डा. किरण नकर्मी
जल्ने बित्तिकै जलेको घाउमा आधा घण्टा सम्म बगिरहेको पानी खन्याएर चिस्याउनु पर्ने हुन्छ। यसो गर्दा जलन छालाको गहिरो भागसम्म गढ्न घाउ गहिरो हुन पाउँदैन। गहिरो घाउलाई छाला प्रत्यारोपण गर्नुपर्छ भने चिस्याएर घाउ गहिरो हुन दिएन भने मलहम पट्टी गरेरै बिना अपरेशन निको पार्न सकिने सम्भावना बढ्न जान्छ।

हाम्रो शरीरको ६०-८०% भाग पानी नै हुन्छ। जलन हुँदा शरीरबाट धेरै मात्रामा पानी खेर जान्छ। पानीको परिपूर्ति नभए पछि अरु महत्वपुर्ण अंगहरु जस्तै मिर्गौलाले पनि थोरै रगत पाउँछ। फलस्वरूप पिसाब थोरै मात्रामा बन्छ। जलन हुँदा अत्यन्तै धेरै मात्रामा जिउबाट पानी खेर जान्छ। यो मात्र जिउमा भएको पुरै रगतको मात्र भन्दा धेरै पनि हुन सक्छ।
जलनको घाउ जति ठूलो र विस्तृत भयो त्यति नै धेरै पानी खेर जान्छ। र यो हानीलाई यथासक्य छिटो परिपूर्ति गर्नुपर्छ। ढिला भएमा गम्भीर क्षति हुन्छ। यसले घाउमा मात्र हैन अन्य महत्वपूर्ण अंगहरु जस्तै दिमाग, फोक्सो, मुटु, कलेजो, मिर्गौला, आन्द्रा आदिमा त हानी गर्छ नै, साथै घाउ पनि पहिले भन्दा बिग्रिन जान्छ। अन्तत्वोगत्वा जल र लवण बियोजनका कारण धेरै जलनका बिरामीले ज्यानै गुमाउन पर्ने हुन्छ।
जिउमा पानी पुगे नपुगेको कुरा मिर्गौलाको अवस्था हेर्दा थाहा हुन्छ। खुशी मिर्गौला: जुन मिर्गौलाले यथेष्ट मात्रामा रगत पाउँछ त्यो नै खुशी हुन्छ। खुशी मिर्गौलाले धेरै पिसाब बनाउन सक्छ। दु:खी मिर्गौला: प्रशस्त रगत नपाएको मिर्गौला दु:खी हुन्छ किनकि यसले यथेष्ट मात्रामा पिसाब बनाउन सक्दैन जसको कारण जिउबाट विकार फ्याँक्ने आफ्नो कर्तव्य पुरा गर्न सक्दैन। विकार शरीरमा जम्मा भएर बस्यो भने पुरै जिउलाई नै हानी गर्छ। पानीको परिपूर्ति गर्न सामान्यतया निम्न शुत्रको प्रयोग गर्न सकिन्छ।
पानीको मात्रा= ४ x बिरामीको वजन किलोग्राममा x जलनको विस्तार (पुरा शरीरलाई १००% मान्दा जलेको भागको क्षेत्रफल प्रतिशतमा) यसलाई पार्कल्याण्डको शुत्र भनिन्छ। यो नै बिरामीले २४ घण्टा भित्र पाउने पर्ने पानीको मात्रा हो। यसमा हिसाब गरे अनुसारको पानीको मात्राको आधा त जलेको ८ घण्टा भित्र दिइसक्नु पर्छ भने बाँकी आधा मात्रा अघिल्लो १६ घण्टामा दिनुपर्ने हुन्छ।
जस्तै: एकजना ५० किलो वजन भएको व्यक्तिको जिउको आधा भाग जलेको छ भने उसलाई दिनुपर्ने पानीको मात्रा निम्न अनुसार हुन्छ। पानीको मात्रा = ४ x ५० x ५० = १०,००० मिलिलिटर यानेकि १० लिटर। यो भनेको जिउमा जम्मा सामान्यतया हुने रगतको मात्रको दुई गुणा धेरै पानी पोलेको २४ घण्टा भित्र दिइसक्नु पर्छ।
यो पानी विभिन्न तरिकाबाट दिन सकिन्छ। मुखबाट पिउने: जीवनजल, भातको माड, नरिवल पानी, दुध, आदि प्रशस्त पिउने नाकबाट नली राखेर: पिउन नसक्ने भए नाकबाट नली राखेर हिसाब गरे अनुसार परिपूर्ति गर्ने नशाबाट: सकिन्छ भने र धेरै पानी चाहिने भए नशाबाट सलाइनको रूपमा परिपूर्ति गर्ने पानीको मात्रा पुगे नपुगेको हेर्न पिसाबको मात्रा हेर्नुपर्छ। हरेक घण्टा कम्तीमा वजनको आधा मात्रामा पिसाब हुन जरुरी छ। ५० किलो तौल भएको मान्छेको हरेक घण्टा कम्तीमा २५ मिलिलिटर पिसाब हुनु जरुरी छ।
प्रकाशित मितिः २०८० भदौ ७ गते, बिहान १०ः४७ बजे

