प्यारलाइसिसको उपचार

विचार/ब्लग हेडलाइन्स

डा. हेमराज कोइराला

पक्षघात, प्यारलाइसिस, लकुवाजस्ता नामहरूले सम्बोधन गरिने यो रोग केन्द्रिय स्नायु तन्त्रको (मष्तिस्क) कार्यक्षमतामा अचानक आएको ह्रास (मष्तिस्कघात) को कारणले हुने गर्दछ। मष्तिस्कलाई रक्त आपूर्ति गर्ने धमिनीहरु फुटेर रक्तस्राव भई वा रक्तनली भित्रै खुनको थेग्ला जमेर वा टाउकामा चोट लाग्न गई वा अन्य कारणले रक्त नली थुनिएर स्नायु तन्तुहरुमा भोजनबाट प्राप्त पोषक तत्वहरु र प्राणवायु अक्सिजन आपूर्ति हुन नसक्दा स्नायु तन्तुहरु मर्न जाने समस्यालाई मष्तिस्कघात भनिन्छ।

विश्व स्वस्थ्य संगठनले सन् २०११ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष एक करोड सत्तरी लाख (१७ मिलीयन) मानिसहरू मष्तिस्कघातको चपेटामा पर्ने गरेका छन् जसमध्ये बैसठ्ठी लाख अकालमै यो लोक छोड्न बाध्य छन् भने बाँचेका मध्ये आधा रोगीहरू दिर्घकालीन पक्षाघात (हेमीप्लेजीया) भएर नरकीय जीवन जीउन बाध्य छन् । बाँचेकाहरूमये दिर्घकालीन विकलाङ्गीहरूलाई छाडेर अरु १६ लाख चिकित्सकीय सेवा पश्चात सामान्य जीवनमा फर्किएका छन् भने ३८ लाख सामान्य विकलांगताका (हेमीपेरेसिस) साथ बचिराहेका छन्।

एक अनौपचारिक अध्ययनका अनुसार नेपालमा पनि हरेक वर्ष ५० हजार व्यक्तिलाई मस्तिष्कघात हुने गरेको पाइएको छ, जसमध्ये १५ हजारको मृत्यु हुन्छ । हृदयघातपछि मृत्युको दोस्रो मुख्य कारण वनेको मष्तिस्कघात अस्पतालहरुको सघन उपचारकक्ष (आईसियु) प्रवेशको र विश्वब्यापि विकलांगताको प्रमुख कारण पनि हो । अप्रत्यासित रुपमा अपर्झट हुने, तत्कालै ज्यान पनि जाने र बाँचिहाले पनि अधिकांश विकलाङ्ग, परनिर्भर र पराश्रीत भएर बाँच्नुपर्ने यो समस्यालाई बेलैमा चिन्न सके यसबाट हुने मृत्यु लाई न्यूनीकरण गर्न र रोग लागेर नारकीय जीवन बाँची रहेकाहरुलाई सामान्य जीवनमा यथोचित पुनर्स्थापना गर्न सजिलो हुन्छ । मष्तिस्कघात पश्चात बाँच्नेहरुमा देखिने विकलांगता घातले मष्तिस्कलाई पु¥याएको क्षति, घातको क्षेत्र र प्रकृतिको आधारमा निर्धारित हुन्छ । घात हुँदा नष्ट भएका स्नायुतन्तुहरुले गर्ने कार्य सूचारु हुन नसक्दा शरीरको एकापट्टी नचल्ने (पक्षाघात) र शरीर, मन र भावनासंग सम्वन्धित समस्यहरु देखापर्दछन्।

कसलाइ हुने सम्भावना बढी हुन्छ?
५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोलका समस्या भएकाहरु, उपरोक्त रोगहरुका औषधि कहिले खाने कहिले छाड्नेहरु, अति व्यस्त जीवनशैली जीउनेहरु, तनाव, चिन्ता, शोकमा परेकाहरु, मुटु तथा रक्तसंचार सम्बन्धी समस्या जस्तै, एट्रियल–फ्रिविलेशन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्वोसिस, एन्युरिजम, पुरानो माइग्रेन भएकाहरुमा मष्तिस्कघातको जोखिम उच्च हुन्छ। यसवाहेक रक्तस्राव सम्वन्धि समस्य जस्तै, घाउ हुदा रगत वगेको वगेकै हुने वा नसाभित्रै रगत जम्ने रोग भएकाहरु, गर्भनिरोधक औषधि खाने महिलाहरु, परिवारमा मष्तिस्कघातको इतिहास भएकाहरु, हालसालै अथवा पुरानो मष्तिस्क संक्रमणले ग्रस्त रोगीहरुमा मष्तिस्कघात ज्यादा देखिएको छ। यसका अलावा श्रम र व्यायाम नभएको निष्क्रिय जीवन जीउनेहरु, धुम्रपान र मद्यपान गर्नेहरु, मोटोपन, रेशा र चोकर नभएको मिठो खानेकुराको दीर्घकालिन सेवन, भिटामिन र एण्टी अक्सिडेन्ट नभएको खानेकुराको सेवन, आपना अडान र निर्णयहरु प्रति अडिग रहने टाइप “ए” व्यक्तित्व भएका व्याक्तिहरु यो रोगको उच्च जोखिममा पर्दछन्।

मष्तिस्कघातपछिका समस्याहरु:
सघन तथा आपतकालिन उपचार पश्चात पनि १५ प्रतिशत विरामीलाई वचाउन सकिएको छैन। वाचेका मध्ये १० प्रतिशत पूर्ण सकुशल हुन सकेका छन् भने ७५ प्रतिशतमा सामन्य, मध्यम, परनिर्भर हुनुपर्ने, निरन्तर चिकित्सा सेवा लिन पर्ने खालका विकलङ्गता देखा पर्दछ । मष्तिस्कघातले आघात पु¥याएको स्नायुकेन्द्रको स्थिती र व्रेन ड्यामेजको प्रकृतिको आधारमा विभिन्न शारीरिक तथा मानसिक विकृतिहरु देखा पर्दछ जसमध्ये प्यारालाइसिस मूख्य हो । अन्य समस्यहरुमा एकापटिका हात खुट्टा वा अनुहारमा झमझमाहट, भारीपन वा कमजोरी देखिनु,खान चपाउन, निल्न र स्वाद पाउन गाह्रो हुनु स्पर्शादि शारीरिक संवेदना थाहा पाउने नहुनु, दृष्टि धुम्मिनु वा वन्द हुनु, मुड परीवर्तन भइरहनु, स्मरणशक्ति, एकग्रता वा चेतनाको स्तरमा परीवर्तन देखिनु र भावनात्मक रुपमा कमजोर हुने जस्ता समस्य आउन सक्छ।

उपचार तथा पुर्नस्थापना:
मष्तिस्कघात हुने बित्तिकै सर्वप्रथम आपतकालिन उपचार गराउनु पर्ने हुन्छ । आपतकालिन व्यवस्थापन पश्चात फेरी मष्तिस्कघात हुन नदिन यसका जोखिमहरुको निदान गरेर नियमित रुपमा चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्छ । घातपछि देखिएको विकलाङ्गता (पक्षाघातको) निवारण गर्न पुर्नस्थापना नितान्त जरुरी छ।

सहि समयमा पुर्नस्थापना हुन सकेमा विकलाङ्ता कम गराएर परनिर्भर हुनवाट बचाई दैनिक जीवनका कठिनाइहरु हटाउँदै बिरामीलाई स्तरिय जीवन दिन सकिन्छ । पुर्नस्थापना पनि चिकित्सक, फिजियोथेरापिष्ट, नर्सिङ स्टाफ, स्पीच थेरापिस्ट, मनोवैज्ञानिक, योगगुरु, घरका सदस्यहरु र सहयोगीहरुको सामूहिक प्रयास हो। पुर्नस्थापना कोही उपचार विधिहरु अवस्था हेरेर सघन उपचार कक्षवाटै सुरु गर्नुपर्ने पनि हुन सक्छ।

आपतकालिन व्यवस्थापन पश्चात पक्षघात भएकाहरुलाई कहिले पनि असाध्य सम्झेर घरमा थन्क्याएर राख्न हुदैन, जतिसक्दो चाँडो पुर्नस्थापना केन्द्रमा लगेर उपचार गराउनु पर्छ। केन्द्रमा चिकित्सकहरुले रोगीको सम्पूर्ण अवस्था जाँच गरी मष्तिस्कघातले ल्याएको विकलाङ्गतालाई राम्रोसँग केलाएर त्यसका निवारणका लागि थरीथरीका थेरापी र विधीहरुको प्रयोग गर्छन् । ती मध्ये निम्न विधिहरूको यथोचित प्रयोग हुन नितान्त जरूरी छ।

फिजियोथेरापीः
भौतिक उपचार विधिहरूलाई आधार बनाएर दिईने यो चिकित्सा पद्तिको पक्षाघातको ठूलो भूमिका छ। यस अन्तरगत थरी–थरीका ब्यायाम तथा थरी–थरीका विद्युतिय तरंगहरू प्रवाह गराएर गरीने उपचार विधि हरू पर्दछन् । प्यासिभ एक्सरसाइज, एक्टिभ असिस्टेड, एक्टिभ रेसिस्टेड पिएनएफ एक्सरसाइज, स्ट्रेचिङ्ग, स्टेन्थेनिङ्ग एक्सरसाइज, ब्यालेन्सिङ्ग एक्सरसाइज, कोअर्डीनेशन एक्सरसाइज, मशल स्ट्युमुलेशन, गेट टेनिङ्ग, जस्ता उपचार विधिहरू यस अन्तरगत पर्दछन्।

अकुपंचरः
अकुपंचर परम्परागत चाईनीज उपचार पद्यतिको एउटा आयाम हो । शरीरका विभिन्न विन्दुहरूमा पातलो सियो राखेर विद्युतिय तरंगहरू प्रवाह गराएर वा नगरीकनै तन्तुलाई उत्तेजित गराई उपचार गरिन्छ । पक्षाघातको पुर्नस्थापनामा यस विधिको पनि पृथक भूमिका छ । घातको साथ साथै हुने तन्तुहरूको दुखाई कम गर्न पनि यसले सहयोग गर्छ।

तेल मालिसः
तेल मालिस गर्दा शरीरका तन्तुहरूलाई प्यासिभ एक्सरसाइज हुनुका साथै रक्त प्रवाह सुचारु हुन्छ र रोगी चाँडै लाभान्वित हुनपुग्छ । तर मालिस तालिम प्राप्त व्यक्तिद्वारा नै गराइनु पर्छ। पक्षाघातको प्रकृति अनुसार मालिसको तरीका छुट्टाछुट्टै हुन्छ।

प्राकृतिक उपचारः
प्राकृतिक तरीकाले, प्राकृतिक सम्पदाको उपयोग गरी गरीने जडीबुटीको लेप, वेट सिट प्याक, कन्ट्यास्ट बाथ, स्पोन्ज बाथ आदी उपचार पद्घतिहरू रोगको प्रकृति र अवश्था हेरेर दिईन्छ। यी उपचार पद्दति हरु ले छालामा रहेका स्नायु रिसेप्टरहरु लाई उत्तेजित गराएर कमजोर मांसपेशीहरुलाई मजबुत बनाउन्छन्।

मनोपरामर्शः
पक्षाघात शारीरिक मात्र नभएर मानसिक समस्या पनि हो। मानसिक तथा भावनात्मक अस्वस्थता लाइ न्यूनीकरण गर्न मनो परामर्शको ठूलो हात छ। मनोपरामरसका विज्ञद्वारा परामर्श गराइनुपर्छ।

स्पिचथेरापीः
मस्तिष्कघात भएका आधा रोगीहरुलाई बोली जाने समस्या पनि हुन्छ। बोली भएका हरूकाको पनी पक्षाघातका कारण बोली अस्पष्ट हुनसक्छ। यसका लागि स्पिचथेरापी गर्नुपर्छ।

हेरचाहः
पक्षाघातले पीडितहरु लाई व्यक्तिगत हेरचाहको ठूलो जरूरी हुन्छ। विशेष गरी दिसापिसाबको हेरचाह, कफ र रयालको सफा सुग्घर राख्नु अत्यन्त जरूरी छ। बिरामीको हेरचाह जति राम्रो भयो त्यति जति छिटो निको हुन्छ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय चितवनका मेडिकल डाइरेक्टर हुन् ।

प्रकाशित मितिः २०८१ भदौ १३ गते, बिहान ७ः११ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *