गणेश पंन्थी
सामाजिक सञ्जाल भन्ने बित्तिकै facebook, Tiktok, Twitter लाई मात्र मान्ने हाम्रो समाज छ । वास्तवमा सामाजिक सञ्जाल अन्तरक्रियात्मक कम्प्यूटर मध्यस्थता प्रविधी हो जसले आभासी समुदाय र सञ्जालहरु मार्फत जानकारी, विचार, रुची र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा दिन्छ। यसको उपयोग सामाजिक सम्बन्ध बाहेक उपयोगकर्ता सामाग्रीलाई संसोधनको लागि उच्च पारस्परिक मञ्च बनाउनको लागि मोवाइल र वेभ आधारित प्रविधिको रूपमा गर्न सकिन्छ । सूचना तथा प्रविधीको विकास सँगसँगै हाम्रो देश नेपालले पनि पछिल्लो समय तिव्र रूपमा फड्को मारेको देखिन्छ। जसमा सामाजिक सञ्जालको प्रयोगको दर पनि बढेको पाइन्छ।

बालक देखी बृद्धसम्ममा यसको प्रयोग बढ्नुका साथै सञ्चार छोटो समयमा भएको पाइन्छ। पहिले पहिले कुनै सूचना तथा जानकारी दिनुपरेमा गाउँका कटाल वा वल्लो पल्लो घरमा बोलाएर सूचना दिइन्थ्यो । सो समयको सूचना भरपर्दो एवं विश्वासिलो पनि हुने गर्दथ्यो। त्यसका साथसाथै गाउँमा होस् वा कुनै घरमा नयाँ मानिसको आगमनले सम्पूर्णमा जानकारी हुने गर्दथ्यो । घरमा कोहि पाहुना बास बस्न आउँदा समेत खबर सोध्ने देखि लिएर अन्य सम्पूर्ण कुराहरु अगेनाको डिलमा तथा ठूलो ओछ्यानमा बसेर गरिन्थ्यो। पाहुनाको बारेमा मात्र नभएर एक अर्काको गाउँ तथा ठाँउको नालिबेली नै थाहा हुने गर्दथ्यो । तर आजकल पाहुना आउने बित्तिकै घरको Wi-Fi पासवर्ड दिने र सामाजिक सञ्जाल चलाएर बस्ने गरिन्छ। न कुनै सोधखोज हुन्छ , न कुनै कुराकानी, केवल हुन्छ त के छ खबर ? ठिकै छ । सबैलाई ठिक छ होला भन्दैमा कुराकानी सकिन्छ । फेरी उहि आफ्नै तालमा रमाइन्छ । घरमा आएका पाहुनासँगको साइनो समेत कतिलाई त थाहा नै हुदैन। हुन त हाम्रो समाज कसैको जन्मदिनमा Happy Birthday, कसैको मृत्युमा हार्दिक श्रद्धान्जली, बिबाहमा Happy Married Life , वैवाहिक वर्षगांठमा Happy Anniversary मा मात्र सिमित रहेको देखिन्छ ।
कुनै घटना वा परिदृष्य देख्नासाथ सहयोगको सट्टा फोटो वा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट कसले छिटो गर्ने भनेर प्रतिस्पर्धा नै भएको पाइन्छ । पोखरामा भएको प्लेन दुर्घटनामा सहयोग माग्दा समेत भिडियो खिच्न ब्यस्त भएका मानिसहरुको जमात हाम्रो आँखामा ताजै छन् । हामीमा views , like ,comments मा मात्र रमाउने बानी परेको छ । बालक होस् वा वृद्ध हामी कसैको दु:खमा रमाउने बानी परेको देखिन्छ । आजको युग २१ औं शताब्दीको युग भनिएपनि सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोगको बारेमा हामिले बुझ्न खोजेको पाइदैन । बालकदेखि वृद्ध सम्पूर्णमा यसको सही सदुपयोग गरेमा फाइदा दिन्छ भन्नेमा दुईमत नहोला। उदाहरणका लागि विद्यार्थीको लागि ज्ञानगुनको कक्षा साथै अनियमित शिक्षा facebook, Tiktok, Twitter, Instagram , Viber , Youtube लगायत अन्य सामाजिक सञ्जालबाट प्राप्त गर्न सकिन्छ । सामाजिक सञ्जाल मार्फत असल नागरिकको रूपमा विकास गराउन सकिन्छ।
प्रविधीमा हुने विकासलाई स्वीकार गरेर यसका सकारात्मक पक्षहरुलाई दैनिक जिवनमा प्रयोग गर्दै लैजानु उत्तम हुन्छ। सामाजिक सञ्जाल प्रबिधिको विकासको परिवर्तन भएकाले नकार्न सकिने अवस्था छैन । तसर्थ प्रविधिको विकास सँगसँगै सामाजिक सञ्जाल नैतिक शिक्षाको एउटा पक्ष भएकाले सभ्य तरिकाले प्रयोग गर्न सकेमा हाम्रो साघुँरिएको समाज वृहत अवस्य बन्ने छ ।
प्रकाशित मितिः २०८० साउन २८, बिहान ९ः०७ बजे

