दिपक महत
खुसी मानवीय जीवनको उर्जा हो । आम मानिसको यात्रालाई खुसीसँग मापन गर्ने हो भने यो जीवनको लागि अपरिहार्य छ। यो बिनाको जीवन निरस, कालो र अन्धकारमय छ ।
लामो समयको राजनीतिक संक्रमणकाल टुगिंएको छ । मुलुक समृद्धि र विकासको दिशातर्फ उन्मुख छ । देश संघीय राज्यतर्फ बामे सरिरहे पनि यसको पाटोलाई लिएर कतिपय प्रश्न अहिले गम्भिर भएर उम्भिएका छन् । रोजगारीका आयाम थपिँदा छन् । पहिले/पहिले वर्षको तुलनामा शान्तिपूर्वक आम नेपालीका दिनहरू कटिरहेकै छन् । खैर, वैदेशिक पलायन उँभो लागेको लाग्यै छ । भर्खरैका उर्वर यूवाहरु दिनप्रतिदिन विदेश यात्रामा निस्किएका छन् । नेपाल आमाका धेरै सन्तान खाडी तथा अन्यत्र देशमा कडा र असुरक्षित श्रममा छन् । देशमा चलिरहेको शासकीय स्वरुप, पद्धति र कार्यले आम नेपालीको मुहारमा खुसीका बान्की प्रस्ट झल्किएको देखिएको छैन ।
दुर्गम तथा नेपालका केही भेगमा औषधि, लत्ताकपडा, उचित आवासलगायत सामान्य आधारभूत आवश्यकता पनि मान्छेले राम्रोसँग उपभोग गर्न पाइरहेका छैनन् । भूकम्पले ढलेको जाजरकोटमा चिसोले थिचिरहेका नेपालीलाई हामिले न्यानो छर्न नसकेको यथार्थता कत्तिपनि लुकाउन नसकिने अवस्थामा छ ।
व्यक्तिमा रहेको खुसी परिवार, समाज तथा देशमा फैलियो भने त्यसको सार्थकता रहन्छ । सीमित सीमामा मात्रै घेरिन थाल्यो भने त्यसले समग्रतामा प्रभाव छोड्न सक्दैन । नेपालमा पनि धेरै खुसीमै बाँचिरहेका छन् तर अक्सर नेपाली अभाव र पीडामा रुमल्लिरहदाँ त्यो सीमित बनेर रहेको खुसीको सार्थकता छायाँमा परेको छ । देश खुसी हुनका लागि व्यक्तिबाट खुसीको बहार चल्नुपर्छ । तर मान्छे खुसीमा बाँच्न सकिरहेको छैन, किन ?
आशाका किरणले उर्जा भरेर मान्छेको मनमा नबसेसम्म सम्भावनाले मात्रै खुसीको अंशमा फेरबदल ल्याउन सक्दैन । सम्भावनामा यथार्थ नजिक हुनैपर्छ । यसले मात्र मान्छेको मस्तिष्कमा खुसीका बिज रोपाउन सक्छ । जब मान्छे खुसीका सामान्य मान्यताबाट पनि आफूलाई टाढा रहेको ठान्छ, त्यहिबाट समस्या सिर्जना हुन थाल्छ ।
संसारमा कोही प्राणी पनि सुखसयलले जीवन गुजारिरहेका छैनन् । यो अकाट्य तथ्य हो । “बाँच्नको लागि संघर्ष” आवश्यक, भनेर डार्बिनले उजागर गरेको पनि वर्षौं भैसक्यो । त्यसैले पनि यसलाई आत्मसाथ गर्दे जीवनलाई अगाडि बढाउनै पर्छ । संघर्षविनाको जीवन, जीवन होइन । यो त केवल आत्मरतिमा मात्रै रमाउने विषय हो ।
“मान्छे जब आफूलाई समाल्न सक्दैन तब उसका चेतहरू नराम्रा र भ्रमित कुराले भरिन थाल्छन् । भरिएका भ्रमित कुराले तथ्यभन्दा टाढा धकेलिदिन्छन् । मान्छे महत्वकांक्षी छ । आवश्यकता कहिल्लै पूरा भएको अनुभूत नगर्दै आफ्नो जीवनको लिकबाट ऊ सदाका लागि बाहिरिन्छ । यी र यस्ता तथ्यको जबसम्म राम्ररी हेक्का रहँंदैन, मान्छे असन्तोषको पोकामा रहेर कहिल्लै सन्तुष्टको सास फेर्न सक्दैन ।”
मान्छे जीवनयापनको रेसमा दौडिरहँदा धर्तीका अनेक सजिव, निर्जीवसँग आत्मियता गाँसिन्छ । यसरी गाँसिन आइपुग्ने कति धेरैले जिवनको अन्तिम साससम्म पनि उर्जा दिइरहन्छन् । बाँच्नको लागि प्रेरणाको पर्याय ठहरिन्छन् । तर सबै प्रियताको लायकमा रहँदैनन् । जो अटाउन सक्दैनन्, यीनले काँडा बनेर घोच्छन् । बेखुसी बनाइदिन्छन् ।
जीवन सुन्दर छ । यही सुन्दर जीवन कसैकालागि भने कुरूप लाग्छ । खुसीका अनेक बाहनाको खोजीमा मान्छेले जीवनका धेरै सुवर्णमयकाल गुजारिरहेको हुन्छ, तर आफैँमा रहेको वास्तविक खुसीका छालहरूको भेउ भने पाउन सक्दैन । दुःखले च्यापेपछि खुसी तल झर्छ । पर सर्छ । तल र पर सरेका, भएका खुसी माथि र वर आएर मस्किन समय लाग्छ ।
कयौं प्रयासहरूले मात्रै पनि खुसीको पोल्टा आफूमा पार्न सकिन्न । मानव जीवनमा खुसीको स्रोत सुख हो । तर सुख आफैमा सजिलो छैन । यसका लागि धैर्य, त्याग, मेहेनत, इमान्दारिता, लगनशिलताजस्ता कुराको जरुर आवश्यकता पर्छ । जीवनलाई प्रेमपूर्ण ग्रहण गर्न सकियो भने खुसी आफैँमा रहन्छ ।
संसार मात्रै जित्नेहरूको होइन । जितमा खुसी त छ तर त्यही सबैथोक होइन । हारमाहारको बोझ नबोकी सहज बन्दै ठीक ढंगले प्रयत्नहरूलाई अगाडि बढाउँदै खुसीको पथमा लम्किरहनै पर्छ । तथ्याङ्कले नेपालमा आत्महत्याको दर सडक दुर्घटनाबाट ज्यान गुमाउनेको भन्दा बढी रहेको देखाएको छ । यो दुखान्त पक्षको एकमात्र कारण खुसी बन्न/रहन नसक्नु नै हो । आर्थिक अवस्था, असफल प्रेम, गम्भीर रोग, सुरक्षा, आत्मसम्मान, पढाइजस्ता उदास र निराशावादी कुराले जीवनको गति लम्बाउन अवरोध गरिरहन्छन्, तर सबैको समाधान छ । विकल्प संसार छोड्नुमा मात्रै छैन ।
“उदासिनता सन्तुलित भएन भने खुसी शब्दले अर्थ गुमाउन्छ ।” स्विस मनौवैज्ञानिका कार्ल जंगको यो भनाइलाई मान्ने हो भने यदि मान्छेले उदासपनलाई सही किसिमले व्यवस्थापन गर्न सकेन भने उसले अँगाल्न खोज्ने खुसीले सहि अर्थमा खुसी दिन सक्दैन । त्यसले केवल देखावटी ओठे हाँसो बनेर भ्रम मात्रै पैदा गर्छ ।
आवेगमा आएर मान्छेले जानीजानी जीवनको इहलिला समाप्त गर्छ । धर्तीमा आफ्नो कतैं अस्तित्व नभेटेपछि अप्रिय बाटो समाउनेहरू त्यसैगरी बढिरहेका छन् । मान्छे जब आफूलाई समाल्न सक्दैन तब उसका चेतहरू नराम्रा र भ्रमित कुराले भरिन थाल्छन् । भरिएका भ्रमित कुराले तथ्यभन्दा टाढा धकेलिदिन्छन् । मान्छे महत्वकांक्षी छ ।
आवश्यकता कहिल्लै पूरा भएको अनुभूत नगर्दे आफ्नो जीवनको लिकबाट उ सदाका लागि बाहिरिन्छ । यि र यस्ता तथ्यको जबसम्म राम्ररी हेक्का रहँंदैन मान्छे असन्तोषको पोकामा रहेर कहिल्लै सन्तुष्टको सास फेर्न सक्दैन । बरु थप तनाव र पीडाले गुम्साइरहन्छ, अल्झाइरहन्छ र बिझाइरहन्छ ।
“बाल्यकालमा खेल्न र राम्रो लगाउन पाए खुसी भेट्छ मान्छे । किशोरवस्थामा मन लागेको गर्न पाए । यूवावस्थामा सोचेजस्तो लयमा जिन्दगी घुमाउन पाए । प्रौढवस्थामा सुख सयलले परिवारमा रम्न पाए । र, वृद्धवस्थामा अतितमा रोमान्चित बन्दै सहज मृत्युवरण गर्न पाए ।”
समयचक्र अनुसार खुसी रहने कुरा भिन्न बनिदिन्छन् । बाल्यकालमा खेल्न र राम्रो लगाउन पाए खुसी भेट्छ मान्छे । किशोरवस्थामा मन लागेको गर्न पाए । यूवावस्थामा सोचेजस्तो लयमा जिन्दगी घुमाउन पाए । प्रौढवस्थामा सुख सयलले परिवारमा रम्न पाए । र, वृद्धवस्थामा अतितमा रोमान्चित बन्दै सहज मृत्युवरण गर्न पाए ।
मान्छे हत्तपत्त खुसी हुन नसक्ने प्राणी हो, भलै यो सबैमा लागू नहुन सक्छ । सबै मान्छेको ध्येय खुसीकै आपूर्तीमा बित्छ । मृत्युसम्म पुग्नु सबैको साझा अन्तिम गन्तव्य हो । यसबिच मान्छेपिच्छै फरक फरक इच्छा र चाहनामा गन्तव्य निर्धारित हुन्छन् । भलै कमैले मात्रै आफ्नो चाहना अनुरूप जिन्दगीको रेखा डोर्याउन सफल हुन्छन् ।
खुसीको रस बढि लिन्छन् । फरक छैन, खुसी लिने र दिनेमा यो त आफूले अनुभूत गर्ने कुरा हो ।
“पीडा दिने अतित बिर्सनुपर्छ । उज्वल भविष्यको कल्पना र धेरै अंशको पूर्णतामा विश्वस्त बन्दै ठिक ढंगले औचित्यपूर्ण कर्ममा लाग्नुपर्छ । यो भयो भने मात्र उपादेयता दीर्घकालिन भएर रही मक्किएर रहेका खुसीमा जीवन्तता भेटिन्छ । त्यसैले पनि खुसी वरीपरी छ, नजिकै छ र आफैँमा छ ।”
समय र आवश्यकताले खुसी हुनु र नहुनुमा अर्थ राख्छ । मान्छेको स्वभावले उसैगरी । जस्तोसुकै दुःखमा पनि मानिस खुसीको खातिर नडगमगाई उखबखडमा राम्रैसँग हेलिएर खुसी समाउने प्रयत्नमा रहनुपर्छ । पीडा दिने अतित बिर्सनुपर्छ । उज्वल भविष्यको कल्पना र धेरै अंशको पूर्णतामा विश्वस्त बन्दै ठिक ढंगले औचित्यपूर्ण कर्ममा लाग्नुपर्छ । यो भयो भने मात्र उपादेयता दीर्घकालिन भएर रहन सक्छ । मक्किएर रहेका खुसीमा जिवन्तता भेटिन्छ । त्यसैले पनि खुसी वरिपरि छ, नजिकै छ र आफैँमा छ ।
प्रकाशित मितिः २०८० मंसिर १८ गते, बिहान १०ः४८ बजे

