नेपाल स्वास्थ्य, नेपाल रेडक्रस सोसाइटीले सात प्रदेश र ७७ वटै जिल्लामा विपद् प्रतिकार्यका लागि तालिमप्राप्त जनशक्ति परिचालन गरेको जनाएको छ । रेडक्रसले यस वर्ष अत्यधिक वर्षा हुने मौसम विज्ञहरूको पूर्वानुमानसँगै सबै जिल्लाहरूमा आफ्ना तालिमप्राप्त स्वयंसेवकहरू खटाई विपद् पूर्वतयारीका कामहरू अघि बढाएको जनाएको हो ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठका अनुसार पछिल्लो समय मनसुन भित्रिसकेको र बढी वर्षा हुने आंकलनबीच हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न विपद् पूर्वतयारीका कामहरू पनि अघि बढाएको बताए । विपद् पूर्वतयारी स्वरुप रेडक्रसले मनसुन पूर्वतयारी योजना निर्माण गरेको उनले बताए ।
उनका अनुसार सातै प्रदेश र ७७ वटै जिल्लामा मनसुनको पूर्वतयारीको लागि अभिमुखीकरण सम्पन्न भइसकेको छ। लमजुङ, मोरङ, सुनसरी, रोल्पा, ओखलढुंगा, झापा, कास्की, दाङ, ताप्लेजुङ लगायतका जिल्लामा ठूलो मनसुनको प्रभाव देखिएको र ति जिल्लाहरुमा भएका क्षतिमा रेडक्रसले राहत सामग्रीहरु प्रदान गरिसकेको उनले सुनाए। “सबै स्वयंसेवकहरु तयारी अवस्थामा हुनुहुन्छ” उनले भने। रासस
प्रकाशित मितिः २०८१ असार २० गते, बिहान ८ः१५ बजे

