नेपाल स्वास्थ्य डटकम,
नेकपा एमालेले आज एक प्रेस विज्ञप्ती निकाल्दै डेंगु रोगको सर्तकता, नियन्त्रण र उपचारमा सरकार चुकेको भन्दै ध्यानाकर्षण गराएको छ । पार्टीका प्रवत्ता तथा सचिव योगेश भट्टराइले एक विज्ञप्ती जारी गर्दे डेंगु रोगको नियन्त्रण र उपचारमा सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।
पढौं एमालेले निकालेको प्रेस विज्ञप्तीः
हाल देशव्यापी रुपमा फैलिएको डेंगु रोगको कारण उत्पन्न स्वास्थ्य प्रकोपका सम्बन्धमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । २०७९ साउनदेखि देखापरेको डेंगु रोगबाट पछिल्लो तथ्यांकअनुसार १७ हजार ५९४ जना प्रभावित भएका छन् भने स्वास्थ्य संस्थामा नआई घरमै रहेका विरामीहरुको संख्या योभन्दा निक्कै धेरै रहेको छ । डेंगुुबाट मृत्यु हुनेको संख्या २१ पुुगेको छ भने देशका ७५ जिल्लामा यो रोगका लक्षण फैलिएको छ । राजधानी काठमाडौंमा डेंगु आम मानिसमा फैलिएको छ । आम जनसमुुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ । यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्र्यो त्यसमा सरकार चुकेको छ । सरकारी संयन्त्र असफल भएको छ । साउन महिनामा नै व्यवस्थापिका संसदमा हाम्रो पार्टीका तर्फबाट माननीय सदस्यहरुले यस सवालमा ठोस योजना र कार्यक्रमसहित डेंगु रोगको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षण गरिएको थियो । स्वास्थ्य संस्थामा विरामीहरुका लागि बेड छैन । हजारौंको संख्यामा विरामीहरु स्वास्थ्य परिक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य छन् । स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएका कारण विरामीको उपचारमा समस्या उत्पन्न भएको छ । सिटामोल लगायत अतिआवश्यक औषधीको अभाव भएको छ । फेरि पनि सरकार परिणामहीन भएको छ । हाम्रो पार्टी डेंगु रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन गर्न, विरामीको पहिचान र परिक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न, तिनै तहका सरकारलगायत विभिन्न सरकारी/गैरसरकारी निकायका बीचमा समन्वयात्मक परिचालन गर्न, सिटामोल लगायतका औषधीको सहज उपलब्धताका लागि राज्यसँग माग गर्दछ । हाम्रो पार्टीका तहगत कमिटी तथा जनसंगठन र पार्टी सदस्यहरुलाई समेत डेंगु रोग नियन्त्रणमा योगदान गर्न आह्वान गर्दछ ।

प्रकाशित मितिः २०७९ असोज ५ गते, दिउँसो २ः०७ बजे

