अनिता कुँवर, लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमा चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत बजेट विनियोजन गरिएको छ । जसमा स्वास्थ्यका विभिन्न विषयलाई प्राथमिकता दिइएको छ ।
राप्ती प्रादेशिक अस्पतालको क्षमता विकास गरी दुई सय शैय्यामा स्तरोन्नति गर्न ५ करोड विनियोजन गरिएको छ । त्यसैगरी अर्घाखाँची अस्पताल सन्धिखर्क, भिम अस्पताल भैरहवा र बर्दिया अस्पतालको भवन निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ ।
निर्माणाधीन स्वास्थ्य कार्यालय प्युठान, रुकुम पूर्व अस्पताल, ट्रमा सेन्टर, लमहीको लागि रु ८ करोड, लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको लागि १ अर्ब विनियोजन गरिएको छ ।
पोषणका सूचकहरु राष्ट्रिय औसतभन्दा कमजोर भएका कपिलवस्तु, बाँके, बर्दिया, रुपन्देही र दाङमा पोषण विशेष कार्यक्रम सञ्चालनका लागि ८ करोड,दुर्गम तथा बिरामीको चाप रहेको स्थानमा विशेषज्ञ एवम् शल्यक्रिया सेवा सहितको स्वास्थ्य शिविर कार्यक्रमका लागि रकम, प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीमा विशेषज्ञ सेवा र लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवललाई विशेषज्ञ चिकित्सालयको रुपमा स्तरोन्नति गर्न ३ करोड छुट्याइएको छ ।
मधुमेह, उच्च रक्तचाप, क्यान्सर जस्ता नसर्ने रोग न्यूनीकरण तथा रोकथाम र स्वास्थ्य प्रवर्धनका लागि ४ करोड, मुटुको भल्भ प्रत्यारोपण, मृगौला प्रत्यारोपण र क्यान्सर रोगको उपचारमा प्रति व्यक्ति २ लाख रूपैयाँको सहुलियत, बढ्दो मानसिक स्वास्थ्यको समस्या तथा आत्महत्याको रोकथाम र उपचारको लागि नागरिक आरोग्य कार्यक्रम, जीवनशैली परिवर्तन, योग शिविर सञ्चालन र मनोसामाजिक परामर्श लगायतका कार्यक्रमका लागि २ करोड, निःशुल्क वितरण गरिने औषधिका लागि ३ करोड र उपकरणका लागि १२ करोड रकम विनियोजन गरिएको छ ।
लुम्बिनी प्रदेशले ल्याएको बजेटमध्ये स्वास्थ्यमा ४ अर्ब ९५ करोड रकम छुट्याएको छ।
प्रकाशित मितिः २०८२ असार २ गते, बिहान ६ः३३ बजे

