नेपाल स्वास्थ्य डेस्क,

नेपालमा बायोमेडिकल इन्जिनियरिङ्गको विधाबारे आम रुपमा प्रकाशमा आएको धेरै समय भएको छैन । स्वास्थ्य क्षेत्रको एक महत्वपूर्ण विधा रहेको यस विषय मेडिकल उपकरणसँग सम्बन्धित रहेको छ । आधुनिक चिकित्सा प्रणालीमा मेडिकल उपकरणको योगदान धेरै छ । बिरामीको रोगको उपचारमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका निभाउने उपकरण वर्तमान स्वास्थ्य क्षेत्रमा मानव साधन जत्तिकै अत्यावश्यक भैसकेका छन् । यसै विषयमा नेपाल स्वास्थ्य डटकमले बायोमेडिकल इन्जिनियरिङ्गका क्षेत्रमा लामो समयदेखि काम गर्दे आइरहनु भएका ई. विकास श्रेष्ठसँग कुराकानी गरेको छ । उहाँले बायोमेडिकलसँग सम्बन्धित संस्था बिन तथा विफोनमा अध्यक्षको भूमिका समेत पूरा गर्नुभएको छ । मुम्बइको आइआइटी कलेजबाट छात्रवृत्तिमा बायोमेडिकल इन्जिनियरिङ्गमा स्नातकोत्तर पूरा गर्नुभएका श्रेष्ठले नेपाल आर्मी अस्पतालमा २ दशक बढी काम गर्नुभएको थियो । नेपाल इन्जिनियरिङ्ग एशोसियसनबाट ‘उत्कृष्ट उधमी पुरस्कार’ समेत प्राप्त गर्नुभएका उहाँ नेपालको पहिलो प्रोफेशनल बायोमेडिकल इन्जिनियरको रुपमा रहेको बताउनुहुन्छ । विगत २४ वर्षदेखि प्राध्यापनमा समेत सक्रिय इन्जिनियर श्रेष्ठसँग गरिएको संवाद ।
नेपालमा बायोमेडिकल इन्जिनियरिङ्गको विगत, वर्तमान र भविष्यको बारेमा संक्षेपमा के भन्न चाहनुहुन्छ?
नेपालमा विगतमा भन्दा यस विषयको क्षेत्र वर्तमान र भविष्यमा निकै राम्रो रहेको छ । नेपालको स्वास्थ्य क्षेत्रमा यसको माग उच्च रहेको छ । पहिला यसप्रकारको जनशक्तिको माग कम रहेपनि अहिले प्रविधिको विकाससँगै यसको दायरा फराकिलो बन्न पुगेको छ । खासगरी सुविधा सम्पन्न स्वास्थ्य पूर्वाधारको विकाससँगै सरकारी तथा निजी अस्पताल, नीजि क्षेत्रका स्वास्थ्य उपकरण आपूर्तिकर्ता, नवप्रवर्तन र अनुसन्धान भैरहेको क्षेत्रमा यसको माग राम्रो छ । यसले चिकिस्सकीय प्रविधिको समायोजन गर्ने भएकाले पनि यसको अस्तित्व हरबखत अति आवश्यक छ ।
तपाई यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?
म यस क्षेत्रमा वि.स. २०५० सालदेखि प्रवेश गरेको हो । बिई इलेक्ट्रोनिक्स विषयमा गरेपछि नेपाल आर्मी अस्पतालमा मेडिकल उपकरण सम्बन्धी काममा जोडिन पुगे । त्यतिबेला मेडिकल उपकरण सम्बन्धी काम गर्ने जनशक्ति नेपालमा न्यून रहेको थियो । त्यहाँ मेडिकल उपकरणको मर्मत, संम्भार लगायतका काममा जागिर गरिरहँदा मुम्बइको आइआइटी कलेजबाट छात्रवृत्तिमा बायोमेडिकल इन्जिनियरिङ्गमा स्नातकोत्तर पढ्ने अवसर पाएँ । सो अध्ययन पूरा गरीसकेपछि नेपालमा हालसम्म यहि विषयमा नै काम गरिरहेको छु ।
नेपालमा यस विषयसँग सम्बन्धी जनशक्तिको अवस्था कस्तो रहेको छ?
नेपालमा बायोमेडिकल इन्जिनियरिङ्गको क्षेत्र विस्तार हुँदैछ तर दक्ष जनशक्तिको अभाव छ । नेपालमा यस विषयको स्नातक तह पठनपाठन गराउने नीजि क्षेत्रको कलेज एउटामात्रै भएकाले यसबाट उत्पादन हुने जनशक्तिको संख्या कम छ । डिप्लोमा लेभलको जनशक्ति करिब त्यस्तै ३ वटा कलेजबाट उत्पादन भैरहेको छ । यहाँ अध्ययन पूरा गरेकाहरु विदेश जाने क्रम बढेकाले नेपालले यसलाई रोक्न सक्नुपर्छ ।
नेपालमा उपकरणको खरीद, व्यवस्थापन, प्रयोग र डिष्पोजको अवस्था कस्तो छ?
नेपालमा उपकरणको खरीद, व्यवस्थापन, प्रयोग र डिष्पोजको अवस्था चुनौतिपूर्ण देखिन्छ । यसमा बजेट अभावका साथै उपयुक्त नीतिको अभाव छ । मर्मत संम्भार र व्यवस्थापन प्रणाली कमजोर छ । उपकरण चलाउनको लागि उपयुक्त किसिमका तालीमको तारतम्य मिल्न सकेको छैन । डिष्पोजको उचित प्रक्रिया छैन । जसले वातावरण र स्वास्थ्यमा जोखिम निम्त्याउने जोखिम छ । बायोमेडिकलसँग सम्बन्धित जनशक्तिको उपकरणका हरेक सवालमा संग्लनता बढाउनु आवश्यक छ । साथै नीति, लगानी, तालीम र सुरक्षित डिष्पोज प्रणालीको ठोस नीति आवश्यक छ ।
सरकारी अस्पतालमा यस विधासँग सम्बन्धित जनशक्तिको अवस्था कस्तो छ?
अहिले आंशिक रुपमा यसको सरकारी अस्पतालमा दरबन्दी कायम हुन थालेको छ । तर सरकारले यसमा विशेष ध्यान दिदैं दरबन्दी बढाउँदै लैजानु आवश्यक छ । अहिले सरकारी सेवामा बिएमइटी र बायोमेडिकल इन्जिनियर एकदमै न्यून रहेको देखिन्छ ।
देशभित्र किन सरकारी विश्वविधालयले स्नातक तथा सो भन्दा माथी किन यस प्रकारको जनशक्ति उत्पादन गर्न चासो दिइरहेको छैन?
आइओईमा बायोमेडिकल इन्स्टुमेन्ट्रेशनको विषय इलेक्टिभको रुपमा रहेको करिब २४ वर्ष भएको छ । करिब ४ वर्ष अगाडी लागि तत्कालिन डिनले यस विषयको स्नातक तह अध्ययन सुरु गराउनको लागि एक विषय कार्य समितिको गठन गर्नुभएको थियो । सो समितिमा म पनि विषय विज्ञको रुपमा सदस्य नियुक्त भएको थिए । करिब ६ महिनाको अध्ययन अनुसन्धापश्चात् यस विषय टियूबाट पढाउन पाए सरकारी कलेजबाट दक्ष बायोमेडिकल इन्जिनियर उत्पादन गर्न सकिने प्रतिवेदन हाम्रो समितिले पेश गरेको थियो । डिनले पनि यस विषयको पठनपाठन तत्काल गर्ने भनेको ३ वर्ष बितिसकेको छ तर हालसम्म पनि कार्यन्वयन भएको छैन । अब आइओईमा नयाँ डिन नियुक्त हुन गइरहेकाले सोही प्रतिवेदन अनुसार यस विषयको पठनपाठन टियूले सुरु गर्ने अपेक्षा लिएको छु ।
नेपालमा यस विषय पढाउने कलेजले चर्को शुल्क लिने गरेको विधार्थीको गुनासो छ यसमा किन यस्तो भैरहेको छ?
नेपालमा एकमात्र कलेजले यो विषयको पठनपाठन गर्दे आइरहेको छ । यो विषय पढाउन अरु विधामा भन्दा बढी खर्च लाग्छ । यो मेडिसिन र इन्जिनियरिङ्ग दुवै पढाउने जनशक्तिको आवश्यकता, मेडिकल उपकरणको समय अनुसार व्यवस्था गर्नुपर्ने र अस्पतलामा इन्टनसिपको आवश्यकताले गर्दा पनि शुल्क बढी लाग्ने गरेको छ । अब सरकारी कलेजले सरकारी अस्पतालसँग समन्वय गरी यो विषयको अध्ययन सुरु गराउने हो भने निकै कम खर्चमा यो विषय पढ्न सकिन्छ।
मेडिकल उपकरणको पैसा तथा यसका लाग्ने पार्ट्सको निजी क्षेत्रले मनलाग्दी पैसा लिएको देखिन्छ किन नियमन हुन सकिरहेको छैन?
नेपालमा मेडिकल उपकरणको पैसा तथा यसका लाग्ने पार्ट्सको मुल्य नियन्त्रण नहुनुमा विभिन्न कारणहरु रहेका छन् । खासगरी नियमन गर्ने नीतिको अभाव छ । हामी उपकरणको आयातमा पूर्ण रुपमा अरुमा निर्भर रहेका छौं । सरकारी निगरानी फितलो रहेको छ । बजारमा एकाधिकार रहको छ । खरीद प्रक्रिया समेत यसमा बढी जिम्मेवार रहेको छ । यसलाई नियन्त्रण गर्नका लागि कडा नियम, पारदर्शी खरीद प्रणाली र प्रतिस्पर्धात्मक बजारको आवश्यकता देखिन्छ ।
आम मानिसले मेडिकल उपकरणको प्रभावकारी उपयोग कसरी गर्न सक्छन्?
आम मानिसले मेडिकल उपकरणको प्रभावकारी उपयोग गर्नका लागि सो उपकरणको उपयोग विधि बुझ्न आवश्यक छ । समय समयमा त्यसको सरसफाई तथा उपर्युक्त वातावरणमा उपकरण राख्ने गर्नुपर्छ । उपकरणबारे जानकार व्यक्तिबाट मर्मत गराउने तथा सुरक्षित तवरले प्रयोगमा ध्यान दिनुपर्छ ।
यस क्षेत्रका चुनौती के के हुन्? यस क्षेत्रमा जोडिन चाहनेलाई तपाइका सुझाव के छन्?
सबैभन्दा ठूलो चुनौती प्रविधिको तिव्र परिवर्तन हो । त्यससँगै यसमा उपर्युक्त सीप र तालीमको अभाव रहने, उपकरण र प्रविधिको लागि आवश्यक संशाधनको कमी, उपकरणको क्यालिब्रेशन तथा टेस्टिङ्ग नहुनु, नियमक नीतिको अभाव रहेका छन् । यस क्षेत्रमा जोडिन चाहने खासगरी विधार्थीको लागि मेरा सुझाव नविनतम प्रविधिसँग अभ्यस्त बन्ने, प्राविधिक ज्ञानको लागि इन्टनसिप र प्रोजेक्ट कार्यमा सहभागी हुने, उपकरण सुरक्षा र गुणस्तर नियन्त्रणको महत्व बुझ्ने, समस्याको समाधान गर्ने सोच राख्ने र अनुसन्धान तथा नवप्रर्वतनमा रुचि राख्नुपर्दछ ।
प्रकाशित मितिः २०८१ मंसिर ११ गते, दिउँसो ३ः१५ बजे

