नेपाल स्वास्थ्य डटकम
महिलाको योनीबाट हरेक महिना हुने रक्तस्रावलाई रजस्वला भनिन्छ । यस बेलामा हुने रक्तस्राव पाठेघरबाट आएको हुन्छ । रजस्वला हुनु भनेको स्त्रीजातीको मानवीय जीवनको एउटा प्रक्रिया हो र यो प्रक्रिया हरेक स्वस्थ महिलामा यौवन अवस्थाबाट शुरु हुन्छ र बृद्ध अवस्थामा गएर स्वत: रोकिन्छ । सामान्यतया: १० देखि १४ वर्षको उमेरमा रजस्वला हुने क्रम शुरु हुन्छ र ४५ देखि ५० वर्षको उमेरमा रोकिन्छ ।

हाम्रो समाजमा रजस्वलालाई महिनावारी हुने, नछुने हुने, पर सर्ने, बाहिर सर्ने, छुई हुने पनि भनिन्छ । रजस्वला हुनु भनेको महिलाको प्रजनन उमेर शुरु भएको संकेत हो र प्रजनन् उमेर भनेको सन्तान उत्पादन गर्न सक्ने उमेर हो । महिलाको लागि सामान्यतया: १४ देखि ४९ वर्षसम्मको उमेरलाई प्रजनन् उमेर मानिन्छ । सामान्य अवस्थामा रजस्वला भएको २६ देखि ३० दिन भित्रमा अर्को पटक रजस्वला हुन्छ । औसतमा हरेक २८ दिनमा रजस्वला हुन्छ ।
रजस्वला चक्र प्रक्रियाः
केटी मान्छे जन्मिदा नै उनीहरुको अण्डाशयमा करिब ४ लाख ५० हजार अण्डाहरु रहेका हुन्छन् तर ती अण्डाहरु सुसुप्त अवस्थामा रहेका हुन्छन् । शरीरको बृद्धि र विकाससँगै महिलाको शरीरमा विभिन्न हर्मोनहरु (जीवनरस) उत्पन्न हुन्छन् र जब महिलाहरु यौवन हुँदै जान्छन् तब ती अण्डाहरु एक अर्को हुँदै परिपक्व हुने क्रम शुरु हुन्छ । रजस्वला शुरु हुनु भनेको अण्डा परिपक्व भएको संकेत हो । एक पटक रजस्वला भएको दिन देखि अर्को पटक रजस्वला हुने अवधिको करिब बीच समयमा अण्डाशयबाट एउटा अण्डा बाहिर निस्किन्छ । अण्डाशयबाट एउटा अण्डा बाहिर निस्कने प्रक्रिया हरेक महिनामा हुन्छ ।
यसरी अण्डा निस्कदा एउटा महिनामा बायाँतिरको अण्डाशयबाट अण्डा निस्कन्छ भने अर्को महिना दायाँबाट निस्कन्छ । अण्डाशयबाट अण्डा बाहिर निस्केको दिनबाट शरीरमा एक प्रकारको हर्मोन (जीवनरस) धेरै मात्रामा उत्पादन हुन शुरु हुन्छ । त्यस जीवनरसको प्रभावले गर्दा पाठेघरको भित्री सतहलाई एउटा पातलो झिल्लीले ढाक्छ।
यदि गर्भाधारण भयो भने पाठेघरको त्यही झिल्लीमा
भु्रण टाँसिन्छ र भु्रणको बृद्धि विकास शुरु हुन्छ । यसलाई गर्भाधारणको तयारी पनि भनिन्छ । गर्भाधारण नभएमा पाठेघरको भित्री सतहको पातलो झिल्लीले रगत जाने स–साना रक्त नलीका प्वाल बन्द हुन्छन् । ती रक्तनलीहरुमा क्रमश: रगत जम्मा हुदै जान्छ र ती रक्तनलीहरु फुट्छन् र रक्तस्राव हुन्छ । यसरी रक्तस्राव भएको रगत योनीमार्ग हुदै बाहिर बग्छ ।
रजस्वला हुने प्रक्रिया हरेक महिनामा हुन्छ तर गर्भवती भएको बेलामा रजस्वला हुँदैन । स्तनपान गराउने कतिपय महिलाहरुमा पनि केही महिनासम्म रजस्वला हुँदैन । रजस्वला हुँदा रगत, पातलो झिल्लीका टुक्रा, पाठेघरमा भएको अन्य रस र अण्डा क्रमश: बाहिर निस्किन्छ । रजस्वला हुँदा समान्यतया: ४–६ दिनसम्म रक्तस्राव भइरहन्छ । एक पटक रजस्वला हुँदा औसतमा करिब ३० मि.लि. रगत खेर जान्छ ।
– वाटर एडको सहयोगमा ।
प्रकाशित मितिः २०८० जेठ ९ गते, दिउँसो ११ः५१ बजे

