बालबालिकालाई कुपोषणबाट कसरी जोगाउने?

विचार/ब्लग

नेपाल स्वास्थ्य डटकम,
हामीलाई बाँच्नको लागि खानाको आवश्यकता पर्दछ, खानामा पाईने तत्त्वहरूलाई पोषक तत्त्व भनिन्छ । खानाले शरीरका आन्तरिक तथा बाहिरी अङ्गहरूलाई दैनिक कार्य गर्न, मर्मत र वृद्धि विकास गर्न सहयोग गर्छ । बालबालिकाको विकासात्मक चरण अनुरुप आवश्यक पोषक तत्त्वहरूको कमी, बढी वा असन्तुलनको अवस्थालाई कुपोषण भनिन्छ ।

कुपोषणलाई मुख्यतः तीन प्रकारमामा बाँडिएको छः

१. न्यून पोषण (under-nutrition)

पोषणले बालबालिकालाई उफ्रिन, दौडन, हिँडडुल गर्न र सधैँँ सक्रिय रहन सहयोग गर्दछ । पोषक तत्त्वहरूको कमी हुनासाथ बालबालिका अल्छी हुने, रोइरहने, खान मन नगर्ने, तौल घट्ने र तौल नबढ्ने जस्ता समस्याहरू हुन्छन् । यसलाई पनि निम्न भागमा विभाजन गरिएको छ ।  

शीघ्र कुपोषण (wasting)
यो एक छोटो अवधि भित्र देखिने अवस्था हो, जुुन खानाको आवश्यकतामा अचानक असन्तुलन आउनाले हुन्छ । जस्तैः वर्षात्को मौसम, भोकमरी लाग्ने मौसम, रोग, प्राकृतिक प्रकोप आदि । यस खालको कुपोषणमा अचानक बालबालिकाको तौल घट्दछ । जसमा बालबालिकाको उचाइअनुसारको तौल कम हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले दिएको बाल वृद्धिको मापदण्ड अनुरुप उचाइअनुसार तौलको तालिकासँग दाँजेका आधारमा हुनु वा तौल रेखा ओहलो लाग्दै जानु हो ।

शीघ्र कुपोषणका लक्षणहरू: बालबालिकामा फुर्तिलोपनमा कमी हुने; सामान्य प्रतिक्रियाहरू नदेखाउने; सामान्य भन्दा दुब्लो देखिने; बालबालिका कमजोर देखिने; थाक्ने, झोक्राउने, बिरामी भइरहने, पखाला लागिरहने; छाला,कपाल फुस्रो, कत्ला पर्ने, फुटेको र चमकविहीन हुने; अनुहार ख्याउटे चाउरिएको, हात खुट्टा सिकुटे देखिने (सुकेनास); अनुहार फुलेको गोलाकार, हातको
कुइनामुनी र खुटटाको घुँडामुनि सुन्निने; गिजा रातो भइ सुन्निने र खाँदा, छुँदा रगत आउने

शीघ्र कुपोषणलाई पनि थप दुई भागमा वर्गीकरण गरीएको छः 

क. मध्यम शीघ्र कुपोषण (Moderate Acute Malnutrition – MAM): यस्ता बालबालिकामा रोइरहने, खाना खान मन नगर्ने, खाना पचाउन नसक्ने जस्ता समस्याहरू देखापर्छ । मासिक तौल मापन गर्दा आवश्यक भन्दा कम हुने हुन्छ । यी बालबालिकालाई खानाबाट पोषणको मात्रा मिलाई उपचार गर्न सकिन्छ । तर गाउँघरमा विशेषतः रुन्चे लागेको भनेर स्थानीय उपचारहरू गर्ने चलन पनि छ । त्यसले गर्दा शिशु झन खतरापूर्ण अवस्थामा पुग्दछ । 

ख. कडा शीघ्र कुपोषण (Severe Acute Malnutrition – SAM): कडा शीघ्र कुपोषण अत्यन्त खतरनाक हुन्छ । यसले बालबालिकाको मृत्यु हुने जोखिम बढी हुन्छ । यस्तो कुपोषण खानाबाट मात्र समाधान गर्न सकिँदैन । मेडिकल सहयोगको आवश्यकता हुन्छ । अति शीघ्र कुपोषण भएका बालबालिकाको मृत्यु हुने जोखिम अन्यको दाँजोमा बढी हुन्छ ।

मरासमसः यस्ता बालबालिका सधैँ रोइरहने चिड्चिडे हुने, अनुहार चाउरी परेर बुढाबुढीको जस्तो हुने, शरीरमा मासुको मात्रा नभर्ई हाड र छालामात्र देखिने र छाला हड्डीमा टाँसिने हुन्छ । कपालको रङ कैलो तथा अलिकति तान्दा पनि झर्ने, झाडापखाला तथा अन्य समस्याहरू देखिने हुन्छ । यसलाई बोलिचालीको भाषमा सुकेनास पनि भनिन्छ । 

क्वासिर्वकरः यो पनि कडा खालको शीघ्र कुपोषणका अवस्था हो । यसमा बालबालिकाको शरीर सुन्निने, पानी भरिएको जस्तो अनुहार र हातगोडाहरू देखिन्छ । साथै यस्ता बालबालिका रोइरहने र धेरै कम तौल भएको अवस्था हो । 

मरास्मस क्वासिर्वकरः यसमा दुबै खालको शीघ्र कुपोषणका लक्षणहरू देखिन्छ । यसमा पनि बालबालिका चिड्चिडे, रोइरहने, खाना नपच्ने आदि लक्षणहरू देखिन्छ ।   

दीर्घ कुपोषण    
दीर्घ कुपोषणमा लामो समयसम्म कम तौल तथा मध्यम शीघ्र कुपोषणको अवस्था रही बालबालिकाको तोकिएअनुसारको उचाइमा वृद्धि हुँदैन । दीर्घ कुपोषणलाई होचोपना (stunting) पनि भन्ने गरिन्छ । वृद्धिमा अवरोध भएको प्रभावले बालबालिकाको शारीरिक तथा मानसिक वृद्धि र विकासमा नकारात्मक प्रभावपर्दछ । महिनौ वा वर्षौसम्म वृद्धि प्रक्रियामा अवरोध आउनाले बुद्धि विकासमा पनि अवरोध आउँछ । 


२. सूक्ष्म पोषक तत्त्वको कमी (Micronutrient Deficiency)

सूक्ष्म पोषक तत्त्व भन्नाले खानामा पाईने भिटामिन तथा खनिज तत्त्वहरू हन् । यसले शरीरको आन्तरिक स्वचालित अङ्गहरूको कार्यलाई सन्तुलित गर्ने, रगत बनाउने र कार्य गर्ने, हर्मोनको मात्राहरू सन्तुलन गर्ने, रोगसँग लड्ने क्षमताहरू वृद्धि गर्ने कार्य गर्दछ । सामान्यतया नेपालमा अभाव देखिने सूक्ष्म पोषक त¬वहरूमा भिटामिन ए, आयोडिन, जिङक र आईरन पर्दछन् । सूक्ष्म पोषक त¬वको अभावबाट रतन्धो, रक्तअल्पता, गलगाँड तथा अन्य सङ्क्रमणहरू हुन्छ ।


 ३. मोटोपना  

बालबालिकामा उचाइअनुसार हुनुपर्ने तौलभन्दा उच्च रहेको अवस्थालाई मोटोपना भन्ने बुझिन्छ । मोटोपना बालबालिकालाई तयारी खानामा जोड दिने, शारीरिक सञ्चालनमा कमी र वंशाणुगत कारणले हुन्छ । यस्तो खालको कुपोषणले बालबालिकालाई मधुमेह, मुटरोग तथा क्यान्सर आदि हुने सम्भावना हुन्छ ।

a child getting measured with a MUAC tape

कुपोषणको पहिचान

कुपोषणको पहिचान विभिन्न तरिकाबाट गर्न सकिन्छ । शरीरको मापन गरेर, शरीरको लक्षणहरू हेरेर, खाना खाएको रेकर्ड राखेर र ल्याबमा परीक्षण गरेर कुपोषण पत्ता लगाउने मुख्य तरिका हुन् । यस मध्ये सबैभन्दा सरल तरिका लक्षण अवलोकन गरेर र शरीरको मापन गरेर तोकिएको स्तरमा दाँजेर पत्ता लगाउनु हो । यसबाट कम तौल वा शीघ्र कुपोषण सजिलै थाहा पाउन सकिन्छ भने सूक्ष्म पोषण तत्त्वको कमीलाई ल्याब परीक्षण नै आवश्यक हुन्छ । 

विशेषगरी गर्भावस्थाको समयमा शिशुको तौल छिटो बढ्छ । यो अवधिमा नियमित रूपमा समयमा तौल अनुगमन र मापन गरेर पोषणको स्थिति पहिचान गर्नुपर्दछ । गर्भावस्थाको चौथो महिना,  छैँठौँ महिना, आठौँ महिना र नवौं महिनामा तौलको आधारमा शिशुको वृद्धि सामान्य वा असामान्य अनुमान गरिन्छ ।

वृद्धि अनुगमन   
नियमित रूपमा बालबालिकाको वृद्धि विकास थाहा पाउन गरिने प्रक्रियालाई वृद्धि अनुगमन भनिन्छ । यसमा नियमित रूपमा उमेरअनुसार तौल बढे नबढेको अनुगमन गरिन्छ । शिशु जन्मेदेखि कम्तीमा २ वर्षसम्म प्रत्येक महिना वृद्धि अनुगमन गर्नुपर्दछ । वृद्धि अनुगमनको विस्तृत प्रक्रिया निम्नानुसार छः

  • मासिक पोषण मापन गर्ने, रेकर्ड राख्ने र रेकर्डहरूको तुलनात्मक विश्लेषण गर्नुपर्दछ ।
  • बालबालिकाको तौल परीक्षण गरी बाल स्वास्थ्य कार्डको तालिकाअनुसार रेकर्ड राख्नुपर्दछ । कार्डको चिह्नअनुसार तौल रेखा उक्लदै जानुपर्दछ ।
  • चित्रमा दुईओटा रेखा उकालो लागेको देखिन्छ । उकालो लागेको रेखाको बिचबाट निरन्तर उकालो लाग्दै जानुपर्छ ।
  • यसको लागि स्थानीय स्वास्थ्य संस्था तथा स्वास्थ्य स्वयम्सेविकाको सहयोगमा बालबालिकाको तौल, लम्बाई, उचाइ पाखुराको नाप लिएर रेकर्डमा राख्नुपर्छ ।
  • उनीहरूको सहयोगमा कुपोषणको अवस्था निक्र्योल गरी उपचार गर्ने खानामा परिवर्तन गर्ने वा सबै ठिक भए सोहिअनुसार निरन्तरता दिने गर्नुपर्दछ ।  

कुपोषण हुनुका कारणहरू  

  • जन्मजात कुपोषण 
  • पौष्टिक खाद्य, खानाबारे अज्ञानता
  • गर्भावस्थामा आमाले पोषक तत्त्व सहितको खाना खान नपाउनु, नखानु
  • पौष्टिक खाना वा आहारको अपर्याप्तता, अभाव, भोकमरी
  • भिटामिन तथा खनिज पदार्थको कमी 
  • अस्वस्थ वातावरणको असर
  • विषादीयुक्त खाद्य, तयारी खानाको अधिक उपभोग
  • समयमा स्वास्थ्य स्याहार र सेवा नपाउनु 
  • बिरामी पर्नु, जस्तै शिशु बालबालिकालाई दीर्घ झाडापखाला, निमोनिया र बारम्बार बिरामी भइराख्नु आदि 

कुपोषणका रोकथाम  

  • किशोरावस्थामा भएको कुपोषण (रक्त अल्पता तथा अन्य) को रोकथाम उचित पौष्टिक खानाको उपभोगबाट सम्भव छ ।
  • गर्भावस्थापूर्व स्वास्थ्य जाँच तथा हानिकारक मद्यपान, धूमपान र औषधीको सेवनमा नियन्त्रण गरेर रोकथाम गर्न सकिन्छ । 
  • गर्भावस्थामा सिफारिस गरीएबमोजिम नियमित स्वास्थ्य जाँच गराउँदा कुपोषण व्यवस्थापन गर्न सकिन्छ ।
  • गर्भवती तथा सुत्केरीले साविकभन्दा बढी खाना खाने, यसको अलावा विभिन्न खाद्य समूहका खाना खाने नियम कायम गर्ने, आइरन चक्की, नियमित खानाले, शिशु र आमा दुवै कुपोषणबाट सुरक्षित हुन्छन् । 
  • जन्मनासाथ बिगौती (पहेलो) दुध खुवाउने, छ महिनासम्मका शिशुलाई पूर्ण स्तनपान अनिवार्य गराउने, छ महिना पछि पूरक खाना खुवाउनाले पनि कुपोषणको सम्भावना कम हुन्छ ।
  • हरेक महिना शिशुको वृद्धि अनुगमन गरी शिघ्र कुपोषण पहिचान र स्थानीय पौष्टिक आहार उपभोग गरेर कुपोषणबाट जोगिन सकिन्छ ।
  • खाना खानु अघि र पछि, दिसापिसाब गरेपछि साबुनपानीले मिचिमिची हात धुनुपर्दछ र फोहरबाट सर्ने रोगबाट सुरक्षित हुनुपर्दछ ।
  • रोग तथा सङ्क्रमणबाट आमा र शिशुलाई जोगाउनुपर्दछ ।
  • कुपोषण पहिचान भएको शिशु र बालबालिकालाई स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्वास्थ्य संस्थामा उपचार गराउनुपर्दछ ।
  • शिशु, बालबालिकामा हुने कुपोषण रोकथामका लागि विभिन्न कार्यक्रम लागु भएका छन् जसबाट फाइदा लिन सकिन्छ । ती कार्यक्रमहरूः मातृशिशु तथा बाल्यकालीन पोषण, बालअनुदान कार्यक्रम, बहुक्षेत्रीय पोषण कार्यक्रम, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम, आपत्कालीन अवस्थामा गरिने पोषणसम्बन्धी प्रतिकार्य र पुनर्लाभ कार्यक्रम आदि हुन् ।

-नेपाल सरकार, युनिसेफ नेपालको सहयोगमा,

प्रकाशित मितिः २०८० असार ९ गते, बिहान ८ः०३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *