डा. अनिल भन्छन्ः ‘मिर्गाैलाहरु शरीरको आन्तरिक वातावरणका व्यवस्थापक हुन्’

अन्तर्वार्ता हेडलाइन्स

डा.अनिल बराल
डा. अनिल बराल वीर अस्पताल काठमाण्डौंमा कार्यरत छन् । उनी सामाजिक संजालमार्फत स्वास्थ्य सचेतना जगाउने काममा पनि उत्तिकै सक्रिय छन् । उनले मिर्गाैलाबारे फेसबुक पेजमा राखेको सामाग्रीलाई हामीले यहाँ प्रश्नोत्तर शैलीमै अन्तवार्ताका रुपमा प्रस्तुत गरेका छौं।

१) खासमा मिर्गाैलाले गर्ने काम के हो ?
सामान्य बुझाइमा मिर्गाैलालाई फोहोर फाल्ने अंगको रूपमा बुझिन्छ । तर त्यो आंशिक सत्य मात्र हो । वास्तवमा मिर्गाैलाहरु शरीरको आन्तरिक वातावरणका व्यवस्थापक हुन्। हुनुपर्ने भन्दा बढि भएका कुराहरू फाल्नु र अपुग भएका कुराहरू जोगाउनु यसका धर्म हुन्।

२) शरीररमा तत्वहरू बढी र कम कसरी हुन्छन् ?
मुख्यतः खानाबाट हुने हो, धेरै खाए धेरै, थोरै खाए कम । सिधा रुपमा भन्नुपर्दा दैनिक शरीरको कार्य सम्पादनका क्रममा मांशपेशी लगायतका कोषहरूको मेटाबोलिजम्बाट विभिन्न पदार्थ उत्पादन हुन्छन् । ति सबै यदि पानीमा घुल्न सक्ने छन् भने त्यसको व्यवस्थापन मिर्गौलाले गर्छन् । शरीरमा लवणहरूको मात्रा, अम्ल र एसिडको मात्रा, पानीको मात्रा नियमन गर्ने काम मिर्गौलाको हो । ताकी रक्तचाप नियन्त्रणमा रहोस् । रक्तकोशहरु नफुटुन्, मुटु चौबिसै घण्टा चलोस्, दिमाग, कलेजो, फोक्शो, पाचन प्रणाली, ग्रन्थिहरूले सहि तवरले काम गर्ने वातावरण बनोस् ।

३) मिर्गाैलाले नियमन बाहेक अरु केहि पनि गर्छन् त?
गर्छन् नि । रगत बनाउने हर्मोनको मुख्य उत्पादक मिर्गाैला हुन् । शरीरमा भिटामिन डि को कार्यक्षमता बढाएर, हड्डी, रक्तनली, स्वस्थ राख्ने जिम्मा पनि यिनैको हो ।

४) यतिका काम कसरी गर्छन् त मिर्गाैलाले ?
दैनिक १८० लिटर रगत मिर्गाैलाले छान्ने गर्छन् । १७८ लिटर त पुनः सोसेर फिर्ता लिन्छन् र लगभग दुई लिटर पिसाबको माध्यमबाट बाहिर फाल्छन् । शरीरको प्रति ग्राम तौल बराबर सबभन्दा बढी रक्तप्रवाह मिर्गाैलामै हुन्छ । धेरै अंगहरू एउटा भए पुग्ने शरीरमा दुई मिर्गाैला चाहिएको पनि यहि भएर हो । मिर्गाैलाहरु हामीहरुले सोचेभन्दा निक्कै प्रतिभावान् हुन्छन् ।

प्रकाशित मितिः २०८२ माघ २ गते, दिउँसो ३ः२१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *