प्रदेश सरकार विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्न तयार छः मुख्यमन्त्री आचार्य

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा राजेश सम्भाजीराव पाण्डवको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेशमा देखा परेका स्वास्थ्य समस्याको निदान गर्न प्रदेश सरकार डब्लुएचओसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका हुन् ।

तथ्यांकको आधारमा लुम्बिनी प्रदेशमा बाल मृत्युदर, मातृ मृत्युदर, बालविवाह, कुपोषण, मानसिक रोग, नसर्ने रोग जस्ता स्वास्थ्य समस्या उच्च रहेको छ । मुख्य मन्त्री आचार्यले यी स्वास्थ्य समस्या निदानका लागि प्रदेश सरकारको एक्लो प्रयासले मात्र सम्भव नरहेको भन्दै डब्लुएचओको साथ सहयोग आवश्यक पर्ने बताए । उनले नेपाल र लुम्बिनीको स्वास्थ्य व्यवस्थामा डब्लुएचओले गरेको लगानीको समेत उच्च प्रशंसा गरे ।

सो अवसरमा डब्लुएचओका नेपाल प्रमुख डा पाण्डवले प्रदेश तहमा विशेष गरी स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य आपतकालीन तयारी, राष्ट्रिय खोप कार्यक्रम, र हात्तीपाइले रोग, कालाजार जस्ता नेग्लेक्टेड ट्रपिकल डिजिज लगायत गैर९संक्रामक र सरुवा रोगहरूलाई सम्बोधन गर्ने क्षेत्रहरूमा डब्लूएचओ काम गरिरहेको बताए । उनले लुम्बिनी प्रदेशको प्रमुख स्वास्थ्य प्राथमिकताहरूलाई सम्बोधन गर्न तथा सहयोग गर्न डब्लुएचओ प्रतिबद्ध रहेको दोहार्‍याए ।

प्रकाशित मितिः २०८१ मंसिर २० गते, बिहान ७ः२२ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *