नेपाल स्वास्थ्य डेस्क,
नेपाल स्वास्थ्य डटकमको यस श्रृखंलामा अन्तर्वार्ताको लागि हामिले स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख श्री पशुपति आचार्यलाई छनौंट गरेका छौं । उहाँसँग स्वास्थ्य कार्यालय गुल्मीले गरेका प्रमुख कार्य र समग्र जिल्लाको स्वास्थ्य स्थितिमा आधारित रही संवाद गर्ने प्रयत्न गरिएको छ । प्रस्तुत छ आचार्यसँग नेपाल स्वास्थ्य डटकमले गरेको संवादः

स्वास्थ्य कार्यालय गुल्मीले गरिरहेका प्रमुख कार्यहरुलाई संक्षेपमा बताइदिनुस् न ?
स्वास्थ्य कार्यालय गुल्मीले विशेषगरी पालिकास्तरमा रहेका कार्यक्रमको सहजिकरण एवं समन्वय गरिरहेको छ सँगसँगै नियमित खोप तथा कोभिड खोपको संचालन, रोग नियन्त्रणतर्फ डेंगु, टिबी, लेप्रोसी, मलेरियाको परीक्षण, उपचार र व्यवस्थापनमा हामि जुटिरहेका छौं । परिवार स्वास्थ्य अन्तर्गत सुरक्षित मातृत्व र परिवार नियोजन कार्यक्रमको संचालन गरिरहेका छौं भने यी कार्यक्रमहरुको लागि आवश्यक पर्ने तालीम, समन्वय र अनुगमनको काम पनि संगै भैरहेको छ । बाल स्वास्थ्य अन्तर्गत सिबिआईएमएनसिआई र पोषण कार्यक्रम संचालन गर्दे सम्पूर्ण कार्यक्रमहरुको योजना तर्जुमा गर्ने, कार्यन्वयन गर्ने र अनुगमन तथा मुल्याकंन पनि गरिरहेका छौं ।
जिल्लामा रहेका विभिन्न स्वास्थ्य संस्था मार्फत निवारक र उपचारात्मक सेवालाई कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
खासगरी पालिकास्तरमा रहेका स्वास्थ्य संस्था जस्तै पिएचसी, एचपी, यूएचसी, सिएचयू, बिएसियू मार्फत रोकथाम कार्यक्रमहरु इपिआई, ग्रोथ मनिटरिगं, एएनसी, आएनसी, पिएनसी, इन्सिच्यूस्नल डेलिभरी, विधालय स्वास्थ्य शिक्षा, प्रारम्भिक डाइग्नोसिस लगायतका क्रियाकलापको संचालन गरिरहेका छौं । न्यूनतम सेवा मापदण्ड पूरा गर्दे आधारभूत स्वास्थ्य सेवाको लागि आवश्यक औषधी व्यवस्थापन गर्दे उपचारात्मक सेवा पनि संचालन भैरहेको छ ।

प्राकृतिक प्रकोप र महामारीको अवस्थाबाट पार पाउनको लागि तपाइहरुको भूमिका कस्तो रहन्छ ?
प्रकोपको प्रारम्भिक डाइग्नोसिसको लागि पालिकाहरुसँग समन्वयसँगै यसको व्यवस्थापन र रोकथामको लागि हामिले केन्द्र, प्रदेश र स्थानीय तहहरुसँग समन्वय गर्ने गर्छों । खोपबाट बचाउन सकिने महामारीका खोपहरुको सम्पूर्ण व्यवस्थापन, ओसारपसार, वितरण, प्रयोग र अनुगमन गर्नेजस्ता काममा हाम्रो प्रमुख भूमिका हुने गर्छ ।
जिल्लामा रहेका पालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्य सम्बन्धी संस्थाहरुसँग कसरी समन्वय गरिरहनु भएको छ ?
पालिकामा रहेका स्वास्थ्य शाखा प्रमुखसँगको समन्वयमा स्वास्थ्य संस्थासम्म पुगी संघीय तथा प्रदेशबाट तोकी आएका कार्यक्रमको संचालन गर्ने र पालिकामा तोकिएका कार्यक्रममा सहजिकरण, अनुगमन, मुल्याकंन र पृष्ठपोषण गर्नेगरी हामिले काम गरिरहेका छौं ।
जिल्लाभित्र औषधी, उपकरण तथा अन्य स्वास्थ्य सामाग्रीहरुको आपूर्तिमा तपाइहरुको भूमिका कस्तो रहन्छ ?
केन्द्र तथा प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट खरीद भएका औषधी जिल्लासम्म पृर्याउने, आवश्यकता अनुसार पालिकाहरुमा वितरण गर्ने, रोगको प्रकोप र दर हेरी पालिकालाई औषधीको पूर्वानुमान गर्न सहयोग गर्ने लगायतका काममा स्वास्थ्य कार्यालयले आफ्नो भूमिका खेलिरहेको छ ।
स्वास्थ्य शिक्षालाई तल्लो तहसम्मै पृर्याउन तपाइहरुले कसरी योजना र कार्यक्रमको तर्जुमा गरिरहनु भएको छ?
स्वास्थ्य शिक्षालाई प्रत्यक्ष जनतासमक्ष पृर्याउन स्वास्थ्य आमा समूह पूर्नजागरण, ६० कटेका महिला स्वास्थ्य स्वंयमसेविकाको अवकास गरी सो ठाउँमा एसईई उतीर्णलाई छनौंट गर्ने, विधालय स्वास्थ्य शिक्षा, गाउँघर क्लिनिक, खोप क्लिनिकमार्फत समुदायस्तरसम्म हामी पुगिरहेका छौं । यसरी स्वास्थ्य शिक्षालाई जतिसक्दो समुदाय अझ भन्नुपर्दा व्यक्तिसम्मै पृर्र्याउन हामी प्रयत्नशिल छौं ।
अन्त्यमा रोगको सिकार हुने मानिसको संख्यामा दिनानुदिन बढोत्तरी देखिन्छ । जिल्लाबासीलाई यसबाट थोरै भएपनि मुक्ति पाउन के सुझाव दिनुहुन्छ?
गुल्मी जिल्लामा ६७ प्रतिशत नसर्ने रोगको भार छ तसर्थ जाँड रक्सी सूर्तिजन्य पदार्थ, इन्डोर धुँवा, रासायनिक पदार्थको प्रयोग जस्ता कुरामा ध्यान दिनु आवश्यक छ । दैनिक जीवनयापन पद्धति विशेषत् खानपानमा सर्तकर्ता अपनाउनु पर्ने देखिन्छ । रोग नलागेपनि कम्तिमा ६/६ महिनामा स्वास्थ्य परीक्षण गर्ने, पालिका र स्वास्थ्य संस्थामा ल्याब परीक्षणको व्यवस्था गरी स्क्रीनिगंमा जोड दिनुपर्ने, नसर्ने रोगको रोकथाम र मानसिक रोगको पहिचान र न्यूनिकरणको लागि विभिन्न कार्यक्रम संचालन गर्नुपर्ने र व्यक्तिगत सरसफाई, योग, ध्यान, खानपानजस्ता कुरामा सुधार गर्न सकिए अवश्यपनि रोगको सिकारबाट धेरै हदसम्म बच्न सकिन्छ ।

प्रकाशित मितिः २०७९ मंसिर १० गते, विहान ९ः५१ बजे

