वायु प्रदूषणको बढ्दो जोखिम

विचार/ब्लग हेडलाइन्स

सपना केसी, पछिल्लो समय विश्वभर नै वायु प्रदूषण एक गम्भीर र अदृश्य स्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ । बढ्दो सहरीकरण, सवारी साधनको अत्यधिक प्रयोग, कलकारखानाबाट निस्कने धुवाँ र वनजङ्गलमा लाग्ने डढेलोका कारण हामीले फेर्ने हावा दिनप्रतिदिन विषाक्त बन्दै गएको छ ।

वायु प्रदूषणले मानिसको श्वासप्रश्वास प्रणालीमा मात्र नभई समग्र स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको छ । यो समस्याबाट जोगिन र आफ्नो स्वास्थ्यको ख्याल गर्न सजगता अपनाउनु जरुरी छ। हाम्रो वायुमण्डल दिनप्रतिदिन प्रदूषित हुनुका पछाडि प्राकृतिक तथा मानवसर्जित थुप्रै कारणहरू रहेका छन्, जसमा पुराना तथा अनियन्त्रित सवारी साधन र कलकारखानाबाट निस्कने कालो धुवाँ मुख्य जिम्मेवार मानिन्छ । यस्ता उद्योग र गाडीहरूले हावामा विभिन्न हानिकारक ग्याँसहरू मिसाउने गर्दछन् । मानव बस्तीहरूमा खुला ठाउँमा फोहोर वा प्लास्टिक जलाउने खराब बानी र सुख्खा मौसममा वनजङ्गलमा लाग्ने डढेलोका कारण निस्कने विषाक्त धुवाँले समग्र वायुमण्डललाई झनै प्रदूषित र हानिकारक बनाउँदै लगेको छ ।

वायु प्रदूषणबाट जोगिन हामीले दैनिक जीवनमा धेरै कुराहरूमा ध्यान दिनुपर्छ। घर बाहिर निस्कँदा धूलो र धूँवाबाट बच्न मास्क लगाउने बानी बसाल्नुपर्छ। धेरै धूलो उड्ने र गाडीहरू चल्ने ठाउँमा हिँड्दा आँखा बचाउन चस्मा लगाउनु राम्रो हुन्छ। धूलो र धूँवा बढी भएको बेला, विशेष गरी बिहान र बेलुका, विना काम बाहिर ननिस्कने र घरभित्रै बस्ने गर्नुपर्छ। बाहिरको प्रदूषित हावा भित्र आउन नदिन घरका झ्याल-ढोकाहरू बन्द गर्ने, कोठा सफा गर्दा कुचो लगाउँदा धूलो उड्ने भएकाले भिजेको कपडाले पुछ्ने , घरभित्र चुरोट खाने, धूप बाल्ने वा फोहोर जलाउने काम नगर्ने । वायु प्रदूषण एउटा यस्तो समस्या हो जसको असरबाट कोही पनि अछुतो रहन सक्दैन ।

यसबाट बच्न सरोकारवाला निकायले प्रदूषण नियन्त्रणका नीतिहरू कडाइका साथ लागू गर्नुपर्छ भने नागरिक स्तरबाट पनि फोहोर नजलाउने, वृक्षारोपण गर्ने लगायतका काम गरेर स्वस्थ समाजको निर्माण गर्नुपर्छ ।


प्रकाशित मिति: २०८३ जेठ ६ गते, बिहान १०:२१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *