नेपाल स्वास्थ्य डटकम, पानी पार्ने मनसुनी प्रणाली नेपालमा सक्रिय भएसँगै बाढीपहिरो र डुबानको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्ष धेरै पानी पर्ने आंकलन गरेको छ । यसरी वर्षा धेरै मात्रामा हुदाँ यसले ल्याउने जोखिम समेत धेरै नै हुन्छ । पहिरो, बाढी र डुबानले जनजीवन कष्टकर बन्छ भने अर्कोतर्फ यसले भौतिक तथा मानवीय क्षति समेत त्यत्तिकै गराउने सम्भावना हुन्छ । यसैबीच बाढी तथा डुबानबाट जोगिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न उपायहरु सुझएको छ ।
जानौं ती उपायहरुः
१. अत्यधिक पानी परेर बाढी आउने सम्भावना भएको समयमा होचा र नदी किनारका क्षेत्रमा हिँड्डुल नगर्ने ।
२. गाउँ एवं बस्तीमा बाढी आए अग्लो भूभाग वा सुरक्षित स्थलमा जाने ।
३. वर्षायाममा सकेसम्म नदी एवं खोलातटीय क्षेत्रमा नबस्ने र बाढी तथा डुबानबाट जोगिन सुरक्षित स्थलको पहिल्यै पहिचान गरी उक्त ठाउँसम्म जाने बाटोबारे स्पष्ट हुने ।
४. रातभर पानी परेको अवस्थामा परिवारका सदस्यहरू आलोपालो गरी सुत्ने ।
५. नदी एवं खोलामा पानीको बहाव बढेर ढुंगामाटो कटान गरेमा आफूभन्दा तल्लो भेगको गाउँ र बस्तीमा तत्कालै खबर गर्ने ।
६. मौसमी गतिविधिबारे सञ्चारका कुनै पनि माध्यमबाट जानकारी लिने ।
७. बाढीको सूचना दिने र लिने व्यक्ति तथा संस्थाको सम्पर्क नम्बर सुरक्षित राखी बाढीसम्बन्धी कुनै पनि शंका लागेमा वा समस्या परेमा तत्काल फोन गर्ने ।
८. बाढी पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर बाढीका बारेमा जानकारी लिने ।
९. बाढी तथा डुबान हुने सम्भावना रहेमा गरगहना, रुपैयाँ÷पैसा, औषधि, महत्त्वपूर्ण कागजात, सुक्खा खानेकुरा, पकाएर खाने खाद्यसामग्री लिएर सुरक्षितस्थलमा जाने ।
१०. टर्च, लौरो, सिटी, डोरीजस्ता सामग्री बाढी र डुबानको समयमा निकै सहयोगी बन्ने हुँदा तिनको व्यवस्थापन गर्ने ।
११. बाढी र डुबानको समयमा पानी प्रदूषित हुने हुँदा पानी सफा गर्ने फिटकिरी वा औषधिजस्ता सामग्रीको व्यवस्थापन गर्ने ।
१२. बाढी र डुबानका बारेमा जानकारी दिन वा आवश्यक उद्धारका निम्ति खबर गर्न मोबाइलमार्फत सजिलो हुने हुँदा मोबाइलमा आवश्यक ब्यालेन्स र पर्याप्त चार्ज राख्ने ।
१३. बाढी र डुबानका कारण उद्धारको आवश्यकता परेमा ११४९ नम्बरमा सम्पर्क गर्ने ।
प्रकाशित मितिः २०८१ असार १७ गते, बिहान ६ः५७ बजे

