चढेको रक्तचाप (कविता)

साहित्य

राजेन्द्र भण्डारी (कालिम्पोङ)

कति भत्काएँ होला तिमीलाई
कति चर्काएँ होला
तर पनि

यतिका दिन बस्न दियौ मलाई तिम्रो घरमा
धन्यवाद तिमीलाई
ए शरीर

चश्माको बढेको अङ्क,
चढेको रक्तचाप,
पिँडुलाको थकान,
दुईचार बिमार

अधकल्चो जीवन ज्ञान

यिनै त हुन् मेरो घरभाडाका रसिद
जोगाएर राखेकै छु

अब त
घर सफा नगरी भा’छैन

मिल्काउनु छ
पुराना कागजात, चिट्ठीपत्र, डायरी

थोत्रा लुगा,
नखाएका दबाई,
सड्न लागेका सपना,
विचारको जङ्गल

र केही अटेरी इच्छाहरू ।
………………….

प्रकाशित मिति: २०८० माघ १८ गते, दिउँसो १५:४८ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *