बिर्सिएका भिटामिन ‘ए’ का स्रोत

टिप्स

डा. अरुणा उप्रेति
बालबालिकालाई भिटामिन ‘ए’ को कमी नहोस् भनेर भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको हो। तर हाम्रो वरपर सुलभ रुपमा उपलब्ध हुने भिटामिन ए पाइने खानाहरू भने अपहेलित हुने गरेका छन्। भिटामिन ‘ए’ पाइने कुरा किन छलफल नभएको होला ?

विदेशमा ‘सुपर फुड’ अर्थात् अति उत्तम खाना भनिने लट्टेलाई नेपालमा भने प्रायः वास्ता गरिंदैन । त्यस्तै प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि सिस्नो खाने मान्छेलाई धेरैले हेयभाव राख्छन् । करी पत्ता चाहिँ धेरैले चिनेकै छैनन् ।

लट्टे

लट्टेका विविध नाम छन्। तराई तथा भित्रीमधेशमा यसलाई ‘रामदाना’ भनिन्छ। पहाडी क्षेत्रमा ‘लट्टे’ वा ‘लुँडे’ र कर्णालीमा ‘मार्से’। मधेशका धेरै ठाउँमा गेन्हारी साग पनि भन्छन्। लट्टेमा गहुँभन्दा बढी रेसादार र लौहतत्व पाइन्छ। लट्टेमा भिटामिन ए, ई, भिटामिन सी, फोलिक एसिड र प्रोटिन, क्याल्सियम आदि छन्।

लट्टेको दाना भुटेर तरकारीसँग खान मिल्छ । लट्टे र गहुँको पीठो मिसाएर स्वस्थकर रोटी बनाउन सकिन्छ । यसको पीठोको सुप बनाएर पिउन पनि मिल्छ । तरकारीसँग पकाएपछि यसको छिपछिपे रसमा स्वाद र पौष्टिकता दुवै हुन्छ । अझ त्यसमा गोलभेंडा पनि हालेर पकाइएको छ भने त भात वा रोटी कपाकप खान सकिन्छ। खाँदा स्वाद र पोषण दुवै हुने भएकाले यसले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ । गुणी लट्टे आजै खाउँ, खोजीखोजी खाउँ।

करी पत्ता

यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो हटाउन मद्दत गर्छ तर दुःखको कुरो के भने नेपालमा यसबारे धेरैले थाहा नै पाएका छैनन्। करी पत्ताबारे धेरैलाई खासै जानकारी भएको देखिँदैन।करी पत्ता पोषणको भण्डार नै हो। यसको पात रेसादार हुन्छ। यसमा पर्याप्त मात्रामा लौहतत्व र भिटामिन ‘ए’ हुन्छ। क्याल्सियम, फस्फोरस र फोलिक एसिड हुन्छ।

गर्भवती र सुत्केरीलाई दिनु लाभदायक मानिन्छ। स्वास्थ्य विज्ञका अनुसार यसमा पाइने फोलिक एसिडले भ्रूणलाई स्वस्थ रहन सहयोग गर्छ। मेरुदण्ड राम्ररी विकसित नहुने समस्याबाट पनि जोगाउँछ। काठमाडौंको दक्षिणी भेगतिर यसलाई ‘पैनामती’ र ‘असारे’ पनि भनिंदोरहेछ। असारमा पाकेपछि यसको दाना पनि खाँदा रहेछन्।

यसलाई पानीमा उमालेर थोरै कागतीको रस र बिरेनून हालेपछि स्वादिष्ट पेय बन्छ। । यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो हटाउन मद्दत गर्छ तर दुःखको कुरो के भने नेपालमा यसबारे धेरैले थाहा नै पाएका छैनन्। दक्षिण भारत र श्रीलंकामा करी पत्ताको प्रयोग अत्यधिक गरिन्छ । त्यहाँ जुनसुकै खानेकुरा पकाउँदा पनि करी पत्ता हालिन्छ ।

‘सिस्नो’

सिस्नोमा भिटामिन ए, सी, के र बी पाइन्छ । खाद्य सुरक्षाविद्हरूले सिस्नो लाभदायक वनस्पतिका रूपमा लिन्छन्। प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि धेरैले यसबारे अझै थाहा पाएका छैनन्। धेरैले सिस्नो खानेभन्दा सजाय दिने वनस्पति भन्ने सोच्छन्। नेपालमा सिस्नोलाई गरीबीको अर्को नाम पनि भनिन्छ तर सिस्नो खान हुने एउटा उत्तम वनस्पति हो।

प्रकाशित मितिः २०८० मंसिर १८ गते, बिहान ११ः२२ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *