नेपाल स्वास्थ्य डटकम सम्पादकीय,

नेपालमा पानी पार्ने मनसुन प्रणाली सक्रिय भएसँगै विभिन्न किसिमका विपदका घटना घटिरहेका छन् । खासगरी बाढी, पहिरो, डुबान,चट्याङ, हावाहुरी लगायतका प्रकोपले मानिसको दिनचर्यामा असहजता थपिदिएको छ । प्राकृतिक भूबनोट पनि पूर्णतया मानवमैत्री बन्न नसकेको अवस्थामा यसको मानवीय मात्रै नभएर भौतिक क्षतिको पनि त्यत्तिकै मात्रामा डर रहेको छ ।
नेपालले मनसुनको समयमा प्रत्येक वर्ष ठूलो मार खेपिरहेको छ । पहाडी भेगमा बसोबास गर्ने थुप्रै नेपाली पहिरोबाट प्रताडित हुनुपरेको छ अर्कोतर्फ तराई क्षेत्रमा बाढी र डुबानले अधिकांस भूभाग जलमग्न हुने अवस्था बन्ने गर्दछ । यहि बेला नै सर्पको बिगबिगी समेत बढिरहेको छ । सर्पको टोकाइबाट धेरै मानिसले अकाल मृत्युवरण गर्न परेको छ । सर्पदंश उपचार केन्द्रको आवश्यकता अनुसार स्थापना हुन नसकिरहेको अवस्था छ ।
हाम्रा पानीका मुहान सहि किसिमले व्यवस्थित बन्न सकेका छैनन् । ठूलो पानी पर्दा वर्षातको भेल हाम्रो खानेपानीमा मिसिदाँ उक्त पानी दुषित भई बिरामी पर्न सक्ने समेत उत्तिकै जोखिम छ । विकासको नाममा अनुपयुक्त ढगंले मनलाग्दी सडक निमार्ण गर्ने जुन प्रवृत्ति बढेर गएको छ त्यसले हाम्रा धेरै भूभाग खलबलिएका छन् जसका कारण जतिबेला नै पहिरोको जोखिम हुने गर्दछ । जसका कारण आर्थिकसँगै मानवीय क्षति भोग्नुपर्ने बाध्यता रहन गएको छ ।
यसरी विपदको जोखिम हर समयमै रहेको देखिन्छ । जसले निम्त्याउने संकटले देशलाई ठूलो हानी पुर्र्याउने गर्दछ यसका लागि सरकार र सरोकारवाला एकदमै सचेत तथा गम्भिर बन्नुपर्ने देखिन्छ । नागरिकलाई सुरक्षित र प्रकोपबाट पार लगाउनु यस्तो बेला सरकारको प्रमुख जिम्मेवारी रहन्छ । विपद व्यवस्थापनको लागि संघ, प्रदेश र स्थानीय सबै सरकारको एक्यबद्धता जरुरी छ । यस्तो बेला नागरिकलाई राजनीतिक आखाँले हेरिनु हुँदैन । विपदको क्षणमा सबैको जिम्मेवार उपस्थिती, सहि किसिमको राहत वितरण र पीडितको उद्धारमा सरकार चुक्नु हुदैँन सँगसँगै नागरिकको स्वास्थ्यमा समेत यस्तो बेला राज्यले विशेष ध्यान दिन जरुरी छ ।
प्रकाशित मितिः २०८१ असार १५ गते, दिउँसो १२ः५७ बजे

