स्वास्थ्य सेवा भित्रको कुहिरोमा हराएका बायोमेडिकल प्राविधिक

गृहपृष्ठ विचार/ब्लग हेडलाइन्स

द्रोण विक्रम पंन्थी

स्वास्थ्य सेवा भन्ने बित्तिकै प्रत्येक नागरिकको लागि अत्यावश्यक सेवा भन्ने बुझिन्छ । यस सेवाको नितान्त भिन्नता एवम् संवेदनशीलता बुझी यस सेवालाई बढी सक्षम , सुदृढ, सेवामुलक र जनउत्तरदायी बनाउन स्वास्थ्य सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धि ब्यवस्था गर्न तत्कालिन संसदले वि.स. २०५३ सालमा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ बनाएको थियो । यो ऐन बनेपश्चात पटक पटक संसोधन हुदैँ पनि आएको छ साथै नेपाल सरकारबाट यो ऐन को दफा ९५ अनुसार नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ पनि बनि हाल कार्यन्वयनमा रहदैं आएको छ ।


नेपाल स्वास्थ्य सेवा ऐन २०५५ तथा नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ ले स्वास्थ्य सेवाभित्र विभिन्न समुह र त्यसमा रहने पद र तिनीहरुको तहको परिकल्पना गरेको छ । त्यसमध्येको एउटा महत्वपूर्ण समुह विविध समुहभित्र बायोमेडिकल प्राबिधिकहरुलाई समेटेको छ । बायोमेडिकल प्राबिधिकको ४/५/६ तहमा बायोमेडिकल इक्युपमेन्ट एसिस्टेन्ट टेक्निसियन ५,६,७ तहमा बायोमेडिकल टेक्निसियन, ८ तहमा बायोमेडिकल इन्जिनियर, ९ र १० तहमा उप-प्रमुख बायोमेडिकल इन्जिनियर र ११ तहमा प्रमुख बायोमेडिकल इन्जिनियरको ब्यबस्था गरेको छ । बायोमेडिकल प्राविधिकको महत्व बुझी ऐन र नियमावलीमा ब्यबस्था भए पनि यथार्थमा अलि फरक छ ।

वि.स.२०५३ सालमा नेपाल स्वास्थ्य सेवा ऐन र बि.स. २०५५ सालमा नेपाल स्वास्थ्य सेवा नियमावली बनेता पनि नेपाल सरकारले धेरैपछि मात्र यो पदको आवश्यकता ठानी नेपालमा पहिलो पटक आ.व. २०७१/२०७२ सालमा मात्र आएर लोकसेवा आयोगबाट ५ तहको बायोमेडिकल टेक्निसियन पदको बिज्ञापन गरी पदपूर्तिको प्रक्रिया अगाडी बढाएको थियो । त्यसपश्चात लोकसेवा आयोगबाट धेरै न्यून मात्रामा मात्र बिज्ञापन भएको देखिन्छ । हाल न्यूनतम सेवा मापदण्डले प्रत्येक secondary B level Hospital देखि Tertiary Hospital मा अनिबार्य बायोमेडिकल प्राबिधिक हुनुपर्ने भनेर Standard guidlines बनाएको हुँदा यसको कार्यान्वयनसंगै बायोमेडिकल प्राबिधिकको ढिलो चाँडो सबै अस्पतालमा स्थायी दरबन्दी बन्ने आशा जागेको छ ।

नेपालको संबिधान भाग ३ को धारा ३५ “ प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित गरिने छैन “ भन्ने ब्यवस्था रहेता पनि प्रत्येक नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न राज्य अझै सबल भइनसकेको अवस्था छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अति आवश्यक धेरै विधा मध्येको गुणस्तरीय मेडिकल उपकरण पनि एक हो । अहिलेको प्रबिधिमैत्री युगमा मेडिकल उपकरणबिना स्वास्थ्य सेवा प्रदान गर्नु असम्भव जस्तै बनेको छ ।

सामान्य ब्लड प्रेसर जाँच गर्न प्रयोग हुने Sphygmomanometer , प्रयोगशालाको रिपोर्ट निकाल्न प्रयोग हुने विभिन्न analyzer, शल्यक्रियामा प्रयोग हुने Anesthesia Machine, सधन उपचार कक्षमा प्रयोग हुने Ventilator , डाइग्नोस्टिक प्रयोजनको लागि प्रयोग हुने बिभिन्न रेडियोलोजीका उपकरण MRI, CT Scan, X-ray गर्भवती महिलाको जाँच लगायत अन्य जाँचको लागि प्रयोग हुने USG, CTG तथा क्यान्सर बिरामीको उपचारमा प्रयोग आउने Tomothrapy, मृगौला बिरामीको उपचारका लागि प्रयोगमा आउने Hemodialysis Machine , मुटु बिरामीको लागि प्रयोग हुने Cath lab machine आदि लगायत बिरामीको उपचारमा प्रयोगमा आउने विभिन्न मेसिनहरु सबै प्रविधिमै निर्भर हुन्छन । यो प्रबिधिको अधिकतम् उपयोग बायोमेडिकल प्राबिधिक बिना अलि असम्भव नै हुन्छ । बायोमेडिकल प्राविधिकको यस्ता उपकरणको ब्यवस्थापनमा ठूलो भूमिका रहन्छ । मेडिकल उपकरणको आवश्यकता , खरिद , जडान, मर्मत सम्भारदेखि लिलाम प्रक्रियासम्म बायोमेडिकल प्राविधिकको ज्ञान र सिपको आवश्यकता पर्दछ ।

राज्यले बर्षेनी करोडौं धनराशी बायोमेडिकल उपकरण खरिदमा गरिराखेको छ तर उपकरण ब्यवस्थापनको पक्षमा भने त्यति ध्यान पुर्याएको पाइन्न । कहाँ कुन अस्पतालमा कति उपकरण छन् र कस्तो अबस्थामा छन् , त्यहाँ के आवश्यकता छ त्यसको कुनै लेखाजोखा नै छैन । न त सबै अस्पतालमा यस्तो कुराको लगत राख्ने उपकरणको ब्यवस्थापन गर्ने बायोमेडिकल प्राबिधिक छन् । बायोमेडिकल प्राबिधिक भएपनि नगन्य अबस्थामा केहिमात्र अस्पतालमा छन् । लोकसेवा पास गरि स्थायी भएका बायोमेडिकल प्राबिधिक कर्मचारी अत्यन्त न्यून हुँदा स्वास्थ्य सेवामा कुहिरोमा हराएका कागसरी भएका छन् । स्थायी रुपमा एकदम न्यून संख्यामा बायोमेडिकल टेक्निसियन/ इन्जिनियरको सरकारी सेवामा उपस्थिति हुँदा पाउने सेवा सुबिधाबाट पनि कतै न कतै असमानता व्योहोर्नु परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशालामा कार्यरत कर्मचारीहरुलाई प्रयोगशाला जोखिम भत्ता ब्यवस्थापन निर्देशिका २०७२ को दफा ५९(क) बमोजिम विभिन्न कर्मचारीहरुलाई जोखिम भत्ता भनेर सोहि अनुसार उपलब्ध गराउदैँ आएको छ तर बिडम्बना प्रयोगशाला, रेडियोलोजी लगायतका उपकरण दिनरात मर्मत सम्भार गर्ने बायोमेडिकल टेक्निसियन/ इन्जिनियरलाई भने कुनै किसिमको जोखिम भत्ता उपलब्ध गराएको छैन। बायोमेडिकल प्राविधिकहरु पनि अत्यन्तै जोखिममा हुने हुदाँ सम्बन्धित पक्षको यसमा ध्यान जान जरुरी छ ।
अर्कोतर्फ सरकारी सेवामा बायोमेडिकल प्राबिधिकको न्यून उपस्थितिले गर्दा वृत्ति विकासमा पनि ठूलो असर खेपी राख्नु परेको छ । धेरैको बुझाइमा स्वास्थ्य सेवा भन्दा साथ चिकित्सक र नर्सले दिने सेवा मात्र हो भन्ने बुझार्इ रहदैँ आएको छ। तर यति मात्र बुझ्दा बुझाइ अपूर्ण हुन पुग्दछ। चिकित्सक, नर्स संगसंगै बायोमेडिकल टेक्निसियन र इन्जिनियर लगायत अन्य थुप्रै प्राबिधिक र अप्राविधिकको भूमिका प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रहेको हुन्छ । स्वास्थ्य सेवालाई सफल रुपमा गुणस्तरीय सेवा प्रदान गर्न सबैको बराबर भूमिका रहन्छ । सबैको समान भूमिका बिना गुणस्तरीय स्वास्थ्य सेवाको परिकल्पना गर्न समेत सकिदैँन । तर बिडम्बना नीति निमार्ण तहमा स्वास्थ्य सेवाका सबै पदलाई समान ब्यवहार गरेको पाईदैँन। स्वास्थ्य सेवा भित्र पनि सबै सेवा समुहलाई समान वृत्ति बिकासको अवसर नरहेको देखिन्छ। चिकित्सक र नर्स बाहेक अरुले छात्रवृत्तिमा उच्च शिक्षा लिने अवसर पाउनु भनेको धेरै नै असहज जस्तै नै छ । अझ बायोमेडिकल टेक्निसियन इन्जिनियरको लागि न त निजि प्रयासमा अध्ययन गर्नको लागि त्यति धेरै कलेज र बिश्वबिद्यालय छन् न त कुनै छात्रवृत्ति पाएर पढ्ने अवसर नै छ । साथै राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले पनि स्वास्थ्य सेवाका अन्य कर्मचारीहरुका लागि वृत्ति विकासको लागि बिभिन्न सेवाकालीन तालिमहरु संचालन गर्दै आइरहेको हुन्छ तर बायोमेडिकल प्राविधिकको लागि भने सेवाकालीन कुनै तालिम संचालन गरेको पाईदैँन। प्रबिधि दिनानुदिन नयाँ नयाँ विकास हुँदै गइरहेको अवस्थामा बायोमेडिकल प्राविधिकलाई पनि प्रविधिमा अद्यावधिक हुने मौका दिनुपर्ने होइन र स्वास्थ्य सेवा बिभाग, रास्ट्रिय स्वास्थ्य तालिम केन्द्र मातहत BMET युनिट संचालनमा रहेता पनि स्थायी बायोमेडिकल प्राविधिकको वृत्ति विकासको लागि नियमित सेवाकालीन तालिम तथा अन्य उच्च तालिमको योजना तर्जुमा गरेको पाईदैँन । केवल बायोमेडिकल प्राविधिक उत्पादनमा मात्र ध्यान केन्द्रित भएको देखिन्छ । अब नयाँ बायोमेडिकल जनशक्ति उत्पादनसंगै सेवा प्रवेश गरेकाहरुको लागि पनि सोच्नुपर्ने बेला आएन र ? राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र लगायत सरोकार पक्षले बायोमेडिकल जनशक्तिको वृत्ति विकासको बारेमा सोच्न अति ढिलो भैसकेको छ ।

लेखक पंन्थी बर्दिया अस्पतालमा कार्यरत हुनुहुन्छ ।

प्रकाशित मितिः २०७९ भाद्र २७

Leave a Reply

Your email address will not be published. Required fields are marked *