हेमन्त गिरीको कविता- छोराछोरी बोल्दैनन् !

साहित्य

हेमन्त गिरी

रिसाएका हैनन्
तर
बोल्दैनन् !

“छोरा,
अब त बसे पनि हुँदैन र आफ्नै देश ?
नगए हुँदैन र पराइको परदेश ?
माटो आफ्नै, बाटो आफ्नै
हावा आफ्नै, पानी आफ्नै
अब माया मार् बाबु, बिरानो मुलुकलाई !”
सुनी मात्र रहन्छ,
छोरो बोल्दैन !

“बुहारी,
तिमी पनि त छोरी हौ
सम्झाऊ न यसलाई
तिमीले भने मान्छ कि
घरको मायाले तान्छ कि !”
पल्याक पुलुक छोरोलाई
हेरी मात्र रहन्छिन्,
बुहारी पनि बोल्दिनन् !

“ईमानले आर्जेको
आटो मीठो हुन्छ छोरी !
ठुला घरमा
साना मनहरु बस्छन् !
दुई छाक खुवाउने

चार प्रहर माया गर्ने मान्छे रोज् ,
ठूला घरे नखोज् !”
टोलाइ मात्र रहन्छे,
छोरी पनि बोल्दिन !

नाती नातिना उतै जन्मे,
हाम्रो भाषा बुझ्दैनन् ,
उनीहरु के बोलून् ?!

बा-आमालाई हेरचाह गर्न भनी
सुसारे राखिदिएका छन् !
हत्तपत्त उही अघि सरेर बोल्छ-
“म छु नि मालिक,
किन चिन्ता गर्नुहुन्छ !?”


आखिर पैसा नै त बोल्दो रहेछ !! मलाई थाहा छ,
उसको घरमा पनि
उसका छोराछोरीहरु बोल्दैनन् !

रिसाएर हैन,
बोल्ने अर्कैथोक छ भनेर होला,
आजकलका छोराछोरीहरु बोल्दैनन् !!

प्रकाशित मिति: २०८२ पौष ३० गते, बिहान ११:५५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *