नेपाल स्वास्थ्य,
राष्ट्रपतिको सवारीको समयमा ट्रमा सेन्टरका चिकित्सक जनिथ सिंहमाथि कुटपिट भएको घटनामा कुटाई खाने डाक्टरले फेसबुकमा स्टाटस लेख्दै हवल्दारसाबलाई कारवाही होइन भूल सुधार गर्न चाहिने अनिवार्य तालिम दिन र बलिको बोको नबनाउन आग्रह गरेका छन् l
हेरौ फेसबुक स्टाटस:
२४ घण्टा कट्यो, अबजरभेशन मै छु, ठिकै छु,
हवल्दारसाबलाई कारवाही होइन भूल सुधार गर्न चाहिने अनिवार्य तालिम दिइयोस्, बलिको बोको नबनाइयोस्। मैले उहाँलाई माफ गरिसकें। सायद उहाँले पनि मलाई माफ गरिसक्नु भो। गल्ती सबैबाट हुन्छ, माफी पनि दिइन्छ तर माफीले बदनियत र अज्ञानतालाई बदल्न सक्दैन। त्यसैले कसै न कसैले यस घटनाको जिम्मेवारी लिनै पर्छ।
विवादलाई कसरी शान्तिपूर्ण तरिकाले समाधान गर्न सकिन्छ भन्ने ज्ञान नभएको, व्याटन चलाउँदा कहाँ हान्नु हुँदैन भन्ने ज्ञान नभएको, संभवतः मानसिक तनाबबाट गुर्जिरहेको व्यक्तिलाई ड्युटीमा खटाउनु भनेको सम्बन्धित नेतृत्वको असक्षमता हो। अनि एउटा गल्ती भइसक्दा पनि पुनः स्वास्थ्यकर्मी माथि लाठी बर्साउने र बन्दुक तेर्स्याएर निर्घात कुटपिट गर्ने कार्यले ड्युटीमा खटाउनेहरुको नियत, समन्वयता, र नेतृत्वता बारे नै प्रश्न खडा गर्छ। यसबारे भि आई पी सवारीको मुख्य हाकिम सँग स्पष्टीकरण लिइयोस। चित्त बुझ्दो जवाफ को आशा राखेको छु। दिन नसके गृह, स्वास्थ्य र एन एम ए ले तिनलाई कारवाहीको दायरामा ल्याउने हिम्मत राखोस्।
अनि सम्मानीय राष्ट्रपति ज्यू, एक जना नव निर्वाचित माननीयज्यूले हजुरले मसंग माफी माग्नु पर्छ भन्नु भाको रैछ, त्यो पर्दै पर्दैन। राष्ट्रपति भनेको हामी सारा नेपालीको संरक्षक/अभिभावक बराबरको ओहदा हो। सो पद प्रति म लगायत मेरो सम्पूर्ण फ्रेटर्निटी को सम्मान र निष्ठा सधैं रहनेछ। हजुरलाई एउटै मात्र अनुरोध, यो भी भी आई पी सवारी प्रणाली हटाइदिनुहोस् । जनता र सुरक्षा संयन्त्र दुवैले धेरैले दुःख पाइसके, आजित भइसके। हिजोको सवारी मा त्यति तडक भडक नहुँदो भए कुनै अप्रिय घटना घट्ने नै थिएन! हिजोको समस्याको मूल जरो भनेकै पिक आवर मा भी भी आई पी को सवारी हुन पुग्यो। माननीय ज्यू, बचेका केही दिन के सबैको सराप र गाली खेपेर शितल निवासमा बिताउने र होइन? परिवार सँग चील गर्नुहोस्!
अनि माथि उल्लेखित विभिन्न पदमा आसीन सबै हाकिमहरु एवम् माननीय राष्ट्रपति ज्यू स्वयं लाई पनि जिकिर गर्न चाहन्छु, आज राष्ट्रमा त्यस्तै संकट आइपरेमा हजुरको विकल्प छ, मेरो छैन। नपत्याए डाक्टर साथीभाइ, इष्टमित्रहरुलाई सोध्नु होला। हजुरको पद हो, आज छ भोलि छैन, म त डाक्टर हुँ, मेरो त जीवन भरको कर्म नै यही हो। निश्चिन्त हुनुहोस, टाउको नफुट्ने भए म अझै पारंगत हुँदै जानेछु। दम्भ होइन, यथार्थ हो! सरकारी सेवामा नै छु, भेट नहोला भन्न सकिन्न।
फोटो – धेरै साथीभाई सहकर्मीको ठम्याइ चै म डाक्टर जस्तो देख्दिन, डाक्टर जस्तो लुगा लगाउँदिन त्यसैले पितिएँ।अब अनुहार र लुगाकै भर लाग्ने हो भने त राष्ट्रपति भनेरै पनि कसरी छुट्याउने? आई डी त देखाउन पाइन्छ नि! अनि त्यो पनि नहेरेपछि कसको के लाग्छ। अनि साइकल चढेकाले पनि प्रहरीले पत्याएनन् होला भन्ने अडकल गरियो। गाडी चढ्ने सल्लाह दिए। फोटोमा स्वर्गिय श्रद्धेय नेता मदन भण्डारी र उनको साइकलको फोटो। आज उहाँ जीवित हुनुभएको भए सबैलाई सकस पर्ने गरी भी भी आई पी सवारी खोज्थे होलान् त?अनि माननीयज्यू हजुर पनि कहिले काहीँ साइकल चढ्नुस्, बाहिर सडकमा नभए शितल निवास भित्रै भएपनि, स्वास्थ्यको लागि राम्रो हुन्छ।🙏
प्रकाशित मिति: आइतबार, माघ २९, २०७९ ०५:५८

