अनिता कुँवर, नेपाल स्वास्थ्य डटकम
आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि दलहरुले आफ्ना घोषणापत्र मार्फत जनतासामु विभिन्न प्रतिबद्धता जाहेर गरेका छन् । विभिन्न क्षेत्रमाजस्तै स्वास्थ्य क्षेत्रमा पनि दलका आफ्नै प्राथमिकताका विषय अटाएका छन् । नेपालमा ठूला दलको हैसियतमा कायम रहेका नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकिकृत समाजबादी, राप्रपा लगायतका दलले सार्वजनिक गरेको घोषणापत्रलाई हामिले नजिकबाट नियाँल्ने प्रयास गरेका छौं ।
नेपाली काँग्रेसले आफ्नो चुनावी घोषणापत्रमा
दक्ष र सुरक्षित स्वास्थ्यकर्मी भन्ने मान्यताका साथ स्वास्थ्य जनशक्तिलाई उत्प्रेरित र टिकाइराख्न विद्यमान सेवा सुविधामा १०० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरी पाँच वर्षभित्र क्रमशः एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ को अवधारणा कार्यन्वयन गर्ने उल्लेख गरेको छ ।

त्यसैगरी उसले सबै महिलालाई गुणस्तरीय स्यानिटरी प्याडको नि:शुल्क व्यवस्था गर्ने, हरेक स्थानीय तहमा सुविधा सम्पन्न एम्बुलेन्स सेवा, ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई नि:शुल्क उपचारको व्यवस्था मिलाउने कुरा समेटेको छ ।


नेकपा एमालेले स्वस्थ्य महिनावारीः १५ सय वर्षभरी, प्रेसर सुगरः भइन्न बिरामी औषधी बेगर लगायतका नारासहितका बुदाँहरु आफूले जारी गरेको घोषणापत्रमा समावेश गरेको छ ।



माओवादी केन्द्रले ‘गाउँ गाउँमा अस्पताल, स्वास्थ्यमा समाजवाद’ भन्ने नारालाई समेट्दैं अपांगता भएका नागरिकको स्वास्थ्य बिमा र जीवन बिमा नि:शुल्क गर्ने, हरेक पालिकामा आधारभूत अस्पतालहरुको निमार्ण सम्पन्न गरी दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था गर्ने, बालबालिका तथा जेष्ठ नागरिककको लागि विशिष्टकृत अस्पतालको स्थापना गर्ने लगायतका कुरा समेटेको छ ।


त्यसैगरी एकिकृत समाजवादीले गर्भवती सुत्केरी महिला तथा बालबालिकाको लागि पोषणको व्यवस्था गर्ने लगायतका कुरा समेटेको छ । त्यसैगरी राप्रपाले आधारभूत स्वास्थ्य सेवा सबै नागरिकलाई नि:शुल्क तथा अनिवार्य गर्ने, ज्येष्ठ तथा अशक्त नागरिकको घर दैलोमा स्वास्थ्य सेवा पुर्याउने, आयुर्वेद, प्राकृतिक योग तथा अन्य चिकित्सा पद्धतिको विकास र विस्तार गर्ने उल्लेख गरेको छ ।

प्रकाशित मितिः २०७९ कार्तिक १५ साँझ ७ः०९ बजे

