जब चिकित्सकको बिदाइमा सबै भावुक बने…

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, बुधबार दिउँसो ४ बजे । धुमिल मौसम । आकाशको पानी जमिनमा टेक्नै आँटेको छ । पहाडी जिल्ला गुल्मीको सरकारी अस्पतालमा कार्यरत एक चिकित्सकको बिदाइमा अस्पतालका कर्मचारी वर्षातको मौसमजस्तै मलिन भावमा कार्यालय प्रमुखको कार्यकक्षमा जम्मा हुन्छन् । धेरैका अनुहारजस्तै अस्पतालबाट बिदाइ हुन लागेका डा. हिमाल थापाको अनुहार पनि सदाको जस्तो चम्किलो र हसिमुख छैन ।

जब बिदाइमा डा.थापाको बोल्ने पालो आयो उनी खुलेर बोल्न सकेनन् । उनका आँशु टिलपिलाए । त्यो सबै नजिकबाट नियाँलिरहेका बिदाइमा उपस्थित कर्मचारीले पनि आँशु रोक्न सकेनन् । डा.थापा भावुक हुँदैं आफ्ना संक्षिप्त भनाइ राख्दै बिदा भए । माहोल एकाएक स्तब्ध बन्यो । सबैका आँखा रसाए । बिदाइमा उनलाई सम्झिनेहरु पनि उनको प्रशंसा गर्दे बिदाइ गर्नुपर्दा नरमाइलो लागेको बताए ।
अस्पताल व्यवस्थापक अशिम चौधरीले डा.थापा उच्च अध्ययनको लागि अस्पतालबाट बिदाई भएको र उनी सबैका लागि एक प्रेरणादायी चिकित्सक रहेको बताए ।
करिब २९ महिना जिल्ला अस्पतालमा रही बिरामीको सेवामा बिताएका मेडिकल अधिकृत डा.हिमालको कार्यशैलीले बिरामीको मन जितेको भन्दै कार्यालय प्रमुख डा.विभव बस्यालले उनको खुलेरै प्रशंसा गर्दे आगामी यात्रामा अझै बिरामीको मनमा बस्न सफलताको कामना गरे । अस्पताल विकास समिति अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले डा. थापाले अहिले जस्तै पछिसम्म पनि बिरामीको मनमा बस्नेगरी काम गर्नेमा आफू विश्वस्त रहेको भन्दै उच्च शिक्षाको लागि शुभकामना दिए ।


बिरामीको सेवामा तल्लिन हुने डा. थापाले कसैसँग नमिठो व्यवहार गरेनन् । कहिल्यै झर्किएनन् । कहिल्यै रिसाएनन् । त्यसैले त उनले गुल्मी लगायत छिमेकी जिल्लाका मानिसहरुको मन जित्दैं बिरामीहरुले खोज्ने चिकित्सकमा परेको रेसुगां नगरपालिकाका स्थानीय देव बहादर पाण्डेले बताए । घमण्डलाई टाढा राखी बिरामीसँग सरल रुपमा प्रस्तुत हुने उनको स्वभाव देखेर आफू प्रभावित बनेको उनको भनाइ छ ।

नेपाल स्वास्थ्यसँगको कुराकानीमा डा. थापाले अस्पतालले आफूलाई काम गर्न उचित वातावरण दिएको र आफूले सधै बिरामीलाई नै प्राथमिकतामा राखेको बताए । आगामी दिनमा पनि आफ्नो चिकित्सकीय कर्म बिरामीमा खुसी भर्नका लागि हुने डा.थापाले बताए । डा.थापा बालरोग विशेषज्ञ अध्ययनको लागि काठमाण्डौं जाने भएका हुन् ।


प्रकाशित मितिः २०८२ जेठ ५ गते, बिहान ७ः०३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *