर्फ पर्याप्त ध्यान पुर्याएको छ । कुन अस्पतालमा कस्ता कस्ता कुन अवस्थाका कति उपकरण छन् यसको कुनै लेखाजोखा गर्ने सहज माध्यम नै छैन। अधिकांश सरकारी अस्पतालमा मेडिकल उपकरणको ब्यवस्थापनको पक्ष धेरै नै फितलो छ। न त बायोमेडिकल उपकरण सम्बन्धी रेकर्डिंग तथा रिपोर्टिंग गर्ने कुनै टुल्स विकास भइ लागू भएको छ ।  राज्यले  वि.स. २०७२ सालदेखि मात्र पहिलोपटक लोकसेवाको माध्यमबाट बायोमेडिकल प्राबिधिक स्थायी रुपमा पदपूर्ति गर्न सुरु गरेता पनि हालसम्म सरकारको स्थायी सेवामा कार्यरत बायोमेडिकल टेक्निसियन र बायोमेडिकल इन्जिनियरको संख्या अति नै न्यून छ । नत सरकारी अस्पतालमा  यथेस्ट दरबन्दी सिर्जना हुन सकेको छ न त हाल  कार्यरत बायोमेडिकल टेक्निसियन र इन्जिनियरलाई सहज रुपमा काम गर्ने वातावरण नै सिर्जना भएको छ ।

न्यून संख्यामा भएपनि हाल स्थायी रुपमा कार्यरत रहेका बायोमेडिकल टेक्निसियन र इन्जिनियरलाई उपर्युक्त काम गर्ने वातावरणको व्यवस्था गर्ने, उचित तालीम प्रदान गरी उनिहरुको क्षमता विकास गर्ने, कामका लागि प्रोत्साहन गर्ने  र उनीहरुबाट अधिकतम फाइदा लिने काममा राज्यको कुनै ध्यान पुगेको देखिदैंन।

बायोमेडिकल क्षेत्र सुधारका लागि नीतिगत रुपमा ब्यवस्था गर्नुपर्ने केही पक्षहरु:

  • स्वास्थ्य सेवा ऐन २०५३ तथा स्वास्थ्य सेवा नियमावली २०५५ मा भएको ब्यवस्था अनुसार बायोमेडिकल इन्जिनियरको प्रवेश बिन्दु ८ तह रहेको सोहि अनुसार संघमा पदपूर्ति भएता पनि प्रदेशमा प्रवेश बिन्दु ७ तह कायम गरी सोहि अनुसार पदपूर्ति भएको, संघ र प्रदेशको प्रवेश बिन्दु समान तह कायम गर्नुपर्ने ।
  • स्वास्थ्य सेवा ऐन २०५३ तथा स्वास्थ्य सेवा नियमावली २०५५ मा बायोमेडिकल टेक्निसियनको ५/६/७ तहको पदनाम एउटै रहेको, तह अनुसार पदनाम फरक फरक कायम  गर्ने।
  • हाल सरकारी सेवामा कार्यरत बायोमेडिकल टेक्निसियन र इन्जिनियरको क्षमता विकासका लागी उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति तथा तालिमको लागी अनिवार्य नीतिगत ब्यवस्था मिलाउने।
  • हाल कार्यरत बायोमेडिकल टेक्निसियन र इन्जिनियर विभिन्न प्रयोगशाला, रेडियोलोजी तथा फोहोरमैला ब्यवस्थापन आदिसँग सम्बन्धित औजार उपकरण मर्मत सम्भारका लागि प्रत्यक्ष खटिदाँ जोखिम हुने तर कुनै पनि जोखिम भत्ताको ब्यवस्था नभएको, प्रयोगशालामा कार्यरत प्रयोगशालाकर्मीका लागि प्रयोगशाला जोखिम भत्ता तथा रेडियोलोजिका लागि रेडियसन भत्ताको ब्यवस्था भए जसरी बायोमेडिकल जोखिम भत्ताको ब्यवस्था नीतिगत रुपमा मिलाउने।
  • बायोमेडिकल औजार उपकरणको रेकर्डिङ  तथा रिपोर्टिंङको लागि मेडिकल रेकर्ड शाखामा प्रयोगमा आइराखेको DHIS2 जस्तै Biomedical Information Management System (BIMS) लागु गरी मासिक रुपमा अनिवार्य अनलाइन रेकर्डिङ तथा रिपोर्टिंङको व्यवस्था मिलाउने।
  • मेडिकल औजार उपकरणको गुणस्तर मापन गर्नको लागि एक छुट्टै इकाइको ब्यवस्थापन गरी अनिवार्य गुणस्तर मापन गरेर मात्र औजार उपकरण भित्राउने ब्यवस्था गर्ने।
  • स्वास्थ्य सेवा विभाग, आपूर्ति ब्यवस्थापन महाशाखाले संचालनमा ल्याएको औषधि तथा स्वास्थ्य सम्बन्धी उपकरणहरुको स्ट्यान्डर्ड प्राविधिक स्फेसिफिकेशन रहेको TSB ( Technical Specification Bank) लाई अझ ब्यवस्थित गरि सरकारी निकायबाट खरिद गरिने सामग्रीहरुमा समानता र एकरुपता ल्याउन TSB लाई आधार लिन अनिवार्य गर्ने।

प्रकाशित मितिः २०८१ पौष १६ गते, बिहान ११ः२१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *