हिँउ, हिमाल र हामी

साहित्य हेडलाइन्स

डा. राजेन्द्र बहादुर जिसी

साथिहरुको हिँउमा स्केटिङ खेलेको देख्दा ति हिउँहरुका याद आए । जसको महत्व बुझेर पनि नबझे जस्तै गर्नु परिरहेछ। मेरो हिँउसँगको नाता सम्बन्ध कहिले गाँसियो थाहा भएन हेर्दा हेर्दै माया बस्यो, खेलाउँदा खेलाउँदैं हामी दुवै गल्यौं ।

हिमाल भनेको हिँउको थुप्रो हो, भूगोलको सर भन्नुहुन्थयो,मैले सम्झे धानको थुप्रों, अन्नपुर्ण भन्दा त झन् हो नै जस्तो लाग्यो पछि बुझेको हिँउ नै नछोएको सर हुनुहुँदो रहेछ । यता पानी पर्दा उता हिँउ पर्छ मैले बुझे, असारतिर हिँउ पर्छ। पोखराबाट माछापुछ्रे त देखेको थिएँ, पछि कास्कीको चन्द्रकोटबाट हेर्ने मौका मिल्यो, थाहा पाएँ हिमाल हेर्ने टाढाबाट रैछ, हिँउ खेलाउने आफैसँग रैछ ।

पर्न त घोरेपानीको लेकभरी हिँउ थियो, पछि हिँउसँगै बसियो मुक्तिनाथमा १ वर्षसम्म सधै बस्दा त कहाँ महत्व हुँदो रहेछ र बेला बखतमा ठटाक ठुटुक मात्र।
टाढा भएपछि माया बढ्दो रहेछ, पुरानो भएपछि निराश लाग्दो रहेछ ।

पछि अर्घाखाँचीको मसिना लेकमा हिँउ पर्दा सँगै खेल्ने मौका मिलेको थियो । बुर्तिबाङबाट रुकुम जाँदा मेरो बाटो नै बन्द गरिदिएर च्यालेन्ज गरिदिएकी थिइन्, उनले । मैले पनि १४ किलोमिटरसम्म उनलाई जिस्काउँदै बाटो काटेको थिएँ । बीचमा २ पटकसम्म अन्नपूर्णालाई फन्को मार्दा तिलिचोमा उनको पाउ छुने मौका मिल्यो ।

सगरमाथाको नाम सुनेको थिएँ । हेर्ने रहर लाग्यो, कालापत्थरबाट मौका मिल्यो, बेस क्याम्पमा गएर छुने पनि । थ्रिपास हुँदै फर्कदाँ ग्लासिएरसँग भेट भयो । खुम्बु रहेछ उसको नाम, संसारकै ठूलो रे ! बाटो बिराउँला की भनेर ठाँउ ठाँउमा छोटेनहरु पनि उभिएर संकेत दिदैं थिए । गाँउ नपुग्दै मानेहरुको स्वागत र गाँउमा गुम्बाको व्यवस्थापन मैले सिकेर पनि नजाने जस्तो गर्नु परेको छ।

त्यो डाँडामा डोजर कस्ले ल्यायो होला, हेर्दै जाँदा त्यहाँ डोजर थिएन । ठूला ठूला खाल्टा, कुनै खाली, कुनैमा बरफ भरिएका । बाहिरबाट हेर्दा हिमाल स्थिर देखिएपनि त्यहाँ पुग्दा थाहा भयो, यो कति खटिएको रहेछ संसार जोगाउनको लागि, पानीको लागि, तापक्रमको लागि तर उच्च जोखिम मोल्दै आँधीहुरीको, भूकम्पको, हिम पहिरो र हिमताल बिस्फोटनको ।

आठहजार मीटर अग्ला हिमालमा चिसो हावा ठोक्किनासाथ हिँउ पर्दो रहेछ । प्रत्येक दिन विशेष गरेर अपरान्हतिर । त्यो हिँउ पग्लदैं जम्दैं कुनै हिमताल त कुनै ग्लासियर बन्दा रहेछन पाँचहजार मिटरमा झर्दा । बरफ जम्दा ठुलो हुने, पग्लिदाँ सानो हुने गुणले गर्दा तल पानी माथि बरफ साथै ठूला ठूला पत्थर पनि फुटाउदाँ रहेछन् र डाँडा खाल्टा बन्दा रहेछन् । हिमालको तुलनामा ग्लासियरको एरिया धेरै हुदों रहेछ, यहाँबाट सोसिएका पानी कुनै हिमनदी त कुनै चट्टानभित्र हुँदैं अग्ला अग्ला पहाडमा मूल बनेर निस्कदों रहेछ । यदि हिमाल नभैदिएको भए पानीका सबै मूल सुक्ने थिए । वर्षातको पानी रिसाइकल त नगण्य मात्रामा हुँदों रहेछ ।

एकदिन एउटा साथि भेट हुनुभयो र परिचय दिनुभयो प्रकृति प्रेमी भनेर । मैले सोधें, प्रकृतिलाई के दिनुभयो? २/४ वटा रुख रोप्नु भयो? पानीको मुहान सफा गर्नु भयो? उत्तर भएन, यो त एकतर्फी प्रेम होला नि, धोका हुनसक्छ कुनैबेला, सित्तैमा लिएको हावा र पानीले सुगर र प्रेसर जन्मिएला नि ! उहाँले त बिहान बिहान दौडेर सिओटु पो दिनुभएको रहेछ ।

  • डा. जिसी पाल्पा अस्पताल, पाल्पाको कार्यालय प्रमुख हुनुहुन्छ ।

प्रकाशित मितिः २०८० पौष १९ गते, बिहान ११ः५९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *