निरु महत

नर्स, नानी, दिदी अनि सिस्टर जे सम्बोधन गर मलाई
आखिर म नै हुँ, मेरो कर्तव्य हुन्न भिन्न कसैगरी
किन कि म एक नर्स हुँ
सम्मान, अपमान अनि गिराउने कोशिस गर्छन् कोही मलाई
दृष्टिकोण भिन्न भिन्न म प्रति, जस्तो मति उस्तै हेराई
किन कि म एक नर्स हुँ
निरन्तर सेवामा समर्पित छु बिना भेदभाव सधैभरी
न निच, न उच्च, जात धर्म छैन मेरो सबै बराबरी
किन कि म एक नर्स हुँ
हावाहुरी असिना पानी, न त रात न त दिन हर घडी
न थकान न भोक न त तिर्खा सेवा मै रम्छु सबै छोडी
किन कि म एक नर्स हुँ
अस्पतालमा मात्र होइन्, पुग्छु म गाउँबेसी पाखापारी
अनवरत कुँदिरहन्छु म जताततैं सधैभरी यसैगरी
किन कि म एक नर्स हुँ
दमले श्वास फुलेर सकसले मलिन आमाहरु
सम्झनु हुन्छ सुगर, प्रेसर बढेर उसैगरी बुवाहरु
किन कि म एक नर्स हुँ
प्रसव पीडाले तड्पिएर मेरा दिदीबैनी ऐया र अथ्या गर्दे
भरिलो आँखामा आशाका नजरले हेर्छन् उनै अनुनय गर्दे
किन कि म एक नर्स हुँ
मान, सम्मान आदरसँगै छुच्चिको उपाधि मेरै हो
तर पेशा मेरो पुजा हो, धर्म हो, निष्ठा अनि कर्तव्य हो
किन कि म एक नर्स हुँ
लेखक महत निक साइमन्स इन्सिच्युट अन्तर्गत गोरखा अस्पतालमा कार्यरत हुनुहुन्छ ।
प्रकाशित मितिः २०७९ मंसिर २ गते, विहान ६ः५९ बजे ।

