लुम्बिनी प्रदेशको बजेटमा यी हुन् स्वास्थ्यतर्फ समेटिएका विषय

गृहपृष्ठ स्वास्थ्य समाचार हेडलाइन्स

सपना महत, नेपाल स्वास्थ्य डटकम

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको चौँथो अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गरेका हुन् । बजेटमा स्वास्थ्यतर्फका विभिन्न योजना बजेटमा समेटिएका छन् । नसर्ने रोगको बढ्दो प्रकोपलाई कम गर्न मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियान संचालन गरिने भएको छ । जसमा ४० वर्ष पुगेका नागरिकको निशुल्क मधुमेह, रक्तचाप, मृगौलाको परीक्षण गरिने भएको छ ।

त्यसैगरी आमा बन्दा अकालमा ज्यान गुमाउन नपरोस् भनी “पूर्ण सुरक्षित मातृत्व सेवा” अभियानको समेत सुरुवात गरिने भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआइ मेसिन खरीदका लागि १५ करोड रकम समेत विनियोजन भएको छ ।

बजेटमा प्रेषण प्रणालीमा आधारित एम्बुलेन्स सेवा प्रदान गर्न हालका एम्बुलेन्समा जिपिएस जडान गरी एकिकृत सेवा संचालन समेत गरिने भएको छ । जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल ,थालसेमिया, र हेमोफिलिया रोगको सचेतना र स्क्रिनिङको उचित प्रबन्ध गरी यस्ता बिरामीलाई स्वास्थ्य बीमा उपलब्ध गराई उपचारमा सहज पहुँच सुनिश्चित गर्ने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

अत्यावश्यक आयुर्वेदिक औषधी निशुल्क वितरणका लागि प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा जिएमपी स्टाण्डर्ड प्रादेशिक आयुर्वेद औषधी उत्पादन केन्द्र संचालनमा ल्याइने भएको छ । त्यसैगरी डाइलाइसिस सेवालाई कपिलवस्तु, प्यूठान, रामपुर, पृथ्वीचन्द्र, गुल्मी, बर्दिया र राप्ती प्रादेशिक अस्पतालमा सेवा निरन्तरता दिई इरिथ्रोपोइटिन औषधीमा सहुलियत उपलब्ध गराउन बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मितिः २०८१ असार २ गते, बिहान ६ः४८ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *