रामपुरको बर्दाकोटका नागरिकलाई अब गाउँमै ‘स्वास्थ्य सेवा’

स्वास्थ्य समाचार


पाल्पा, रामपुर नगरपालिका वडा नं. १ पाल्पामा नागरिकमा स्वास्थ्य सेवा पहुँच बृद्धिका लागि स्वास्थ्य सेवा विस्तार कार्यक्रमको शुभारम्भ गरिएको छ । स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका नागरिकहरुको सुविधाका लागि वडा नं. १ को बर्दाकोटमा स्वास्थ्य सेवा विस्तार गरिएको हो । स्वास्थ्य संस्थासम्म पुग्न धेरै समय लाग्ने भएकाले बर्दाकोट गाँउमा अब हरेक महिनाको २ दिन गाँउमै स्वास्थ्यकर्मी सहितको टोलीले स्वास्थ्य सेवा दिने भएको छ ।

बर्दाकोटमा सेवाको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्वास्थ्य मानवीय स्वास्थ्य जीवनको महत्वपूर्ण विषय भएको भन्दै नगरबासीको स्वास्थ्य सेवा र सुविधाका लागि रामपुर नगरपालिका सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सिमित स्रोत र साधनका विच पनि नागरिकलाई सहज र सरल रुपमा सेवा प्रदान गर्दै आई रहेको उल्लेख गर्नुभयो । स्वास्थ्य सेवा लिन पाउने नागरिकको नैसर्गिक अधिकारको सुनिश्चितताका लागि स्वास्थ्य संस्थाबाट टाढा रहेको बर्दाकोट गाँउमा सेवा विस्तार हुनु नागरिकको लागि सुखद पक्ष रहेको बताउनुभयो । साथै महिनाको २ दिन दिईने सेवालाई छिट्टै प्रत्येक दिन नियमित सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले ग्रामिण क्षेत्रका जनतालाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले विस्तार गरिएको सेवाबाट स्वास्थ्य लाभ लिन अनुरोध गर्नुभयो । सामान्य जाँच तथा उपचारका लागि पनि धेरै समय खर्चेर जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै वडा कार्यालयले विस्तार गरेको स्वास्थ्य सेवा कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले वडा कार्यालय र आफु संधै वडाबासीको आवश्यकताको विषयमा गम्भिर रहेको भन्दै गाउँमा बसेका ज्येष्ठ नागरिक संगै अन्य वडाबासीको सुविधाका लागि गाउँ गाउँमा स्वास्थ्य सेवा विस्तार गरिएको बताउनुभयो । स्वास्थ्य सेवा लिन जानका लागि समय खर्चिनु पर्ने र हिँडेर जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै सेवा सहजताका लागि गाउँमै मासिक २ दिन स्वास्थ्य जाँच तथा उपचार एवं सामान्य औषधि वितरण गरिने उहाँले बताउनुभयो । साथै उहाँले वडाको हरेक विकास र वडाबासीलाई सहज र सरल रुपमा सेवा दिन संधै तत्पर रहेको उल्लेख गर्नुभयो । वर्दाकोटमा भएको कार्यक्रममा समाजसेवि पुन बहादुर सारुले सामाजिक सुरक्षा भत्ता संगै स्वास्थ्य सेवा पनि घर आँगनमै प्रदान गरेकोमा धन्यवाद दिंदै सेवा लिन पाउँदा खुशी लागेको बताउनुभयो ।

प्रकाशित मितिः २०८१ मंसिर ११ गते, दिउँसो ३ः३७ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *