डा.मलेकू भन्छिन्ः ‘मेडिकल उपचारले अटिजम निको हुन्छ भन्ने भ्रम अभिभावकले पाल्नु हुँदैन’

अन्तर्वार्ता हेडलाइन्स

पछिल्ला वर्षहरूमा अटिजम नेपालको स्वास्थ्य क्षेत्रमा अर्को चुनौती बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार नेपालमा दुई लाख ५० हजार देखि तीन लाख अटिजम भएका व्यक्ति रहेको अनुमान छ । यसमा नेपाल सरकारको यकिन र अपडेटेड तथ्यांक छैन ।

अटिजम कस्तो अवस्था हो, कसरी पहिचान गर्ने ? उमेरअनुसार यो अवस्थाले कस्तो समस्या निम्त्याउँछ ? के अटिजम भएका व्यक्ति (अटिष्टीक पपुलेसन)को दैनिकी सुधार गर्नै सकिँदैन त ? यी विविध विषयवस्तुमा रहेर अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा. सुनिता मलेकूसँग गरिएको संवाद ।

अटिजम कस्तो अवस्था हो ? कुन उमेरदेखि पहिचान हुनसक्छ ?
अटिजम कुनै रोग नभइ न्युरोलोजिकल डेभ्लप्मेन्टको एउटा अवस्था हो । बालबालिकाको हुर्काइसँगै सञ्चार र सामाजिक व्यवहारमा देखिने समस्या हो । यसका लक्षण एक डेढ वर्षदेखि नै देखिए पनि स्कुल जाने उमेर भएपछि मात्रै पहिचान भएको पाइन्छ ।

कस्ता लक्षण देखिए बालबालिकामा अटिजम भएको अनुमान गर्ने वा पहिचानका लागि पुर्‍याउने ?
अटिजम भएका व्यक्तिको मुख्य समस्या नै सञ्चार र सामाजिक व्यवहार उमेर अनुसार नहुनु हो । बोल्न नसक्ने उमेरका बालबालिकाले हाउभाउ, आँखाको इशारा समेत राम्रोसँग गर्दैनन् । त्यस्तै, उमेर बढ्दै जाँदा उनीहरूमा राम्रोसँग सञ्चार गर्न नसक्ने, सामाजिक व्यवहार बुझेर सोहीअनुसार नचल्ने, कतिपयमा नबोल्ने एउटै क्रियाकलाप पटक पटक दोहोर्‍याउनेजस्ता लक्षण देखिन्छन् ।

उनीहरूको उमेरअनुसार सामाजिक क्रियाकलाप र सिकाइको विकास हुँदैन । कुनै कुरा आवश्यक परे मुखले नभन्ने अरुको हात समाएर त्यो सामानमा लगेर राखिदिने, आँखामा आँखा नजुधाउने, साथी बनाउन नजान्ने, बुझेर खेल नखेल्ने, शब्दहरू दोहोर्‍याउने, कुनै आवाजमा कान थुन्ने लक्षण अटिष्टीक पपुलेसनमा देखिन्छन् ।

किशोरावस्थामा प्रवेश गर्दा वा चलिरहँदा अटिजम भएका व्यक्तिमा कस्ता समस्याहरू निम्तिन सक्छन् ?
अटिष्टीक पपुलेसनको एक प्रमुख समस्या भनेको उनीहरू किशोरावस्थामा प्रवेश गरेपछि ४० प्रतिशत किशोरकिशोरीलाई सिजर डिसअर्डर देखिन्छ  । हर्मोनल परिवर्तन हुँदा त्यसलाई बुझ्न नसकेको खण्डमा धेरै चुनौतीहरू आइपरेका उदाहरण प्रश्स्तै छन् ।

उमेर परिवर्तनसँगै चाहिने कुराहरू बताउन नसक्ने, अरुलाई सेयर गर्न नसक्ने हुँदा उनीहरूमा एन्जाइटी, हेजिटेसन, रिसाहा स्वभाव, आफैँलाई हानि गर्ने क्रियाकलापहरू देखिन्छ । त्यतिमात्र नभइ यौन इच्छा, विपरीत लिंगीप्रतिको आकर्षण हुँदा कसैलाई टोलाएर हेर्ने, छुने यस्ता क्रियाकलाप देखाउँछन् ।

कतिपयले आफ्नो निजी समय र आफ्ना इच्छा पूरा गर्ने स्थानको पहिचान गर्न नसक्दा पब्लिकमा नै यौन क्रियाकलापहरू पनि गरेको पाइन्छ । पब्लिकमा नै गोप्य अंगहरू छोएर बस्ने, हस्तमैथुन गर्ने, अरुको अगाडि नै प्याड निकालेर फाल्नेजस्ता समस्या धेरै अभिभावकले भोगेका छन् । यी घटना नहुन् भनेर हामी किशोरावस्था प्रवेश गर्नुअघि नै तालिमहरू दिन्छौँ ।

तालिम कस्तो माध्यमबाट दिँदा प्रभावकारी हुन्छ ?
अटिजम केयर नेपाल सोसाइटीबाट अभिभावक र बालबालिका दुवैलाई सुरुमा ११ हप्ते तालिम दिइन्छ । यसमा बालबालिकालाई गुड टच ब्याड टच, गोप्य अंग, किशोरावस्था र शारीरिक परिवर्तन इत्यादीबारे भिजुअलमार्फत् तालिम दिइन्छ । अटिष्टीक पपुलेसनलाई सबैभन्दा प्रभावकारी तालिम भनेको भिजुअल र चित्र नै हो ।

यस्तै, अभिभावकलाई पनि दुई/तीन वर्ष अघिदेखि नै प्राक्टिकल गरेर देखाउन सुझाव दिन्छौँ । जस्तै, आमाको महिनावारी हुँदा हरेक दिनचार दिन क्यालेन्डरमा रातो लगाउने, प्याडको प्रयोग स्टेप बाइ स्टेप सिकाउने । यो बाहेक उनीहरूलाई युवा अवस्थाको पनि छुट्टै तालिम दिनुपर्ने हुन्छ । यस्तो सिकाइले अटिष्टीक ब्रेनलाई सिकाउन सजिलो हुन्छ ।

अटिजम भएका व्यक्तिहरूको दैनिकी कतिसम्म सुधार हुनसक्छ ?
अटिजम पूर्ण रूपमा निको हुने समस्या होइन । तर, समय पहिचान भइ सही केन्द्रमा पुर्‍याउनसके उनीहरूलाई आफ्नो घरमा आत्मनिर्भर बनाउने, आफ्नो काम आफैँ गर्नेसम्मको बनाउन सकिन्छ । यसको एकमात्र माध्यम भनेको तालिम प्राप्त अभिभावक नै हुन्, उनीहरू नै बच्चाको लागि थेरापिष्ट बन्न सक्छन् । यस्तै, स्कुलमा उनीहरूको सिर्जनशीलता र ट्यालेन्ट्सीअनुसार सिकाइ गराइन्छ, जसले उनीहरूलाई कुनै एक प्रतिभामा उजागर गर्न सहयोग हुनसक्छ ।

हामी स्कुलमा उनीहरूलाई व्यवहार र प्राविधिक शिक्षा दुवै दिन्छौँ, कतिपय बालबालिका आत्मनिर्भर, समावेशी स्कुलमा पढ्न सक्ने र परिवारको राम्रो सहयोगी बनेका उदाहरण पनि छन्, बाहिरी समाजमा घुलमिल हुन भने निकै कठिन छ । कुनै मेडिकल उपचारले अटिजम निको हुन्छ भन्ने भ्रम अभिभावकले पाल्नु हुँदैन ।
– डा. सुनिता मलेकूसँग बाह्रखरी डटकमकी अस्मिता रिजालले गरेको कुराकानी ।

प्रकाशित मितिः २०८२ बैशाख २३ गते, बिहान ११ः१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *