कविता- “सेतो एप्रोनभित्र लुकेको कथा”

साहित्य हेडलाइन्स

विप्लवी सापकोटा

जब सहर निदाउँछ,
अस्पतालको झ्यालमा
एक्लो बत्ती अझै बलिरहन्छ—
त्यही उज्यालोमा
तिमी उभिएकी हुन्छौ, नर्स।

घरमा आमा कुर्दै हुनुहुन्छ,
बाबाको आँखामा चिन्ता छ,
छोराछोरीले
“आमा कहिले आउनुहुन्छ?” भन्छन्—
तर तिमी
अरूको आमा बनेर
वार्डमा बसेकी हुन्छौ।

कसैले सुन्दैन
तिम्रो थकित सास,
कसैले देख्दैन
तिम्रो आँसु,
किनकि तिमीलाई
रोइनु भन्दा पहिले
अरूलाई बचाउनु पर्छ।

मृत्युसँग संघर्ष गर्दै
जीवन सम्हाल्ने हातहरू,
रगत, पीडा र आँसुले भिजेका
तर कहिल्यै थाकेको नदेखिने मन,
त्यही मनभित्र
कति पटक
तिमी आफैं टुटेकी हुन्छौ।

कसैले धन्यवाद भन्दैन,
कसैले सम्झँदैन,
तर जब जीवन फर्किन्छ—
त्यही जीवनको पछाडि
तिम्रो मौन बलिदान हुन्छ।

तिमी डाक्टर होइनौ भनिन्छ,
तर
डाक्टरको आदेश भन्दा अघि
तिमी नै बिरामीको आशा हौ।
तिमी भगवान होइनौ,
तर
भगवान ढिलो हुँदा
पहिलो पुग्ने तिमी हौ।

आज नेपाली नर्स दिवसमा
संसारले बुझोस्—
सेतो एप्रोन केवल पोशाक होइन,
यो त
त्याग, पीडा र प्रेमले बनेको
जीवनको कवच हो।

नर्स तिमी होइनौ मात्र,
नर्स त
आँसुमा पनि मुस्कान खोज्ने
मानवताको नाम हो।

प्रकाशित मिति: २०८२ माघ १७ गते, दिउँसो ४:५९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *