दुर्गमको स्वास्थ्य सेवाः भौगोलिक विकटताले सधै पिल्सिने जनता?

विचार/ब्लग हेडलाइन्स

अनिता कुँवर

भौगोलिक विकटताले प्रभाव पारेका धेरै क्षेत्रमध्ये स्वास्थ्य क्षेत्र पनि एक हो । प्राकृतिक रुपमै भूगोलले सिर्जना गरेको उखडबखडले समग्र देशका नागरिकको स्वास्थ्य सेवाप्रति चुनौति खडा गरिदिएको छ । सहज स्वास्थ्यपोचारमा उपभोगको बाधक बनेको छ । नेपालको पहाडी तथा हिमाली भेग विशेषत् भौगोलिक रुपमा कठिन बनिदिदाँ बिरामीको उपचारमा अनेक बाधा र व्यवधान सिर्जना भएको छ ।

नेपालको संविधानमा मौलिक हकको रुपमा स्वास्थ्यलाई अंगिकार गरिएको छ । तर यसरी स्वीकार गरिदाँ पनि राज्यले यसमा विशेष पहलकदमी ल्याउन सकेको छैन । मौलिक हकमा उल्लेख भएका यस्ता विषयवस्तु छन् जो स्वास्थ्यका लागि अनिवार्य आवश्कीय सर्त हुन् ।
नेपालको वर्तमान विकटको स्वास्थ्य सेवाको केही मात्रै उदाहरणलाई हेरे मात्रै पुग्छ । सुत्केरी बेथाले च्यापिएकी एउटी महिला सहज उपचारको अभावमा मृत्युवरण गर्न परेको तितो यथार्थता हामीमाझ पटक पटक प्रकट भएको देखिन्छ । बाटो अफठ्यारो छ जसका कारण हेलिकोप्टरको सहारा लिन बाध्य बन्नुपर्ने अवस्था छ । यसका आफ्नै कठिनाई छन् । दुर्गमका नागरिक उपचारमात्रै नभएर उचित स्वास्थ्य परामर्शबाट समेत विमुख छन् ।


समयमै औषधी पृर्याउन नसक्नु, पर्याप्त र काम गर्ने मेडिकल उपकरणको जोहो गर्न नसक्नु, स्वास्थ्यकर्मीलाई उचित परिचालन गर्न नसक्नुजस्ता कारणले दुर्गम क्षेत्रको स्वास्थ्यको विषय सधै पछाडी परिरहेको छ ।
एउटा यथार्थ के पनि हो भने सरकारले तय गरेका नीति, नियमहरु केही अंशमा भौगोलिक विकटताले निष्फल भएका छन् तर यसको बहाना बनाउँदैं उम्कने छुट भने राज्यलाई छैन । आजपनि एउटा सामान्य औषधीको लागि घण्टौं हिँडेर स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने आम नेपालीको बाध्यता रहेको छ । स्थानीय सरकारले स्थापना गरेका स्वास्थ्य शाखाहरुको प्रभावकारी कार्यसम्पादन यसमा हुनु अति जरुरी छ ।

“हामी विगत लामो समयदेखि भौगोलिक विकटतालाई स्वास्थ्य सेवाको विस्तारमा प्रमुख उल्झनको रुपमा लिदैं आइरहेका छौं । तर यसलाई कारकको रुपमा देखाएर जनताप्रतिको उत्तरदायित्वबाट पन्छिने छुट कसैलाई छैन ।”


समाचारमा हामी दैनिकजसो दुर्घटना हुदाँ “बाटोमा लैजादा गर्दा घाइते तथा बिरामीको मृत्यु” भनेर सुनिरहेका हुन्छौं । यो पनि ठाउँ ठाउँमा स्वास्थ्य संस्था स्थापना नहुनु र तीनिहरुको स्तरउन्नतिमा चासो नदिनुको परिणाम नै हो ।
निजी क्षेत्रबाट स्थापित धेरैजसो अस्पताल शहरकेन्द्रित हुदाँ विकट भेगका जनता धेरै खर्चेर उपचारका लागि शहरसम्मै पुग्नुपर्ने बाध्यता छ । स्वास्थ्यजस्तो संवेदनशिल विषयमा निजी क्षेत्रले व्यवसायीक भावभन्दा सेवा भावले गाउँकेन्द्रीत अस्पताल स्थापनामा प्राथमिकता दिन सके अवश्य स्वास्थ्य क्षेत्र धेरै राम्रो हुने देखिन्छ । खासगरी विकट भेगका जनताले सुगमको जस्तो स्वास्थ्य सेवा लिन सक्ने वातावरण बन्ने देखिन्छ । आज मानिस विशेषत् राम्रो उपचारकै खोजिमा बसाइँ सरी शहर पलायन हुने क्रम समेत बढेर गएको छ । यो उचित र गुणस्तरीय स्वासथ्य सेवाकै खातिर हो । गाउँ रित्तिदैं जानु र शहर भरिदैं जानुमा यो पनि प्रमुख कारण हो ।

अहिले नियाँलेर हेर्दा दुर्गम क्षेत्रमा स्वास्थ्यका सूचकहरु त्यति राम्रो भएको देखिदैंन । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले थुप्रै बजेट स्वास्थ्य सेवाको लागि खन्याएपनि त्यसको कति प्रभावकारीता छ भने सहि ढंगले उचित मुल्यांकनको समेत जरुर आवश्यकता भैसकेको छ । नेपाली जनताको नाममा अनावश्यक पैसा खर्च गर्ने तर परिणाम अपेक्षित भएन भने त्यसको क्षति समग्र देशले भोग्नुपर्छ । यसमा सम्बन्धित पक्ष झन् बढी जिम्मेवार र सचेत हुनु आवश्यक छ । हाल नेपालमा थुप्रै संस्था स्वास्थ्य सम्बन्धी कार्यक्रम लिएर विकट भेगसम्मै हिँडेको देखिन्छ तर ती सोचे अनरुप जनताको स्वास्थ्य माथी उकास्न कति सफल भए ? परिणाममा खोज्नुपर्छ, प्रतिवेदनमा होइन् ।
नेपालमा धेरैजसो हामीले सुनिरहेका छौं—विकटमा स्वास्थ्यकर्मी जानै मान्दैनन् गएपनि सरुवा गराइहाल्छन् । यस्तो गैरजिम्मेवार र अव्यवस्थापकीय कुरामा सरकारले अबिलम्ब तदारुकता देखाउनुपर्छ । स्वास्थ्यकर्मीलाई थप सुविधा दिन कन्जुस्याइँ गर्नु हुँदैन तर जनताको स्वास्थ्यमा तलमाथी गर्ने गरी अटेरी स्वीकार्य भने हुनु हुँदैन । त्ससका लागि कारबाहिको डण्डा चलाउन सरकार तयार   हुनुपर्छ ।


हामी विगत लामो समयदेखि भौगोलिक विकटतालाई स्वास्थ्य सेवाको विस्तारमा प्रमुख उल्झनको रुपमा लिदैं आइरहेका छौं । तर यसलाई कारकको रुपमा देखाएर जनताप्रतिको उत्तरदायित्वबाट पन्छिने छुट कसैलाई छैन । बरु अनेक विकल्पको छनौट गर्दे दुर्गमका जनतासमक्ष स्वास्थ्य सेवालाई पृर्याउन हरसम्भव पहल सबैतिरबाट सहि ढंगले गर्नु आवश्यक छ ।

प्रकाशित मितिः २०७९ भाद्र ३१ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *