जेनिस बिष्ट

रातको निद्रा हरेक प्राणिको लागि अनिवार्य आवश्यक छ । मानिस यसबाट टाढा हुने कुरा भएन । तर स्वास्थ्यकर्मीको हकमा भने यो अपवाद बन्ने रैछ । सायद अरु कुनै पेशामा पनि यो होला तर स्वास्थ्यकर्मीको विषयमा भने निद्राको कुनै प्रहर हुदैँन । जस्तोकी दिन र रात ।
बिरामीको सेवा गर्नु आफैमा पुनित कर्म हो । मानवीय सेवाको उच्चतम् उदाहरण हो । दिनरात स्वास्थ्यकर्मीले आफ्नो पेशागत जिम्मेवारी पूरा गर्दा निद्राको मिठास उपभोग गर्ने नपाउने रैछ । एउटा स्वास्थ्यकर्मीले बिरामीको सेवाको खातिर धेरै कुराको त्याग गर्नुपर्ने हुन्छ । सिफ्ट डियुटी त सामान्य नै भयो त्यसका अत्तिरिक्त तोकिएको समयभन्दा धेरै काम समेत गर्नुपर्ने अर्को तनाव छ ।
सरकारी होस् वा नीजि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी अहोरात्र बिरामीको सेवामा खट्नुपर्ने स्थिति छ । यो पेशागत जिम्मेवारीको समेत कुरा हो । धेरै स्वास्थ्यकर्मीको रहरसँगै बाध्यता पनि हो । नेपालको सन्दर्भमा उचित किसिमले जनशक्तिको तादम्यता मिल्न नसक्दा धेरै बिरामीको चाप कम संख्यामा कार्यरत स्वास्थ्यकर्मीले सम्हाल्नुपर्ने परिस्थिति छ । त्यसैमाथी निद्रा त्यागेर रातभर जागा बसी बिरामीको उपचार गर्नुपर्ने अवस्था छ । कामको चाप, सुरक्षाको सवाल, पारिवारीक जिम्मेवारी, पारिश्रमिक लगायतका कारणले पनि यस पेशाभित्र धेरै सवाल चुनौतिको रुपमा देखा परेका छन् ।
रातको समयमा ड्युटी गर्दा निद्रा त्याग्नु एउटा विषय होला तर स्वास्थ्य संस्थाले दिने कम पारिश्रमिकमा आफ्नो निद्रा साटिनु अर्को दुःखदायी पाटो हो । सेवाभावले ओतप्रोत भएर बिरामीको सेवा गर्नुपर्छ तर स्वास्थ्यकर्मीका विविध अफठ्याराको पोयो कम छैन । कम संख्यामा रहेका स्वास्थ्यकर्मीबाट धेरै उपलब्धि खोज्न सबै हिसाबले युक्तिसँगत पटक्कै देखिदैंन ।
रातको समयमा काम गर्दा अझ महिला स्वास्थ्यकर्मीका लागि धेरै चुनौतिका पहाड छन् । सबैभन्दा पहिला त काम गर्नको लागि कस्तो खालको वातावरण छ सो कुराको सहि ढंगले संयोजन मिलाउनु आवश्यक छ ।
रातको समयमा स्वास्थ्य संस्थामा आउने बिरामी तथा बिरामीका कुरुवा पनि स्वास्थ्यकर्मीप्रति संवेदनशिल बन्नु पर्ने आवश्यकता रहेको देखिन्छ । अराजक रुपमा प्रस्तुत भई स्वास्थकर्मीमाथी अभद्र व्यवहार समेत भैरहेको देखिएको छ । यसमा सबै सचेत र संयमित बन्नुपर्ने आवश्यकता त्यत्तिकै छ । रातभरीको कार्यबोझ त्यसैमाथी अनिद्राले थकित स्वास्थ्यकर्मीप्रति गरिने व्यवहारमा आम बिरामी तथा सम्बन्धित सरोकारपक्ष जिम्मेवार ढंगले प्रस्तुत बन्नुपर्दछ ।
रात्रीकालिन ड्युटीले गर्दा स्वास्थ्यकर्मी गलेर थकित भएका हुन्छन् । त्यसैमाथी ड्युटी सक्काएर घर फर्केपछि उनीहरुले आ–आफ्नो पारिवारीक जिम्मेवारी पनि बहन गर्नुपर्ने हुन्छ । त्यसैले पनि स्वास्थ्यकर्मीप्रति क्रुर व्यवहार प्रर्दशन गर्ने, अराजक बन्ने, अनावश्यक दबाब दिने, व्यवस्थापनले श्रम शोषण गर्नेजस्ता कार्यको समयमै सहि ढंगले समाधान खोज्नु आवश्यक छ । तबमात्र निद्राको माया मार्ने स्वास्थ्यकर्मी आफ्नो पेशाप्रति गौरव गर्ने वातावरणको सिर्जना हुन्थ्यो कि?
–लेखक रुरुक्षेत्र गाउँपालिका गुल्मीमा कार्यरत हुनुहुन्छ ।

प्रकाशित मितिः २०७९ मंसिर १३, साँझ ७ः४० बजे ।


महत्वपुर्ण स्थान दिनुभएकोमा धेरै धेरै धन्यवाद 🇳🇵🙏