अस्पतालमा व्यवस्थापन अधिकृतको भूमिका र आवश्यकता

विचार/ब्लग

अशिम चौधरी

नेपालमा सरकारी अस्पतालहरुको व्यवस्थापकीय पक्षमा भइरहेको सुधार र व्यवस्थापनलाई अझै दुरुस्तता दिनका लागि नेपाल सरकारले वि.स.२०७४ सालमा स्वास्थ्य सेवा विभाग अन्तरगत उपचारात्मक सेवा महाशाखाद्वारा देशै भरका २० वटा स्तरोन्नोती भई ५० शैयामा परिणत भएका जिल्ला अस्पतालहरुमा करार सेवामा सम्झौता गरी स्वास्थ्य सेवा,अस्पताल व्यवस्थापन र जनस्वास्थ्य विषय स्नातक उतीर्ण गरेकालाई व्यवस्थापकीय क्षेत्रमा पहिलो पटक काम गर्ने अवसर प्राप्त भएको थियो । यद्यपी नेपालमा पोखरा विश्वविद्यालय अनतरगत स्वास्थ्य सेवा व्यवस्थापन विषयमा स्नातक अध्ययन अध्यापन सानेपा ललितपुरमा रहेको नेशनल ओपन कलेजमा पहिलो पटक इ.स. २००० देखि नै सुरु भएको थियो भने हाल यस विषयको महत्व र आकर्षणले गर्दा थप कलेजहरुले समेत अध्ययन अध्यापन सुरु गरिसकेका छन् ।

नेपालमा संचालनरत विभिन्न निकाय अन्तरगतका अस्पतालहरुमा हालसम्म पनि अस्पतालको व्यवस्थापनलाई चलायमान राख्ने काम चिकित्सक/संचालक/लगानीकर्ताहरु आफैले गर्ने गर्दा सम्बन्धित विषयको ज्ञान र दक्षताको कमीले गर्दा व्यवस्थापकीय पक्षमा गुनासा तथा सुधारका कामहरु धेरै नै बाँकी रहने गर्दछन् । तर नेपाल सरकारले थालनी गरेको ५० शैयाको अस्पतालहरुमा समग्र व्यवस्थापनको पक्षलाई हेर्नका लागि करारमा जनशक्ति राख्ने निर्णय विशेष गरी स्वास्थ्य सेवा व्यवस्थापन अध्ययन गरिरहेका विद्यार्थीहरु र स्नातक उत्तीर्ण गरिसकेका लागि पनि सरकारी अस्पतालहरुमा रोजगारीको अवसर पाउने आशा पलाएको छ ।

सुरुवाती चरणमा देशै भरका २० वटा जिल्ला अस्पतालहरुबाट सुरु भएको अस्पताल व्यवस्थापकको पद आ.व. २०७९/०८० मा पुग्दा २० बाट ४६ वटा ५० शैया वा सो भन्दा बढीका अस्पतालहरुमा स्वास्थ्य सेवा व्यवस्थापन विषयमा मात्र स्नातक उत्तीर्ण गरेकालाई अस्पताल व्यवस्थापन अधिकृत पदमा करार सेवामा जनशक्ति थप गरिएको छ । स्वास्थ्य मन्त्रालयले गरेको Organization & Management(O&M) सर्वेक्षणमा समेत दरबन्दी सिर्जनाको लागि प्रस्तावित ढाँचा तयार भई सार्वजनिक भएको छ, जसमा ५० शैयाका अस्पतालहरुमा अस्पताल व्यवस्थापक १ (एक) जना, सेवाः नेपाल स्वास्थ्य र समूहः विविध हुने भनी लेखिएको छ । यसको अर्थ सेवामा रहिरहनु भएका अस्पताल व्यवस्थापकहरुले व्यवस्थापकीय पक्षहरुमा गरेका सुधारको मूल्याङ्कन भएको महसुस गर्न सकिन्छ ।

अस्पतालहरुमा भएका सुधारहरु जस्तै दैनिक कार्यालयको व्यवस्थापन, अस्पतालजन्य फोहरमैलाको व्यवस्थापन, जनशक्ति परिचालन तथा व्यवस्थापन र साझेदारी तथा समन्वयकारी भुमिका र अस्पतालको न्युनतम सेवा मापदण्ड, इत्यादी जुन सरकारी अस्पतालमा आवश्यक थियो, सायद केही हदसम्म सुधारका कार्यहरु हुँदै गरेका छन् भने अझै थप चुस्त र दुरुस्तता हुनेछन् वा छैनन्, यसको मूल्याङ्कन सम्बन्धित निकायहरुबाट हुन जरुरी छ । तर अस्पतालमा वर्षेनी हुने न्युनतम सेवा मापदण्डको मूल्याङ्कन हुँदा सो मा भएका विभिन्न पक्षहरुमा सुधार गरी फड्को मारेका उदाहरणीय अस्पतालहरुको उदाहरण पनि हामी माझमै छन् ।

अस्पतालमा रहेका विभिन्न रिक्त दरबन्दीका पदहरु पूर्ति नहुँदा कार्यालय व्यवस्थापनमा चुनौती हुने गर्दछ । एकै जनाले विभिन्न फाँटको जिम्मेवारी बहन गर्दा कामको गुणस्तरतामा ह्रास आउने र सेवाग्राहीलाई समेत अप्रत्यक्ष मर्का पर्ने गर्छ । अझै अस्पताल जस्तो संवेदनशिल ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नै मुख्य भुमिका रहने र उक्त जनशक्ति कै अभाव हुने गर्दछ, साथै प्रशासन लगायत अन्य फाँटहरुमा पनि पदहरु रिक्त नै रहेको हुन्छ । यस सन्दर्भमा पनि संघ र प्रदेश स्तरीय माथिल्लो निकायको ध्यानाकर्षण हुन जरुरी छ । साथै अस्पतालका लागि रहेको अस्पताल विकास समितिको पनि उत्तिकै भुमिका रहने हुँदा आवश्यकतालाई मध्यनजर गरी आवश्यक व्यवस्थापनको लागि भुमिका निर्वाह गर्ने दायित्व हुने गर्दछ ।

अस्पताल यस्तो ठाउँ हो, जहाँ विभिन्न परिवेशबाट र फरक दक्षताका जनशक्तिले विरामीको सम्पूर्ण उपचार पद्धतीमा एकै छानामुनि रही पुर्याउने कर्म थलो हो । जहाँ एक विना अर्को अपूरो हुन्छ । त्यसकारण अस्पतालको हरेक व्यक्ति, कार्यालय प्रमुखदेखि कुचिकारसम्म सबैको आफ्नै महत्व र जिम्मेवारी हुन्छ । तसर्थ अस्पतालमा विरामीको उपचारमा सबै एकजुट र एक अर्काको पूरक भई दक्षताका साथ सेवामुखी भावले काम गर्ने हो भने अवश्य पनि सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ । त्यसको निम्ति कार्यालय प्रमुख (मे.सु) को मातहतमा रही अन्तर फाँट समन्वय गर्ने, नियमित बैठक गर्ने, विभिन्न दैनिक आवश्यकता पूर्ति गर्न योजना तर्जुमा गर्ने लगायतका विभिन्न दैनिक कार्यालय संचालन गर्ने जिम्मेवारी अस्पताल प्रशासन/अस्पताल व्यवस्थापन अधिकृतको अहम् भूमिका हुन्छ ।

सरकारी, गैर सरकारी तथा निजि अस्पतालहरु लगायत सम्पूर्ण स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले महत्वका साथ व्यवस्थापकीय पक्ष सबल, सुदृढ र शसक्त बनाउन जरुरी भएसँगै सम्बन्धित विषयमा दक्षता हासिल गरेको जनशक्तिलाई समग्र अस्पतालको व्यवस्थापकीय जिम्मा दिई संस्थाको कार्यक्षमता समेत अभिवृद्धि गर्नका निम्ति सम्पूर्ण सरोकारवाला तथा सम्बन्धित निकायहरुलाई यस विषयमा ध्यानाकर्षण गराउनु पर्ने आवश्यकता रहेको देखिन्छ ।

लेखक चौधरी गुल्मी अस्पतालमा अस्पताल व्यवस्थापन अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।

प्रकाशित मितिः २०७९ कार्तिक १६ गते, दिउँसो ३ बजे

1 thought on “अस्पतालमा व्यवस्थापन अधिकृतको भूमिका र आवश्यकता

  1. laxman upadhayay says:

    लोकसेवा आयोग छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *