डा. दीपक मल्ल
अस्पतालको ढोका पार गरेर आउने हरेक बिरामीसँग एउटा परिवारको आशा, विश्वास र सपना जोडिएको हुन्छ। त्यो आशा जोगाउने जिम्मेवारी हाम्रो काँधमा पनि उत्तिकै हुन्छ। हामी चिकित्सक, नर्स र सम्पूर्ण स्वास्थ्यकर्मीहरू उपचार गर्दा केवल आफ्नो ज्ञान मात्र होइन, आफ्नो समय, पसिना, निद्रा, भोक र मनसमेत समर्पण गरिरहेका हुन्छौँ। धेरै रातहरू आफ्नै परिवारसँग होइन, बिरामीको शय्याछेउ बिताएका हुन्छौँ। किनकि हाम्रो एउटै उद्देश्य हुन्छ—एउटा जीवन बचाउन सकियोस्।
तर चिकित्सा विज्ञानले सबै रोग जित्न सक्दैन। कहिलेकाहीँ मृत्यु हाम्रो सम्पूर्ण प्रयासभन्दा बलियो बन्न पुग्छ। त्यो क्षण बिरामीको परिवारका लागि जति पीडादायी हुन्छ, उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीका लागि पनि त्यत्तिकै भारी हुन्छ। हामी पनि असफलताको पीडा बोकेर घर फर्किन्छौँ। मैले आजसम्म कुनै पनि चिकित्सकले जानाजानी बिरामीलाई हानि पुर्याउने उद्देश्य राखेको देखेको छैन। चिकित्सकले लिएको शपथ जीवन बचाउने हो, जीवन खोस्ने होइन।
यसैले आज एउटा विनम्र अनुरोध…
कृपया शोकको क्षणलाई हिंसामा परिवर्तन नगरिदिनुहोस्। चिकित्सकमाथि हातपात गर्ने, धम्क्याउने, रगत बगाउने वा अपशब्द बोल्ने कामले गुमेको जीवन फर्किँदैन। बरु यसले अस्पतालभित्र डरको वातावरण सिर्जना गर्छ, उपचारमा विश्वास कमजोर बनाउँछ र आफ्नै देशमा इमानदारीका साथ सेवा गरिरहेका हजारौँ स्वास्थ्यकर्मीको मनोबल तोड्छ।
आज वीरगञ्जमा हुन्छ, हिजो नेपालगञ्जमा भयो, अस्ति चरिकोटमा भयो। ठाउँ फरक हुन सक्छ, तर पीडा एउटै हो। आखिर यो घटना नेपालीले नेपालीमाथि नै गरिरहेको हो। हामीलाई सम्मान चाहिएको होइन, सुरक्षित भएर आफ्नो कर्तव्य निभाउन पाउने वातावरण मात्र चाहिएको हो। एउटा चिकित्सकको मनोबल जोगाउनु भनेको हजारौँ बिरामीको भविष्य सुरक्षित गर्नु हो।
प्रकाशित मिति: २०८३ साउन ११ गते, बिहान १०:३५ बजे

