मेडिकल उपकरणको मनोवाद

विचार/ब्लग हेडलाइन्स

दिपक महत

पीडाको सूचक भावमा प्रस्तुत गर्न सकिदैंन । किनकी मानवजस्तो गुण हामीमा छैन । मानवजस्तो गुण नहुदैंमा हामीमा संवेदनशिलता छैन भन्नुहोला । यो पटक्कै हैन । हाम्रो सबै ध्याउन्न बिरामी बनेर जिन्दगीको सफर लम्बाउन चाहने तपाइहरुको चाहनामै जोडिएको छ । आफू नथलिएसम्म कुनै हालतमा तपाइलाई यमराजको लोकमा पु¥याउनबाट रोक्नैपर्ने जिम्मेवारीलाई शिरोधार्य गर्दे तपाइकै सामिप्यतामा हाम्रो साक्षी उपस्थिति छ ।

तपाई बाँच्न चाहनुहुन्छ, हामी बचाउन । सारमा हामी एक अर्काका पर्याय हौं । सम्बन्धको उचाई सगरमाथा भन्दा उँचो छ । हिमालमा सजिएर बसेका हिउँजस्तै सौम्य छ । अनवरत बगिरहेको नदीजस्तै छ ।

सम्बन्ध सधै सरल बनेर चलिरहदैंन । उतार चढावको हण्डर बेलाबेलामा खाइरहनुपर्छ । चाहनालाई एकातिर थाती राखेर अघि बढ्नुपर्छ । मानव–उपकरणको सम्बन्ध यस्तै नै हो । आवश्यकताले महत्व दर्शाउन्छ । त्यसैले हामी एक अर्काका अभिन्न हिस्सा हौं भनेर स्विकार्नुपर्छ ।

तपाइको सेवामा रहेकै बेला तपाइलाई गाह्रो, साह्रो पर्दा कहिले कर्कश डाँको छोड्छौं । कहिले मन्द । कहिले निकै लामो समयसम्म खबरदारीका अनेकौं सूचक दिइरहन्छौं । तर तपाइलाई हाम्रो रुवाई सहज लाग्दैन । किनकी तपाई मानव हुनुहुन्छ । मानवियता कहाँ मरेको छ र ! त्यो रुवाइका तरगंलाई थेग्न नसकी कहिले म्यूट गरिदिनुहुन्छ त कहिले एकछिन भावना आफ्नै सुरमा ओकलोस् भनेर स्वतन्त्र छोड्दिनुहुन्छ ।

हाम्रो तंरगीय रोदनले विशेष सूचना बोकेर आउने समय नै यही हो । तपाइले यतिबेला हाम्रो ख्याल राख्न सक्नुभएन भने तपाइको पनि त कहाँ ख्याल राख्न सकिन्छ र । नेपाली उखान बिरामी हुदाँ नि तपाइले खुब भनिरहनुहुन्छ नी, “एकहोरो त रोटी नि पाक्दैन” । यहाँ यहि लागू हुन्छ । उखानको सरोकार त हामीलाई छैन । तैपनी बरोबर तपाई बोलिरहँदा धेरै कुरा हामी पनि जान्ने भएका छौं । सुनेका छौं । आवश्यकता अनुसार पोख्छौं । भित्रभित्रै बुनेर राखिरहन्छौं ।

चलाउने मान्छेले हाम्रो सांकेतिक भाषा बुझ्नैपर्छ । नबुझे जीवन धरापमा पर्छ । मानवताको म मरेर जान्छ । जीवनको इहलीला समाप्त हुन्छ । परिवार, समाज, देश र विश्वले नोक्सान बेहोर्छ । त्यसैले उपकरण चलाउने आम तपाई, हाम्रोबारे ज्ञान सकभर राख्नुहोस् । नभए गुगल तपाइको सेवामा हाजिर छ । उसको सहायतालाई सदुपयोग गर्नुस् । ज्ञानको दायरालाई फराकिलो बनाएर हामीलाई काममा सहज बनाइदिनुस् । सक्नुहुन्छ भने, हाम्रो उपचारमा संग्लन हुने दक्ष जनशक्तिको संख्यामा आवश्यकिय व्यवस्था मिलाइदिनुस् ।

धुलोको मुस्लोमा । कठ्याङ्ग्रिदों चिसोमा । बेपर्वाह किसिमले छोडिदिएर आयु त तपाइले हाम्रो घटाइदिई रहनु भएको नै छ । आफैले निकै दुःखले आर्जेको रकमलाई त्यसरी नै उडाई रहनुभएको छ । हामीलाई चल्नका लागी आवश्यक पर्ने शक्ति या भनौं हाम्रो खाना, भोल्टेज हो । तर पर्याप्त भोल्टेजको अभावमा हाम्रो दिनचर्या जटिल बनिरहेको छ । आवश्यक पर्दा आफ्नो कर्ममा जोडिन नसक्दा हामी दुःखी बनिरहेका छौं । भन्नुहोला, हाम्रा आफ्नै पीडा छन् भनेर तर हामी पनि कम्ता पीडामा बाँचीरहेका छैनौं । आफ्ना समस्यामात्रै प्रधानता सोच्ने मस्तिष्क अलि खुकुलो बनाइदिनुस् ।

मानवले जस्तो हत्तपत्त आशालाई मारिहाल्ने पक्षमा छैनौं, हामी । यो समस्याबाट छिटै नै छुटकारा पाउने अपेक्षामा बसेका छौं । आशामा लटपटिएका छौं । नेपालमा रहेका हामी उपकरणहरुलाई विदेशको जस्तो बसाँइ खोजेर त सम्भव नै छैन । यो तितो यथार्थ हामीले बुझेका छौं । किनकी देश अनुसारको भेष गर्नमा पनि हामी अभ्यस्त बनिरहेका छौं ।

एउटा कुरा मन खोलेर भन्छु । आफ्नै अवगुण ओकल्छु । हाम्रो पनि त जीवन छ । हामीलाई बनाउने तपाइको जीवनको त कुनै ठेगान छैन भने हाम्रो हुने कुरै भएन । त्यसैले हामी जत्तिबेला पनि निभ्न सक्छौं । तर नेपालका दाजुभाई दिदीबहिनीले किन बुझ्न सक्नुभएन, म बेलाबेला काममा तल्लिन हुदाँ पनि सोचिरहन्छु । कतिपय हाम्रै कारणले धर्तीमा तपाइको बसाँइ नामेट बन्दिन्छ । तर हेक्कै नराखी स्वास्थ्यकर्मीको लार्पवाही भन्दै आगो ओकल्नुहुन्छ । उहाँहरुकै जीवनमा धावा बोलिदिनुहुन्छ । विकर्षणको बिउ रोपिदिनुहुन्छ । निश्वार्थ अहोरात्र खट्ने स्वास्थ्यकर्मीहरुलाई दानवको उपमा नदिनुस् न है ।

उपकरण हुन् । निर्जीव हुन् भनेर रुखो बन्नुभयो भने तपाइले धेरै कुरा गुमाउन थाल्नुहुन्छ । सजिव भनेरै हाम्रो नामाकरण गरिदिनुस् । हैन अप्ठ्यारो मानेर स्वीकार गर्न सक्नुहुन्न भने ठिकै छ हाम्रो भाषा, महत्व र क्षमतालाई बुझेर मात्रै चलाउनुस् । यदि हामी बिरामी बन्यौ भने हाम्रो पनि उपचारतिर लाग्नुहोस् नकी अर्को भित्राउनतर्फ । बिरामी सन्तानलाई उपचारको झन्झटमा त्यत्तिकै छाडी अर्को सन्तान जन्माउने चेस्टा नर्गनुस् ।

हामीलाई प्रयोगमा ल्याउँदा, तपाइका कृत्रिम खस्रा हातहरु हामीमाझ बझारीरहँदा अलिकति ध्यानदिनुस् न है । कोमल हातलाई जर्बरजस्ति बेरुपी नबनाई दिनुहोस् । अन्यथा नसोच्नुस् । आग्रहको रुपमा बुझिदिनुस् । माया भन्ने सबैतिर देखाउन जान्नुपर्छ । मैले बुझे यति भनेपछि तपाई आक्रोशमा आउनुभयो । मानवलाई सिकाउने ठालू सम्झनुभयो । यथार्थ सत्य हामीले भुलेका छैनौं । तपाइहरुको अथक मेहनत र परिश्रमले नै आज हाम्रो अस्तित्व सम्भव भएको हो ।

अब यत्ति भनेपछि त तपाइले सन्तानकै रुपमा हामीलाई ग्रहण गर्नेपर्छ । आफ्नो सन्तानलाई प्रेमिल आखाँले हेर्नुपर्छ । स्याहार संम्भारमा लाग्नुपर्छ । हृदयबाटै स्वच्छ मायाको न्यानो बान्की छर्नेपर्छ ।

प्रकाशित मितिः २०८१ असार ८ गते, दिउँसो १ः४२ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *