
सुवास ढुङ्गेल
मेरो टाउको तातेको,चड्किएको,
थर्मोमिटर भन्दा पहिले,
उनी, अनुहार हेरेरै थाहा पाउँछिन ।
सुम्सुम्यार, भिक्स घसेर,’ सन्चो भो’ ? भनेर सोध्छिन् ।
उनी मेरो कुर्कुचा फुटेको देख्नै सक्तिनन् ।
ग्लिसिरिन दलेर,
नङले कोतरेर,
सफा पारिदिन्छिन ।
मेरा जीउमा देखिएका दाग धब्बा जम्मै निको पार्न
चर्म चिकित्सक झैँ,लागिपर्छिन्।
उनी म थोरै थकित भएको पनि सुन्नै सक्तिनन् ।
फिजियोथेरापिष्ट झैँ
टाउको देखि पैतालासम्म
तेल घसेर
पञ्जाले सेकेर
पैतालाले टेकेर
थकान सफाचट गरिदिन्छिन् ।
उनी म भोकै बसेको त झन् खप्नै सक्तिनन् ।
पीठो बेलूँ भन्छिन ?
सातु घोलूँ भन्छिन ।
दालमोट खाने,दराज खोलूँ ? भन्छिन्
ओखर खाने, एउटा फोरूँ? भन्छिन्।
७४ बर्षिय, मेरी आमा ।
प्रकाशित मितिः २०८१ बैशाख ११ गते, दिउँसो ४ः५३ बजे

