कविता-कर्मचारी समायोजनको प्रभाव !

साहित्य

दिपक एमसी

गाँउको विकट कुना
जहाँ अस्पतालको कुनैनाम निसान छैन
हो म त्यहीँबाट उपचार खोज्नशहर भित्रिएँ
तर, सरकारी अस्पताल बन्द थिए
निजी अस्पताल म आफैले बन्द गरें
किन भनेर प्रश्न नगर्नुस्
बन्द हुने र राख्ने नियती र नियम भन्दा भिन्न छन्
म नियतीको नियमभित्र बाँधिएको छु
सोध्नुहोला, कसरी?
म कहाँ महँगो शुल्क बुझाउन सक्छु !
त्यसैले निजी, नियमले नै मलाई बन्द गराइदियो
भने सरकारी समायोजनले ।

त्यति लामो अप्ठ्यारो बाटो हिँडेर,
कलेंटी परेको मुहार लिएर
बल्लतल्ल अस्पताल टेकेका
म जस्ता धेरै अन्योलमा रह्यौं, मुखामुख गर्र्यों
तर यो व्यर्थ थियो
किनकी आफ्ना सर्तमा कोही टसमस छैनन्
बरु भिड्ने मुडमा छन्
रोगसँग भिड्न नसकेर अस्पतालको गेटमा
घिस्रेका बिरामी हामी
एकैसाथ विचरा, पीडित र निर्दोष हौं
तर यो मान्न तयार को नै होला
त्यसैले म ढुक्कै छु र भन्छु
देशमा म मात्रै बिरामी कहाँ हुदों रैछु र
यहाँ त देश नै बिरामी भएको छ
कर्मचारी एकातिर, सरकार अर्कोतिर
बिरामी पश्चिमतिर, अस्पताल पूर्वतिर ।

म घोत्लिरहें,
उपचार नपाएका तमाम बिरामी देखेर
कठोर मन भएका नियम, नीति र मान्छे भेटेर
अब विकल्प साँघुरियो त्यसैले
रोगलाई अस्पतालमा नै बिसाउन नपाई
म जस्ता धेरै बिरामी
फेरी उसैगरी धुजा परेको मलिन अनुहार लिएर
अस्पतालबाट घरतिर हिँडे
रोगलाई गाँउतिरै लगे
सोच्छु,रोगले तीनलाई नलगे हुन्थ्यो
समायोजनको असरले नभेटे हुन्थ्यो ।

यहाँ रोगले सबैतिर गाँज्न थालिसक्यो
समस्या निम्तिनु भनेको रोगी बन्नु सरह नै हो
त्यसैले मान्छेका चेतसँगै म
देश नै बिरामी देख्न थालिसकें
तपाइले नदेख्नुभएको भए
मेरो दृष्टिमा प्रश्न उठाउनुहोला
मिल्छ भने समायोजनको हिसाब
जनता नपिल्सदैं
छिट्टै मिलाउनुहोला ।

लेखकको यो कविता नेपालमा कर्मचारी समायोजन हुदाँ अस्पतालमा भएको हड्तालको समयमा लेखिएको हो । -सम्पादक

प्रकाशित मितिः २०७९ असोज १

Leave a Reply

Your email address will not be published. Required fields are marked *