प्रा.डा. प्रेम ज्ञवाली

आफ्नै भुमिमा केही गर्ने ईच्छा थियो त्यसैले दीन दुःखीलाई सहयोग गर्ने मनसाय लिएर फर्कें। विदेशीलाई गर्ने उपचार आफ्नै दाजुभाईलाई दिनुपर्छ भनी फर्किएँ ।
विभिन्न सपना र आकांक्षा लिएर फर्किएँ तर अहिले लाग्दछ मैले गल्ती गरें। न त मैले कुनै खुराफाती गर्न सिकें, न त मैले कसैको चाकरी गर्न सिके, आफ्नै बलबुतामा सकेको गरें तर अहिले लाग्दछ मैले गल्ति गरें।
राम्रा र निपूर्ण विदेशिदै छन् अहिले न त तिनीहरुलाई रोक्न सक्छु मैले, न त खाली खुट्टा वा चप्पल लगाएर आएका बिरामीलाई समयमै उपचार गर्न सक्छु मैले, न त तीन दिनदेखि भोकै छु हजुर भन्ने बिरामीलाई सहयोग गर्न सकें मैले। न त परिवार र समाजलाई समय दिन सकें मैले। कसरी भनूँ आफ्ना सन्ततिलाई स्वदेशमै पसिना बगाऊ भनेर? बेला आइसक्यो बाबु मेरो गल्ती नदोहोर्याऊ भन्ने।
न त कुनै सामाजिक सुरक्षा छ यहाँ, न त कुनै संतुष्टि छ, चौबिसै घण्टा बिरामीको उपचारमा खटिइने डाक्टर र नर्सलाई बिरामीको मृत्युको कारण तिमी नै हो भन्ने सुन्न परेको छ, बिजुली नआएर भेन्टिलेटर बन्द हुँदा अथवा बजारमा किनिने औषधिको गुणस्तर सही नहुँदा पनि तिमीले नै बदनामी सुन्नु परेको छ, न त तिमीलाई सुरक्षा दिने कोही छ यहाँ । आफ्नो सुरक्षा त तिमी आफैले गर्नु छ । तिम्रो पनि परिवार होला, तिम्रा पनि बालबच्चा होलान्।
म कसरी भनूँ तिमीलाई मेरो गल्ती दोहोर्याऊ भनेर जुन गल्ति मैले फर्किएर गरें।
– ज्ञवालीले आफ्नो फेसबुकमा लेख्नुभएको स्टाटसबाट । सम्पादक
प्रकाशित मितिः २०७९ फागुन १८ गते , दिउँसो २ः४९ बजे ।

