जेनिस बिष्ट, मनोसामाजिक परामर्शकर्ता तथा मनोस्वास्थ्यकर्मी
हरेक वर्ष अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै गर्दा यस वर्षको अन्तर्राष्ट्रिय नाराले भन्छ— “अनुभूत अनुभवहरूको सुनुवाइ: वास्तविक आवाज, वास्तविक परिवर्तन”। तर, जबसम्म मानसिक स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको सहज पहुँचमा पुर्याउन सकिँदैन, तबसम्म वास्तविक परिवर्तन असम्भव छ। एक मनोस्वास्थ्यकर्मीको रूपमा मैले समाजमा देखेको सबैभन्दा ठूलो खाडल नै मानिसहरू तिरस्कृत हुने डरले भित्रभित्रै पीडित भइरहनु र कतिखेर, कहाँ गएर सहयोग माग्ने भन्ने थाहा नहुनु हो।
मानसिक स्वास्थ्यलाई कसरी आम पहुँचमा ल्याउने?
मानसिक स्वास्थ्य सेवालाई सहरका ठूला अस्पताल र महँगा क्लिनिकबाट बाहिर निकालेर आम नागरिकको पहुँचमा पुर्याउन निम्न कदमहरू चाल्न जरुरी छ:
प्राथमिक स्वास्थ्यमा समावेशीकरण: प्रत्येक गाउँपालिका र नगरपालिकाका स्वास्थ्य चौकीहरूमा शारीरिक स्वास्थ्यको उपचार जस्तै मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्शलाई अनिवार्य र निःशुल्क सेवाको रूपमा समावेश गरिनुपर्छ।
समुदायमा आधारित सचेतना: आमा समूह, स्थानीय क्लब, र विद्यालयहरू मार्फत “मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जस्तै सामान्य हो” भन्ने सन्देश गाउँ-गाउँमा पुर्याउनुपर्छ।
डिजिटल र टेलि-परामर्श: विकट क्षेत्रका नागरिकका लागि निःशुल्क हेल्पलाइन र अनलाइन परामर्श सेवाहरूको बिस्तार गरिनुपर्छ, ताकि घरमै बसेर बिना हिचकिचाहट सहयोग पाउन सकियोस्।
सजिलै सहयोग पाउने वातावरण कसरी बनाउने?
कोही व्यक्ति मानसिक तनावमा पर्दा उसले विना डर सहयोग माग्न सक्ने वातावरण हाम्रै घर र समाजबाट सुरु हुनुपर्छ:
१. निल्नु भन्दा ओकल्नु राम्रो: परिवार र कार्यस्थलमा यस्तो वातावरण बनोस् जहाँ मनका कुरा सेयर गर्दा कसैले जिस्काउने वा ‘कमजोर’ साबित गर्ने डर नहोस्।
२. प्रारम्भिक पहिचान: लगातार दुई हप्ताभन्दा बढी उदास रहने, दिक्क लाग्ने, वा व्यवहारमा परिवर्तन आएमा तुरुन्तै परामर्श लिन प्रोत्साहन गर्ने प्रणाली समाजमा विकास गर्नुपर्छ।
मानसिक स्वास्थ्यमा ‘काउन्सिलिङ्ग’ (परामर्श) को महत्त्व:
धेरैलाई लाग्छ, मानसिक समस्या हुनासाथ औषधि नै खानुपर्छ तर यथार्थ त्यस्तो होइन। प्रारम्भिक र मध्यम खालका धेरैजसो मनोसामाजिक समस्याहरू केवल काउन्सिलिङ्ग (मनोसामाजिक परामर्श) बाटै निको हुन्छन्।
भावनाको व्यव्यवस्थापन: काउन्सिलिङ्गले पीडित व्यक्तिलाई आफ्ना गोप्य र गुम्सिएका कुराहरू बिना डर पोख्ने एउटा सुरक्षित र विश्वसनीय वातावरण दिन्छ।
समस्यासँग जुध्ने क्षमता: परामर्शकर्ताले बिरामीलाई औषधि दिने होइन, बरु उसको भित्री क्षमतालाई जगाएर तनाव, एन्जाइटी वा डिप्रेसनसँग कसरी लड्ने र जीवनलाई कसरी सकारात्मक बनाउने भन्ने सीप सिकाउँछन्।
आत्मविश्वासको पुनर्निर्माण: परामर्शले मानिसलाई आफ्नो निर्णय आफैँ लिन सक्ने र समाजमा पुनः स्थापित हुन सक्ने आत्मबल प्रदान गर्दछ।
मानसिक स्वास्थ्य दिवस वर्षको एक दिन मनाइने औपचारिकता मात्र बन्नु हुँदैन। जब हामी पीडा लुकाउन बाध्य पारिएका आवाजहरूलाई सुन्न थाल्छौँ, काउन्सिलिङ्ग सेवालाई गाउँ-गाउँमा पुर्याउँछौँ र तिरस्कारको साटो आत्मियताको हात बढाउँछौँ, तब मात्र समाजमा वास्तविक परिवर्तन आउनेछ। आउनुहोस्, मानसिक स्वास्थ्यलाई सबैको पहुँचमा पुर्याउन आजैदेखि सहयात्री बनौँ।
बिष्ट मनोसामाजिक परामर्शकर्ता तथा मनोस्वास्थ्यकर्मी हुनुहुन्छ।
प्रकाशित मिति: २०८३ असोज २४ गते, दिउँसो १२:१४ बजे

