डा. पुष्कर काफ्ले
नेपाल एक विकाशन्मुख मुलुक हो । त्यसैले सबै क्षेत्रमा जस्तै शिक्षामा पनि त्यसै अनुरुपको क्रमिक विकास हुदैं गएको देखिन्छ । यसकै कारणले नेपालमा समान रुपमा विकासका अवयहरु संचालन हुन सकेका छैनन् । शिक्षा, स्वास्थ्य, विकास, रोजगारी जस्ता शहरमा मात्र केन्द्रित हुदाँ गाउँका दुरदराज र विपन्न वर्गमा सहि किसिमले विकास र चेतनास्तर उन्नत बन्न सकेको देखिदैंन । यसमा राज्यको दृष्टि नपुग्नु देशकै लागि बिडम्बना मान्न सकिन्छ । जसको फलस्वरुप समाजमा एलिट बर्गले तिनै सुविधाबाट विमुख बनिरहेका व्यक्तिको मनोभावनासँग खेल्ने मौका पाइरहेका छन् । यस्ता विचौलिया ग्रामिण क्षेत्रमा सलबलाउनुलाई देशको स्वास्थ्य क्षेत्रको बिडम्बनाका रुपमा लिन सकिन्छ ।
सामान्य जानकारी अझै धेरै हानिकारक हुन्छ भन्ने उखान जस्तै अल्पज्ञानले पनि समस्या निम्त्याउन सक्छ । यो विषय आफैमा वृहत भएकाले यसमा संग्लन हुने जनशक्तिले ज्ञान र सीपको दायरालाई बढाउनुपर्ने नै हुन्छ तर नेपालमा यसलाई व्यवसायीक रुपमा अगाल्दा धेरैले दन्त उपचार लिदाँ दुख पाएको समेत हामीले देख्दै आएका छौं यसर्थ सिमित ज्ञानलाई तिखार्दे अगाडी बढ्न आवश्यक छ । गाउँका कुना काप्चामा पुगि डाक्टर पद पाएकाहरु त्यहाँ आउन नखोज्ने भनी ब्यालेकमेल गर्ने र उपचारमा गलत पद्धति समेत केहीले अपनाउँदैं आएका छन् । सिमित ज्ञान सिपकै भरमा हामी जानकार व्यक्तिले उपचार नदिए कसले यी गाउँले दुरदराजमा रहेका व्यक्तिलाई उपचार दिने भन्दै छाति चौडा बनाएर सेवामा तप्परता देखाउनु राज्यकै लागि बिडम्बनाको विषय हो ।
दन्त स्वास्थ्य क्षेत्रमा नेपालमा ५ तहका शिक्षा पद्धति अबलम्बन भएको पाइन्छ । जसमा ६ महिने दन्त चियर डाइड असिस्टेन्ट, जुन प्राइभेट हस्पिटलले ६ महिनाको परिक्षणपछि प्रमाणपत्र प्रदान गर्ने गर्दछन् । त्यस्तै १५ महिने डेण्टल टेक्निसियन र ३ वर्षे दन्त सहायकडेन्टल हाइजिनिष्ट जसमा १५ महिने फेजआउट भएको छ । जुन सिटिइभिटी मातहतका प्राविधिक शिक्षण विधि अन्तर्गत पर्दछन् ।
त्यस्तै स्नातक तहको ५ वर्ष ६ महिना जुन प्लस टु बायोलोजि पृष्ठभूमिबाट आएका स्नातक तहको शिक्षण विधि जसमा त्रिभूवन विश्वविधालय र काठमाण्डौं विश्वविधालय मातहतमा रही दन्त चिकित्सकको रुपमा अध्ययन गराइन्छ । त्यस्तै सिटिइभिटी अन्तर्गत रहि ३ वर्षे प्रमाणपत्र तहको अध्ययन पश्चात प्लस टु सरहको मान्यता प्राप्त गरी आफू शैक्षिक योग्यताको आधारमा ३ वर्ष पश्चात स्नातक तहको अध्ययन गर्न त्रिभूवन विश्वविधालय मातहतका शिक्षण संस्थामा मात्र अध्ययन गर्न सकिन्छ । बिडिएस, अर्थात व्याचलर इन डेन्टल सर्जरी कोर्समा पछि ३ वर्षे एमडिएस, मास्र्टस इन डेन्टल सर्जरीको अध्ययन जुन विशेषज्ञ डेन्टल डाक्टरको रुपमा सेवा प्रदान गर्ने शिक्षण विधि हो ।
नेपाल बाहेक अन्य देशमा ती जनशक्तिको लागि आफ्नै किसिमका कोर्स पाठ्यक्रम तयार गरी स्वीकृत मापदण्डमा रही कार्यविभाजन गरेको पाइन्छ । हुन त नेपालमा पनि यसका आफ्नै दायरा र मापदण्ड नबनेका होइनन् तर राज्यको उचित निगरानी नहुनु र नेपाली जनमानसमा चेतनाको पहुँच नपुग्नु आदी इत्यादी कारणले गर्दा कुन जनशक्तिले कहाँ कसरी सेवा दिने अन्योलता रहेको पाइन्छ । नेपालमा यी विभिन्न तहबीच आपसि समझदारी हुन नपाउँदा बिरामीले पाउने सेवा पद्धतिमा न्यायोचित सेवा पुग्न सकेको देखिदैंन । दन्त उपचार नेपालको सहरी क्षेत्रमा रहेका सचेत र जानकार व्यक्तिले पाउँदै आएका छन् । ग्रामिण क्षेत्रमा अन्य प्रमाणपत्र तह भन्दा तल्लो जनशक्तिबाट गरिने डाक्टरी उपचार लिन बाध्यता रहेको पाइन्छ । जसले आम मानिसले मुख तथा दन्त उपचारबाट अपेक्षित लाभ लिन सकेका छैनन् ।
विभिन्न अर्ध जनशक्क्तिबाट नेपालका दाँत तथा मुखको उपचार हुने भएकाले धेरैको उपचारमा तौर तरीका नमिलेको देखिन्छ । सहि तवरले ज्ञानको उपयोग गर्दे दाँतको उपचार केही लामो अवधीको समेत हुने गर्दछ त्यसैले पनि मानिसहरुमा कतिपय अवस्थामा झन्झटिले समेत भएको सुनिदैं आएको छ र धेरैले भन्नुहुन्छ । आम जनमानसमा दाँत जति उपचार गरेपनि निको नहुने, पटक पटक जानुपर्ने, औषधीको अधिक प्रयोग र त्यस एउटा दाँतका लागि गरिने हजारौंको उपचारबाट आजित बिरामी दिक्क भएर दाँत निकालिदिनुस्, भरेको सिमेन्ट पनि २ दिनमै निस्कने, जति गर्दा पनि दुख्न नछोड्ने जस्ता समस्याबाट आजित भएपछि दाँत नै निकाल्ने अन्तिम विकल्पमा पुग्ने गरेको देखिन्छ । तर यो गम्भिर विषयमा सरोकार पक्ष बिरामी आफै पनि सजग हुनुपर्छ । जसको फलस्वरुप तिनमा दाँतको उपचार भनेको निकाल्नुनै हो भन्ने एक किसिमको ढुक्कको विकल्प देखा पर्दे जाने देखिन्छ तर सहि तवरले बुझ्ने हो भने बिरामीले उचित परामर्श र उपचार नपाउनाले यो परिस्थिति सिर्जना भएको हो ।
प्रकृतिले मानिसलाई दुइपटकसम्म निशुल्क दाँत दिने र तेस्रो विकल्पमा मात्र खर्च गर्नुपर्ने अवस्थामा पुर्याउने हुन्छ । त्यसैले दुधे दाँतको रुपमा आएका प्रथम दाँत बच्चा जन्मेको ६ –७ महिनादेखि १२–१३ वर्षसम्म रहने र त्यसले दोस्रो पटक आउने दाँतका लागि सहज बाटो देखाउने कार्य गर्दछन् । त्यसैले ६ महिनामा हामीले गर्ने भात खुवाई पनि त्यसकै मान्यता हुनसक्छ । तिनका आफ्नै महत्व र विशेषता रहेको छ । दाँत आउने र झर्ने आफ्नै समय हुन्छ जसलाई नबुझ्दाँ हामी समस्याको भूमरिमा पर्न बाध्य हुन्छौं । त्यसपछि साटिएर आएका स्थायी दाँत जुन हाम्रो जिवनपर्यन्त रहने हुन्छन् जसका मुख स्वास्थ्य क्षेत्रमा प्रमुख भूमिका रहेको हुन्छ । तिनका बनावट कार्य फरकफरक हुने हुनाले त्यसै बमोजिम प्रकृतिले सजावट देखि चपाउने कार्य सम्मको लागि सृजना गरिएका छन् जुन हामिले उचित परामर्शदाता (दन्त चिकित्सक) बाट मात्र पाउनेछौं । त्यसैले नेपाल मेडिकल काउन्सिलबाट मान्यताप्राप्त दन्त चिकित्सकहरुबाट मात्र उपचार गराई गुणस्तरीय र सहि किसिमको सेवा लिन सबै सचेत हुन जरुरी छ ।
प्रकाशित मितिः २०८२ बैशाख २५ गते, राती ११ः२२ बजे

