‘छर्लङ्ग देख्न थालेपछि नयाँ जुनी पाएकी छु’

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, आँखा देख्न छाडेको धेरै समयपछि पुनः दृष्टि पाएपछि डोल्पाकी ६६ वर्षीया निलकुमारी थापाले नयाँ जुनी पाएको महसुस गरेकी छन् । उनी लामो समयदेखि आखाँको मोतिविन्दुका कारण देख्न नसक्ने अवस्थामा थिइन् ।

ठुलीभेरी नगरपालिका-३ दुनै बजारकी थापाले भनिन्, ‘मैले आँखा देख्न छाडेको धेरै भएको थियो । अब त जीन्दगी यस्तै जान्छ कि भन्ने लागेको थियो । उपचारका लागि नेपालगञ्ज जान पनि समस्या थियो, नजिकै उपचारको व्यवस्था थिएन ।’

जिल्ला अस्पतालले गरेको आँखाको निःशुल्क शल्यक्रिया शिविर उनका लागि बरदान बनेर आयो । जिल्ला अस्पताल डोल्पामा गत कात्तिक २६ र २७ गते सञ्चालन भएको शिविरबाट लाभान्वित हुनुभएकी उनले सुनाइन्, ‘हल्ला सुनेपछि अस्पताल गएर सोधेँ, डाक्टरले यतै शिविर बस्दै छ भन्नुभयो । शिविर बस्यो, आँखाको शल्यक्रिया भयो, खर्च बच्यो । त्योभन्दा बढी छर्लङ्ग देख्न थालेपछि नयाँ जुनी पाएकी छु ।’ 

उनी मात्रै होइन शिविरबाट अन्य ३१ जनाले पनि आँखाको ज्योति पाएका छन् । आँखाको निःशुल्क शल्यक्रिया भएपछि काइके गाउँपालिका-५ बस्ने ६० वर्षीया पेम्बा लामु रोकाया र ठूलीभेरी नगरपालिका–८ बस्ने ५१ वर्षीया कृष्णचन्द शाही पनि निकै खुसी छिन् ।

‘गाउँबाट टाढा गएर उपचार गर्न जान समस्या छ । आर्थिक जोहो गर्न पनि सकिदैन तर आफ्नै जिल्लामा निःशुल्क उपचार पायौँ । त्यसैमा हामीलाई त डाक्टरसापले पाँच/पाँच हजार पनि दिनुभयो । योभन्दा अरु खुसी के होला’, दुवै जनाले एकैस्वरमा भने । आँखा विशेषज्ञ डा ज्ञानेन्द्र लामिछानेले आर्थिक रूपमा विपन्न रोकाया र शाहीलाई आर्थिक सहयोग गरेका हुन् ।नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम  लुम्बिनी, नेत्रज्योति संस्थान तथा रिसर्च सेन्टर र श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको आर्थिक तथा प्रविधिक सहयोगमा निःशुल्क आँखा मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न भएको हो । 

जिल्ला अस्पतालका नेत्र सहायक अमृत कठायतले जिल्लाका विभिन्न स्थानमा मोतिविन्दुका बिरामी छनोट शिविर सञ्चालन गरी शल्यक्रिया कार्यक्रम आयोजना गरिएको बताए । आर्थिक रूपले विपन्न नागरिकको जिल्लामै मोतिविन्दुको निःशुल्क शल्यक्रिया गर्न सहजीकरण गरिएको उनले बताए ।

हिमाली दुर्गम जिल्लाका नागरिकलाई लक्षित गरी जिल्ला अस्पतालमा आँखाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्न पाउँदा खुसी लागेको जिल्ला अस्पतालका चिकित्सा शाखा प्रमुख डा अखण्ड उपाध्यायले बताए । आगामी दिनमा पनि आवश्यकताअनुसार जिल्लामै शिविर आयोजना गरिने उनले बताए । रासस

प्रकाशित मिति: २०८१ मङ्सिर ३ गते, दिउँसो ४:२४ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *