नेपाल स्वास्थ्य, सफा र शुद्ध पानी स्वस्थ जीवनका लागि नितान्त आवश्यक छ । दूषित पानीका कारण हुने बर्सेनि झाडापखालाबाट विश्वमा १८ लाखभन्दा बढी पाँच वर्षमुनिका बालबालिकाको मुत्यु हुने गर्दछ । यो सङ्ख्या भनेको प्रत्येक १५ सेकेण्डमा एक जना बालबालिकाको मृत्यु हुनु हो । नेपालमा पनि दूषित खानेपानीका कारण बर्सेनि लाखौं बालबालिका बिरामी पर्ने गर्दछन् र झाडापखालाबाट करिव १३ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । पानी तरल रुपमा रहने एउटा असल घोलक भएको हँुदा यो बग्दै जाने ठाउँ र त्यसका आसपासमा रहेका विभिन्न पदार्थहरु यसमा घोलिदैं जान्छन् । त्यसैले प्रकृतिमा कुनै पनि पदार्थ नघोलिएको पानी विरलै पाइन्छ । हामीले पिउने पानीमा पनि विभिन्न पदार्थ मिसिएका हुन्छन् ।
पानी मुख्यतयाः दुई तरिकाबाट प्रदूषित हुन्छ: (क) मानवीय क्रियाकलाप र (ख) प्राकृतिक । खुला दिसापिसाव, कलकारखाना, अव्यवस्थित ढल र खेतीमा जथाभावी विषादी र रासायनिक मलको प्रयोग पानीका स्रोतहरु प्रदूषित पार्ने मानवीय कारणहरु हुन् भने प्राकृतिक तवरले नै पानीमा माटो, बालुवा, पात पतिङ्गर जस्ता पदार्थहरु मिसिनु वा जमीनमुनि पाइने आर्सेनिक र आइरनजस्ता रासायनिक पदार्थहरु भूमिगत जलमा मिसिनु पानी प्रदूषित हुनुका प्राकृतिक कारणहरु हुन् ।
मानिसको शरीरलाई हानिकारक नहुने गरी विभिन्न तत्वहरु मिसिएको पानी नै पिउनयोग्य गुणस्तरीय पानी हो । पानीमा के कति तत्वहरु भएसम्म त्यसलाई गुणस्तरीय मान्ने भनेर निर्धारण गर्न नेपाल सरकारले राष्ट्रिय खानेपानीे गुणस्तर मापदण्ड (२०६२) लागू गरेको छ । यसमा भौतिक गुण, अधिकतम रासायनिक पदार्थ र सूक्ष्म जीवाणुहरुको सीमा तोकिएका छन् । साधारणतयाः शुद्ध पानीमा निम्नानुसारका गुणहरु हुनुपर्छः
-हेर्नमा सफा र सङ्लो ।
-हानिकारक रसायन (जस्तैः आर्सेनिक) नभएको ।
-सूक्ष्म जीवाणुहरु नभएको ।
(FHI360 को सहयोगमा)
प्रकाशित मितिः २०८१ पौष २५ गते, दिउँसो ३ः५९ बजे

