नेपाल स्वास्थ्य,
सरकारले आफ्ना न्यूनतम साझा कार्यक्रममा ‘स्वस्थ नेपाली, निरोगी नेपाल’को अवधारणा अगाडी सार्दे स्वास्थ्य क्षेत्रका नौ वटा योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्याउने, महिनावारी हुने उमेरसमूहका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिद गर्न वार्षिक एक हजार ५०० रुपैयाँ उपलब्ध गराउने लगायतका कुरा उल्लेख गरेको छ ।

हेरौं स्वास्थ्य क्षेत्रका विषयमा समेटिएका नौ बुँदा:
१. सबै नागरिकमा निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने । सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्याउने ।
२. ६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेहजस्ता नसर्ने रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने । प्रभावकारी स्वास्थ्य बिमा कार्यक्रममार्फत नागरिकको स्वास्थोपचार सहज बनाउने । स्वास्थ्य बिमा सुविधा प्राप्त गर्न सेवाग्राहीहरूले भोग्नु परेका झन्झट तत्काल हटाउने ।
३. सबै पालिकामा आधारभूत अस्पताल र प्रदेशहरूमा विशिष्टीकृत अस्पताल निर्माण कार्य सम्पन्न गर्ने ।
४. महिनावारी हुने उमेरसमूहका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिद गर्न वार्षिक एक हजार ५०० रुपैयाँ उपलब्ध गराउने ।
५. प्रसूति हुने शतप्रतिशत महिलाको गर्भावस्थाको नियमित स्वास्थ्य जाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा सुनिश्चित गर्ने । ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निशुल्क आपत्कालीन उद्धार गर्न हवाइ एम्बुलेन्स र एम्बुलेन्सको थप व्यवस्था गर्ने ।
६. सबै बालबालिकालाई पूर्ण खोप सुनिश्चित गर्ने । अधिकांश रोगको उपचार स्वदेशमा नै हुने प्रबन्ध गर्ने ।
७. आम नागरिकमा चिकित्सा सेवा पुर्याउन चिकित्सकहरूको संख्या बढाउने । चिकित्सक तथा नर्सलाई सरकारी सेवामा आकर्षित गर्न विद्यमान सेवा सुविधामा पुनरावलोकन गर्ने र साप्ताहिक ४० घन्टाभन्दा बढी अवधि सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा प्रदान गर्ने । स्वास्थ्यकर्मीलगायत विशिष्टकृत सेवाका श्रमिकहरुका सरोकारहरु सम्बोधन गर्न श्रम ऐनमा संशोधन गर्ने ।

८. सरकारी, सामुदायिक र निजी क्षेत्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तरीयता सुनिश्चितताका लागि अधिकार सम्पन्न नियमनकारी निकाय राष्ट्रिय प्रत्यायन प्राधिकरण, नेसनल एक्रिडिटेसन अथोरिटी, रोग नियन्त्रण केन्द्र तथा खाद्य तथा औषधि नियमन प्राधिकरण बनाएर स्वास्थ्य सेवाको नियमन गर्ने ।
९. सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐनलाई यथाशिघ्र कार्यान्वयन गर्न नियमावली तथा कार्यविधि तयार गर्ने ।
प्रकाशित मितिः २०७९ पुस २६ गते, बिहान ८ः४० बजे ।

