पश्चिम नेपालका थारू समुदायमा मात्र देखिएको सिकलसेल रोगको रोकथामका लागि रगत जाँचेर मात्र विवाह कुण्डली मिलाउन चिकित्सकहरूले थारू समुदायलाई सुझाव दिएका छन्।
सिकलसेलबाट सन्तानलाई बचाउन अनिवार्य रूपमा रगत जाँच गरेर मात्र विवाह कुण्डली मिलाउन आग्रह गरिएको सिकलसेल रोग विशेषज्ञ डा. राजन पाण्डेले बताउनुभयो। उहाँले थारू समुदायका लागि विवाह कुण्डली नै तयार पारेर बाँकेका गाउँगाउँमा वितरण गरिएको जनाउँदै सोहीबमोजिम गरे मात्रै सिकलसेलबाट भावी पुस्तालाई जोगाउन सकिने बताउनुभयो।
डा. पाण्डेले तयार गर्नुभएको विवाह कुण्डलीमा सिकलसेलका बिरामी-विरामीका बीचमा विवाह गर्ने नमिल्ने उल्लेख गरिएको छ। पचास प्रतिशत बिरामी र पचास प्रतिशत वाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ। यस्तै २५ प्रतिशत सामान्य २५ प्रतिशत बिरामी र ५० प्रतिशत वाहकका बीचमा विवाह गर्दा पनि सोच विचार गर्नुपर्ने सो कुण्डलीमा भनिएको छ।
चिकित्सकले तयार पारेको उक्त कुण्डलीमा वाहकवाहक, पचास प्रतिशत सामान्य र पचास प्रतिशत वाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख गरिएको छ।
अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘वाहक’ भनिएको छ। ‘अहिलेको पुस्तामा रोग देखिएको छैन तर उसका सन्तानमा रोग देखिन सक्नेलाई वाहक भन्ने गरिएको छ,’ डा. पाण्डेले भन्नुभयो, बिरामी भनेको त लक्षण देखिएको भइहाल्यो। विवाह गर्दा चिना हेर्ने गरिन्छ। थारू समुदायमा भने रगत जाँच गर्नुपर्ने भएको छ।
स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बिरामी र वाहक पत्ता लगाएर अहिले उनीहरूलाई विवाह कुण्डलीबारे जानकारी दिने काम भइरहेको बताउनुभयो। थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलका नौ जना बिरामीले भेरी अस्पतालबाट औषधि खाइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
सिकलसेल रोग विशेषज्ञ डा. पाण्डेका अनुसार पश्चिमका विभिन्न जिल्लामा तीन हजार ८०३ जनाले नियमित औषधि खाइरहेका छन्। सिकलसेलको रोकथाम भनेकै पूर्वतयारी भएकाले रगत जाँच गरेर मात्र विवाह गर्दा सो रोग नियन्त्रण गर्न सकिनेछ।
हाल बाँकेको राप्तीसोनारी गाउँपालिकामा सिकलसेलको परीक्षण गरेर विरामी पत्ता लगाउने अभियान सञ्चालन गरिएको छ। सो अभियानअन्तर्गत हालसम्म २६१ जनाको रगत परिक्षण गर्दा ३७ जनामा सिकलसेल भेटिएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बताउनुभयो।
विवाहका लागि रगतको कुण्डली मिलाउन भन्दै स्वास्थ्य कार्यालय दाङले जारी गरेको सूचना

यो समाचार गोरखापत्रका लागि सिराज खानले लेख्नुभएको हो l

