डा. कृपेश धिताल
आज म ड्युटीमा थिएँ—एक निजी अस्पतालमा।
एक सानो बच्चा भर्ना भएको थियो।
अत्यन्तै कम तौल, समयभन्दा अघि जन्मिएको,
र मेरो ड्युटीको क्रममा उसलाई बारम्बार झट्का (seizure) आइरहेको थियो।
कन्सल्टेन्ट सरसँगै हामी अभिभावकलाई काउन्सेलिङ गरिरहेका थियौँ। उहाँहरूको आँखामा डर थियो, आवाजमा असहायता। कुरा गर्दै जाँदा थाहा भयो—आर्थिक अवस्था अत्यन्तै कमजोर। सरकारी अस्पतालमा बेड नपाएर मात्र निजी अस्पतालमा रेफर गरिएको रहेछ। म सरकारी अस्पतालमा पनि काम गर्छु। आजै कुनै बेड खाली छ कि भनेर प्रयास गरेँ।
भाग्यवश, एक मात्र बेड बाँकी थियो। मैले अभिभावकलाई भनेँ— “उपचार उस्तै हुन्छ, सरकारी अस्पतालमै जानु राम्रो हुन्छ।” उहाँहरूको पनि त्यही इच्छा थियो।
सबै कागजात तयार भए। अब बिल तिर्ने समय आयो।
उहाँहरूसँग पूरा रकम थिएन। मैले कन्सल्टेन्ट सर र प्रशासनसँग कुरा गरेँ। उनीहरू पनि अत्यन्तै उदार—राम्रो छुट दिइयो। तर अझै केही रकम कम थियो।
त्यत्तिकैमा सरकारी अस्पतालबाट फोन आयो— “बच्चा किन आइपुगेन? एउटा मात्र बेड बाँकी छ, चाँडो ल्याउनुहोस्।” मैले सबै अवस्था बुझाएँ र ३० मिनेट मात्र कुर्न अनुरोध गरेँ।
फेरि प्रशासनसँग कुरा गरेँ— “बाँकी रकम पछि दिन्छौँ,
अहिले बच्चालाई जान दिनुहोस्।” उनीहरूले फेरि पनि मानवता देखाए। केही औपचारिकतापछि हामी निस्कियौँ।एम्बुलेन्स आयो। बच्चा अक्सिजनमा थियो। नर्सले बच्चालाई समातिरहेकी थिइन्।
त्यसैबेला उनले भनिन्— “Doctor, एकछिन बच्चा समाइदिनुहोस्।” मैले बच्चा समाए । उनी एम्बुलेन्सबाट बाहिर निस्किइन्। मलाई लाग्यो, केही बिर्सिनु भयो होला। तर उनी फर्किँदा,हातमा पैसा थियो। उनले एम्बुलेन्स ड्राइभरलाई
१००० रुपैयाँ दिँदै भनिन्— “उनिहरुले सायद भाडा तिर्न सक्दैनन्, यो लिनुहोस्।”
त्यो क्षण… म भित्रैदेखि लज्जित भएँ। काश, मसँग पनि त्यस्तो विशाल मन हुन्थ्यो। हामी सरकारी अस्पतालको इमर्जेन्सी पुग्यौँ। डाक्टरलाई सबै बुझायौँ। रिफरल नोट हस्तान्तरण गर्यौँ।
सबै ठीक थियो। फर्किन लाग्दा फेरि नर्स फेरि अगाडि आइन्। आफूसँग बाँकी रहेको करिब ४००० रुपैयाँ
बच्चाकी आमाको हातमा राख्दै भनिन्—“यहाँ कागजपत्र, औषधि, साना–साना खर्च लाग्न सक्छ।
राख्नुहोस्।”
त्यो क्षण… मेरो लागि अत्यन्तै विशेष बन्यो। त्यतिबेला मैले बुझेँ— कति दिन्छौँ भन्ने कुरा होइन, कसलाई दिन्छौँ र आफ्नै थोरैमा कति दिन्छौँ— त्यो नै महानता हो। ती नर्सको नाम मलाई थाहा छैन। तर आज, उहाँ मेरो जीवनको सबैभन्दा ठूलो पाठ हुनुहुन्छ। म केही गर्न सकिनँ— धन्यवाद बाहेक।
यही संसारमा अझै पनि यति धेरै दयालु मुटुहरू बाँकी छन्। हामी साँचो बनिरह्यौँ भने, बाटो आफैँ बन्छ।
प्रकाशित मिति: २०८२ पौष ३ गते दिउँसो १२:०५ बजे

