डा. रौनियार भन्छन् ; ‘नेपालमा कोरोनरी मुटुरोग बढिरहेको छ’

अन्तर्वार्ता

नेपालमा पछिल्लो समय मुटुरोगको समस्या बढ्दै गएको छ । विशेषगरी जीवनशैलीमा आएको परिवर्तन, अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी, उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, धुमपान तथा तनावजस्ता कारणले कोरोनरी मुटुरोगको जोखिम बढिरहेको चिकित्सकहरू बताउँछन् । चिन्ताको विषय त झन् कम उमेरमै मुटुरोग र हृदयघातका घटना देखिनु हो । प्रस्तुत छ, मुटुरोगको अवस्था, युवा उमेरमै यसको जोखिम बढ्नुका कारण, सुरुआती लक्षण, उपचारमा पहुँच तथा रोकथामका उपायलगायत विषयमा सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत वरिष्ठ हृदयरोग विशेषज्ञ डा. विनयकुमार रौनियारसँगको कुराकानीको सम्पादित अंश :

नेपालमा हाल मुटुरोगको अवस्था कस्तो छ ? मुटुमा विभिन्न प्रकारका रोग हुन्छन् । मुटुको बाथरोग, जन्मजात मुटुरोग, कोरोनरी मुटुरोग र मुटुको धड्कनसम्बन्धी रोग प्रमुख हुन् । अहिले नेपालमा मुटुको बाथरोग घट्दो क्रममा छ तर कोरोनरी मुटुरोग भने बढिरहेको छ । यसका प्रमुख कारण जीवनशैलीमा आएको परिवर्तन हो । उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग, तनाव र व्यायामको कमीले कोरोनरी मुटुरोगको जोखिम बढाउँछ । नेपालमा यसको अर्को चिन्ताजनक पक्ष भनेको कम उमेरमै रोग देखिनु हो ।

युवा उमेरमै कोरोनरी मुटुरोग देखिनुको मुख्य कारण के हो ?कोरोनरी मुटुरोगको भयावह रूप हृदयघात हो । कहिलेकाहीँ अचानक मुटुको धड्कन बन्द हुने अवस्था पनि आउन सक्छ । मानिस बोलिरहेको, काम गरिरहेको वा व्यायाम गरिरहेका अवस्थामा एक्कासि ढलेका घटना हामीले सुन्ने र देख्ने गरेका छौँ । 

कहिलेकाहीँ कुनै स्पष्ट चेतावनीबिना पनि कोरोनरी मुटुरोग गम्भीर रूपमा देखिन सक्छ । यसका जोखिम कारकमा उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, धुमपान तथा सुर्तीजन्य पदार्थको प्रयोगसँगै तनाव र व्यायामको कमी प्रमुख छन् । 

कसैलाई हृदयघात भएको अवस्थामा तत्काल के गर्नुपर्छ ?

पश्चिमी देशका ठूला कार्यालय, सुपरमार्केटलगायत ठाउँमा ‘डिफिब्रिलेटर’ राखिएको हुन्छ । नेपालमा त्यस्तो व्यवस्था पर्याप्त छैन । यदि कोही एक्कासि ढल्नुभयो, नाडी महसुस भएन वा बोल्नुभएन भने तुरुन्तै बेसिक लाइफ सपोर्टअन्तर्गत छाती थिच्ने अर्थात् सिपीआर सुरु गर्नुपर्छ र तत्काल चिकित्सकीय सहयोगका लागि सम्पर्क गर्नुपर्छ ।

अन्त्यमा मुटुलाई स्वस्थ राख्न सर्वसाधारणलाई के सुझाव दिनुहुन्छ ?

उच्च रक्तचाप छ भने नियन्त्रण गर्न औषधि खान हिचकिचाउनु हुँदैन । मधुमेह र कोलेस्ट्रोल छ भने त्यसलाई नियन्त्रणमा राख्नुपर्छ । चिकित्सकले कोलेस्ट्रोलको औषधि खान सुझाव दिनुभएको छ भने नियमित खानुपर्छ । सूर्तीजन्य पदार्थको प्रयोग गर्नुहुन्छ भने आजैदेखि बन्द गर्नुपर्छ । हप्तामा कम्तीमा पाँच दिन ३० देखि ४० मिनेट ब्रिस्क वाकिङ वा अन्य एरोबिक गतिविधि गर्नुपर्छ । -राससबाट

प्रकाशित मिति: २०८३ असोज २० गते, बिहान ६:५७ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *